+
+

त्रासमा छ सिन्धुपाल्चोक, प्रतीक्षा रिपोर्टको

स्वाब संकलन आज पनि जारी

विनोद घिमिरे विनोद घिमिरे
२०७७ जेठ ५ गते ९:०८

५ जेठ, काठमाडौं । एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि सिन्धुपाल्चोक त्रासमा छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमुना संकलन गरिएको छ ।

२०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु पनि आफ्नै जिल्लामा भएपछि त्रसित छन् । भूकम्पको क्षतिबाट तंग्रिएर आफ्नो दैनिकीमा फर्किएका उनीहरुलाई बारीका पाटाभरि सेता पीपीई र मास्क लगाएका मानिसहरुको झुण्ड नौलो त लाग्यो नै सँगसँगै कोरोना संक्रमणको त्रास पनि थपियो ।

सिन्धुपाल्चोकका नेकपा नेता सुवोध भन्छन्, ‘मानिसहरू त्रासमा छन् । उनीहरूको दैनिकी पनि प्रभावित भएको छ । यसलाई जतिसक्यो छिटो सामान्यीकरण बनाउने चुनौती छ ।’

अहिले स्वास्थ्यकर्मीको टोली जतिसक्यो धेरै जनाको स्वाबको नमुना संकलन गर्ने र संक्रमित पत्ता लगाउने कोसिसमा सक्रिय छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएकाहरूको पीसीआर टेस्टका लागि सोमबार पनि स्वाब संकलन जारी रहने छ । आइतबार ५० भन्दा बढीको स्वाब संकलन गरेको स्वास्थ्य मन्त्रालय र वागमती प्रदेशको टोलीले सोमबार पनि स्वाब संकलन जारी राख्ने छ ।

सिन्धुपाल्चोक घर भएका वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद्)ले भने, ‘हिँजो ५६ जनाको स्वाब संकलन भयो, आज थप संकलन हुन्छ ।’

आइतबार संकलन गरिएको स्वाबका नमुना परीक्षणका लागि आइतबार राति नै काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो । ‘हिजो राति काठमाडौं ल्याइएको स्वाबको रिपोर्ट आज आउने कुरा छ,’ मन्त्री दुलालले भने, ‘रिपोर्ट कस्तो आउँछ, त्यसको आधारमा थप रणनीति बनाएर अघि बढ्नुपर्छ ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । आइतबार ती महिलाका परिवारका सदस्य र आफन्तहरूको स्वाबको नमुना लिइएको थियो । उनलाई उपचार गर्न लगिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र उनको सम्पर्कमा आएका थप गाउँलेको स्वाब संकलन सोमबार हुनेछ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, ‘आज १० बजेबाट कन्ट्याक्ट ट्रेसिङको काम फेरि सुरु हुन्छ । ती महिलाको सम्पर्कमा आएकाहरू कोही दुई नम्बर वडामा पनि हुनुहुन्छ ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गरेर निगरानी बढाइएको छ । नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडा सिल गरिएको हो । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।

ती महिलालाई उपचार गर्न लागिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन नेपाली सेना, प्रहरीलगायतलाई परिचालन गरिएको छ ।

गत वैशाख २३ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सुत्केरी भएकी राम्चेकी २९ वर्षीया महिलाको गत शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । हिजो आइतबार पनि बाँके नरैनापुरका युवकको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार तीन सय ५७ जना क्वारेन्टाइनमा र तीन सय ४६ जना आइसोलेसनमा छन् । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?