Comments Add Comment

संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने

२ जेठ, काठमाडौं । नौ जना सांसदहरु सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् ।

बैठकमा प्रवेश नपाउने प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी छन् । यसैगरी राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।

संसद सचिवालयका स्वास्थ्य इकाइ प्रमुख डा. पुष्प रिजालले अनलाइनखबरसँग भने, ‘नौ जना माननीय काठमाडौं बाहिर हुनुहुन्छ भन्ने छ । पीसीआर टेस्ट नगराएका कोही पनि संसदको बैठक कक्षभित्र प्रवेश पाउनु हुन्न ।’

प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् । राष्ट्रियसभामा एक जना सांसद मनोनित हुन बाँकी छ । त्यसैले हाल कूल ३२९ जना सांसद छन् । तर ९ जना सांसदले कोरोना परीक्षण नगराएकाले उनीहरु संघीय संसदको बैठकमा प्रवेश पाउने छैनन् । जसले गर्दा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा ३२० जना सांसदहरु उपस्थित हुने छन् ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने सबैले अनिवार्यरुपमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने नियम रहेको डा. रिजालले बताए ।

सकारको नीति तथा कार्यक्रममा सहभागी हुने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), प्रधानमन्त्री केपी शर्मा ओली र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षण गराइसकिएको छ ।

यसअघि संसद सचिवालयले संघीय संसद भवनभित्रै सांसदहरुको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब नमूना संकलन गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको डा. रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment