Comments Add Comment

चितवनमा क्यान्सरको औषधि अभाव, उपचारमा सम्झौता

६ जेठ, चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव भएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् ।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नआएकाले औषधि अभाव भएको बताएका छन् । चिकित्सकहरुले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत जुनसुकै क्यान्सरमा प्रयोग गरिने औषधिको अभाव भएको बताएका छन् ।

वीपी कोइराला क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागका चिकित्सक डा. गुरु शाहले रक्त क्यान्सरका बिरामीलाई दिइने ब्लुमाइसिन, ड्याक्टिनोमाइसिन, भिनक्रिस्टिन, इमाटिनिब, भिनब्लोसिन, लेनोलिडोनाइड अभाव भएको बताए ।

यस्तै पाठेघरको क्यान्सरका बिरामीलाई दिइने बिभोसिजिम्याप, फोक्सोको क्यान्सरका बिरामीले खाने इभरिलोमस, स्तनको क्यान्सर बिरामीले खाने ट्याक्सिफेन, मिर्गौला क्यान्सरका बिरामीका लागि दिइने सोलिटिब, विभिन्न क्यान्सरमा प्रयोग गरिने मेथोटेक्जेट, डाकारबाजिन जस्ता औषधि अभाव भएको बताए ।

डा. शाहका अनुसार बिरामीलाई चढाइने केमोको समेत अभाव हुन थालेको छ । विगत १५ दिनदेखि यस्ता औषधिको अभाव हुन थालेको डा. शाहले बताए ।

लकडाउनको समयमा समेत क्यान्सर अस्पतालमा दैनिक २५० जना क्यान्सर तथा शंकास्पद बिरामी आउने गरेका छन् । साधारण अवस्थामा दैनिक ६५० जना बिरामी अस्पतालमा आउने गरेका थिए ।

क्यान्सर गेट अगाडिको बिमल फार्मेसीका सञ्चालक बिमल लामिछानेले क्यान्सरका बिरामीहरुलाई नियमित रूपमा चाहिने औषधिको अभाव भएको बताए । ‘हामीले आफ्नो च्यानल लगाएर मगाउने प्रयास गरिरहेका छौं, तर सफल भएका छैनौं,’ सञ्चालक लामिछानेले भने, ‘औषधि नपाउँदा बिरामीहरु असाध्यै मर्कामा परेका छन्, फिर्ता पठाउनुपर्ने बाध्यता छ ।’

क्यान्सरका बिरामीलाई दिइने औषधि महँगासमेत हुन्छन् । अधिकांश औषधि भारतमा उत्पादन हुन्छन् । ती औषधि भारतबाट हवाई जहाजमार्फत नेपाल ल्याउने गरिन्छ । तर, अहिले हवाई जहाज नचल्दा औषधि ल्याउन सक्ने अवस्था नभएको डा. शाहले बताए ।

सडकमार्ग भएर औषधि ल्याउने भनिए पनि विभिन्न समस्याहरु आइरहेको औषधि वितरकहरू बताउँछन् । औषधि ब्यवसायी नन्दु पौडेलले औषधि ल्याउन अवरोध नभए पनि क्यान्सरका बिरामी प्राथमिकतामा नपर्दा नआएको हुनसक्ने बताउँछन् ।

नेपाल औषधि व्यवसायी संघका सदस्यसमेत रहेका लोमस फार्मसिटिकल्सका सञ्चालक प्रज्जवजंग पाण्डेले नेपालमा जटिल रोगका औषधि उत्पादन नहुने हुँदा समस्या आउने गरेको बताउँछन् ।

उपचारमा सम्झौता

क्यान्सर रोगका बिरामीले खाने औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताउन थालेका छन् । भर्ना भएका बिरामीहरुलाई पनि औषधि नपाउँदा त्यसै फर्काउनुपरेको क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख डा. कृष्णसागर शर्माले बताए ।

उनले औषधिको स्टक सकिन थालेको र थप औषधि नपाउँदा निको हुने क्यान्सरका बिरामीसमेत प्रताडित बनेको बताए । ‘औषधि पाउन छाडिएको छ, बिरामीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था देखिन थाल्यो,’ डा. कृष्णसागर शर्माले भने, ‘यसले निको हुने क्यान्सर पनि जटिल बन्ने र बिरामीले अनाहकमा मर्नुपर्ने अवस्था आउन सक्छ ।’

क्यान्सर अस्पतालबाट काठमाडौं तथा भारतमा लगेर गर्नुपर्ने अन्य जाँचसमेत नहुँदा निकै समस्या आएको डा. गुरू शाहले बताए । ‘निश्चित अवधिभित्र पठाएर मासु तथा रगतको जाँच गर्नुपर्ने हुन्छ, तर अहिले लकडाउनका कारणले सम्भव छैन,’ डा. शाहले भने ‘कोरोना संक्रमणको डरले अप्रेसनहरू पनि पछाडि धकेलिएका छन् ।’

अस्पतालकै ल्याबमा रिएजेन्टको समेत कमी हुन थालेको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment