Comments Add Comment

भीम रावल भन्छन्– मेरो परीक्षण भइसकेको छ, दुवाकोटका स्थानीयलाई जाँचौं

३१ वैशाख, काठमाडौं । नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ ।

तपाईका सुरक्षा गार्डलाई कारोना संक्रमण भएको हो ? अनलाइनखबरको प्रश्नमा रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट सरेको हुन सक्छ । अब त्यो एरियाका अरु मानिसहरुमा तत्काल परीक्षणको दायरा बढाउनुपर्छ ।

मंगलबार साँझको रिपोर्टअनुसार कोरोना पोजेटिभ देखिएका ती सुरक्षाकर्मी  एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलले अनलाइनखबरलाई बताए ।

‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’ पूर्वगृहमन्त्री रावलले भने, ‘अस्ति श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउन जाँदा पोजेटिभ देखिएछ ।’

अब ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसहरुको पनि जाँच गर्नुपर्ने र उनमा कोबाट संक्रमण भयो भन्ने पत्ता लगाउनुपर्ने रावलले बताए । उनले भने, ‘अब दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका रावलको यसैसाता पीसीआर टेस्ट भइसकेको छ । आफूमा कोरोना संक्रमण नरहेको बताउँदै रावलले अनलाइनखबरसँग भने, ‘२६ गते संसद बैठकको पूर्वसन्ध्यामै टेस्ट नगरी बैठकमा जानै पाइँदैनथ्यो । त्यहीबेला मेरो पनि जाँच भइसकेको छ र नेगेटिभ रिपोर्ट आएको छ ।

अहिले आफूसँग धेरैजना सुरक्षाकर्मीहरु नरहेको र ड्युटीमा रहेकाले पनि सामाजिक दूरी एवं स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिरहेको रावलले बताए ।

उता भीआइपीहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीमाथि नै संक्रमण देखिन थालेपछि नेताहरु आत्तिन थालेका छन् । यही डरका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक समेत स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment