+
+
Shares

सरकारका १०० दिनबारे रवि- प्राथमिकता सुशासन र सेवा प्रभावमा छ, पूर्वाधारको नतिजा आउन २/३ वर्ष लाग्ला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १९:१०

१९ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सुरुवाती सय दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका हुन् ।

उनले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले दुई–तीन वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा दुई–तीन वर्षभन्दा पहिले अपेक्षा गर्न नहुने बताए ।

यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दाबी छ ।

उनले भने, ‘सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धीत विषयहरूमा बढी जोड लगायो । सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ । लगाउनुपर्ने पनि छ । सुशासनका मुद्दामा अझ बढी ध्यान गयो ।’

उनले अगाडि भने, ‘विकास निर्माण र दूरगामी विषयमा आज गरिएको कामको प्रभाव अझ पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ । त्यसको नतिजा दुई तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला ।’

उनले नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै कम झन्झटिलो बनाउने प्रक्रियाको सुरुवात भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिँदै जाने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?