१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सिंगो देशभर लकडाउन लागू भएको दुई महिना हुन लाग्यो । मानिसहरुलाई हिँडडुल गर्न समेत नदिएको यो समयमा चोरीका घटना भने रोकिएको छैन ।
विगतको तुलनामा चोरी हुने क्रम कम देखिए पनि उपत्यकाभित्र रातको समयमा चोरी भइरहेको पाइएको छ ।
लकडाउनका वेला गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको ढोका फोडेर दान बाकस तथा महादेवको मूर्ती चोरी गरेको आरोपमा दुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विक छन् ।
महाशाखाका एसपी ईश्वर कार्कीकाअनुसार उनीहरुले मंगलबार राति मन्दिरमा रहेको मूर्तिसँगै दान पेटिकाबाट १० हजार र बाहिर रहेको ३ हजार रुपैयाँ चोरी गरेका थिए ।
यसबारे महानगरीय प्रहरी वृत्त, बौद्धले विस्तृत अनुसन्धान गरिरहेको छ ।

यस्तै १७ वैशाखमा साँझको समयमा चन्द्रागिरि–१५, रावत टोल बस्ने राजेश मानन्धरको घरमा प्रवेश गरी सुनको गरगहना र टिभी चोरी गरेको आरोपमा दोलखाका छिरिङ भन्ने रविन तामाङ पक्राउ परेका छन् ।
उनले १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि थानकोट प्रहरीको जिम्मा लगाइएको छ । छिरिङ २०६८ सालमा चोरी सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरबाट पक्राउ परेका व्यक्ति हुन् । उनी जिल्ला कारागार इलाममा ४ वर्ष जेल सजाय भुक्तान गरी छुटेका थिए ।