Comments Add Comment

फ्रन्टलाइनमा नेपाली नर्स : छिमेकीले घर नआऊ भने, छोराहरू भोकै छन् कि भनेर चिन्ता लाग्छ

१ जेठ, विराटनगर । विराटनगरको कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीको टोलीको एक सदस्य नर्स पुनम साह पनि हुन् ।

साह विराटनगर १० की बासिन्दा हुन् । साना दुई छोरालाई घरै छाडेर उनी संक्रमितको सेवामा खटिएकी छन् । ‘घरमा दुई छोरा र म बस्छौं,’ उनी भन्छिन्, ‘दुवै छोरा सानै छन् । खाना खाए कि भोकै छन् भन्ने चिन्ता लाग्छ ।’

संक्रमितको उपचारमा खटिएयता उनी घर जान पाएकी छैनन् । संक्रमितको उपचारमा खटिने चिकित्सकलाई प्रदेश सरकारले होटलमा क्वारेन्टाइन बस्ने व्यवस्था मिलाइदिएको छ ।

‘क्वारेन्टाइनमा बस्न थालेपछि छोरासँग फोनमा कुरा गर्छु,’ उनी भन्छिन्, ‘उनीहरूले पनि चिन्ता नलिनु भन्दै हौसला दिन्छन् ।’ पुनका १६ र ८ वर्षका दुई छोरा छन् ।

२०५९ सालदेखि नर्सिङ पेसामा प्रवेश गरेकी उनी कोशी अस्पतालको नर्सिङ अधिकृत हुन् । १८ वर्षको जागिरे जीवनको सबैभन्दा चुतौतीपूर्ण क्षण चार दिनयता अनुभव गरिरहेकी बताउँछिन् उनी ।

‘अस्पतालले काममा खटाएपछि आफ्नो दायित्व ठानेँ,’ उनी भन्छिन्, ‘यो हाम्रोलागि सेवा गर्ने अवसर पनि हो ।’

तर, फ्रन्टलाइनमा काम गर्दा नर्सहरू सधैं ओझेलमा पर्ने गरेको उनको गुनासो छ । ‘संक्रमितको उपचारमा हामी सधैं अगाडि हुन्छौं,’ उनी भन्छिन्, ‘तर, नर्सको मूल्याङ्कन हुँदैन ।’

नर्स पुनम साह ।

अस्पतालको परिचयपत्र देखेर मान्छेहरू तर्किए

पुनमको ड्युटी यसअघि कोशी अस्पतालको आइसोलेसन वार्डमा थियो । आइसोलेसनमा काम गरेको थाहा पाएपछि उनलाई छिमेकीले घर नआउन भने । ‘अस्पतालबाट हिँड्दै घर जाँदा कोशी अस्पतालको परिचय पत्र देखेर बाटोमा हिँड्नेहरू मसँग तर्किए,’ उनी भन्छिन्, ‘छिमेकीले घर नआउनू भन्दै सल्लाह दिए ।’

पुनमका छोरालाई होम ट्युसन पढाउन एक शिक्षिका आउँथिन् । तर कोशीको आइसोलेसनमा काम गर्न थालेको जानकारी पाएपछि ती शिक्षिका पनि आउन छाडिन् । टोलमा प्रश्न सोध्नेलाई उनले आफू जोखिम भएपछि क्वारेन्टाइनमा बस्ने जवाफ दिएको उनले बताइन्।

अस्पताल र प्रदेश सरकारले काममा हौसला प्रदान गरेका कारण काम गर्न ऊर्जा थपिएको उनी बताउँछिन् । ‘मलाई आफ्नो जिम्मेवारी पूरा गर्न जहाँ पठाए पनि जान्छु,’ उनी भन्छिन् ‘संकटको बेला हामी भाग्न मिल्दैन ।’

सुनिताको अनुभव : ड्युटी पाउँदा गाउँमा सुनाएँ

कोरोना अस्पतालमा विराटनगर ढाटकी सुनिता गडेरीले पनि काम गर्छिन् । गत माघदेखि उनी स्कुल हेल्थ नर्सिङ कार्यक्रममा खटिएकी थिइन् । तर, लकडाउनका कारण खोटाङ कार्यक्षेत्र जान नपाएकी उनलाई प्रदेश सरकारले कोरोना उपचार केन्द्रमा खटाएको छ ।

चार दिनयता कोरोना संक्रमितको उपचारमा खटिएकी उनी संक्रमितको सेवा गर्न पाउँदा उत्साहित भएको बताउँछिन् । ‘कोभिड १९ अस्पतालमा खटिने तालिम लिएपछि गाउँमा सुनाएँ,’ उनी भन्छिन्, ‘यहाँ काम गर्न पाउदा एक्साइटेड छु । घर परिवारबाट पनि सहयोग छ ।’

मेची अस्पतालमा कार्यालय सहयोगी लीला भट्टराईको ड्युटी पुनम र सुनितासँगै छ । उनी पनि सेवामा काम गर्न पाउनु आफ्नो अवसर भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment