Comments Add Comment

विपद् व्यवस्थापन कोषको रकम स्थानीय तहलाई देऊ : कांग्रेस

३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको करिब ३ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले रकम नदिँदा स्थानीय तहहरु सीमित स्रोत साधनकाबीच कोरोनासँग लडिरहेको बताए ।

‘अहिले कोषमा करिब ३ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यो रकम कोरोना नियन्त्रणका लागि सिंहदरबारमा बस्ने सरकारले नभएर राहत बोकेर घरमै जाने स्थानीय सरकारको वडा अध्यक्षहरुले खर्च गर्ने हो’ प्रवक्ता शर्माले भने ‘केन्द्रको सरकारको ढुकुटीमा जम्मा भएको रकम स्थानीय सरकारलाई राहतको लागि दिनुपर्ने भए पनि अहिलेसम्म स्थानीय तहमा त्यो रकम पुग्न सकेको छैन ।’

कांग्रेसले कोरोना परीक्षण दायरा बढाउन आग्रह गर्दै सांसद विकास कोषको रकम पनि यसमा खर्च गर्न आग्रह गरे । नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा नहुने भन्दै शर्माले परीक्षणतर्फ ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे ।

कांग्रेसले नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेना फर्काउने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको अविछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग नेपाल सरकारले संवाद गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काउन पनि उनले सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment