१९ असार, काठमाडौं । सत्तरुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताए ।
उनले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको बताए ।
उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्याए ।
उनले भने, ‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ । यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन् । प्रदेश खारेजी भनेर हामीले कहीँ लेखे जस्तो त लाग्दैन । हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महसुस गरेका छन् ।’
उनले अगाडि भने, ‘रास्वपाले मात्र गरेको होइन । कयौँ पुराना राजनीतिक दलका नेताहरूले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन् । हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ । यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको न हो ।’
उजले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4