
१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उच्च जोखिममा रहेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थालिएको छ । र, एक साताभित्र पीसीआर र र्यापिड डायग्नोस्टिक किट (विधि) बाट दश हजार परीक्षण गर्ने तयारी छ ।
पछिल्लो समय हालसालै उपत्यका प्रवेश गरेका केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी लुकीछिपी तथा पास बनाएर आएकाहरुबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको आशंकामा परीक्षण तीव्र बनाउन लागिएको हो ।
स्वास्थ्य सेवा विभागका निर्देशक महेन्द्र श्रेष्ठ भन्छन्, ‘१० हजार मध्ये ३३ प्रतिशत आडीटी र बाँकी पीसीआर टेष्ट गर्छौं ।’ उनकाअनुसार उच्च जोखिममा भएका फोहोर मैला संकलन तथा सफाइमा काम गर्नेहरु स्वास्थ्यकर्मीको पीसीआर विधिबाट परीक्षण गरिनेछ । सुरक्षाककर्मी र पत्रकारलगायतको स्याम्पलिङ गरेर कुन विधिबाट परीक्षण गर्ने भन्ने तय गरिनेछ ।
बिहीबार मात्र कालीमाटी तरकारी बजारमा तरकारी विक्री वितरण गर्नेहरुको थ्रोट स्वाब संकलन गरिएको छ । धेरै मानिसहरुसँग भेटघाट हुने भएकाले तरकारी विक्रेताहरुको पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको हो ।
तरकारी ढुवानी गर्नेहरु लगायतको भने आरटीडी विधिबाट परीक्षण गरिएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यकर्मी लगायतको थ्रोट स्वाब संकलन गरिएको छ । अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि भएपछि ३८ जनाको स्वाब संकलन गरिएको हो ।
प्रतिक्रिया 4