Comments Add Comment

चितवनमा प्रहरीको सावधानी : परेड बन्द, भौतिक दुरी कायम

६ जेठ, चितवन । कोरोना भाइरसको संक्रमणको दर बढिरहँदा सामूहिक रुपमा बस्ने र हिँड्ने प्रहरीहरु पनि उच्च जोखिममा छन् ।

केही सुरक्षाकर्मीहरुसमेत कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । चितवनमा प्रहरीले भाइरसको संक्रमण हुन नदिन उच्च सावधानी अपनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी एकनारायण कोइरालाले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र स्वास्थ्यकर्मीहरुले तयार गरेको गाइडलाइन अनुसार सावधानी अपनाइएको जनाए ।

जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८ सय जना प्रहरी छन् ।

प्रहरीहरु स्वास्थ्यकर्मीभन्दा पनि अगाडि फ्रन्टलाइनमा रहेर काम गरिरहेकोले जोखिम उच्च रहेको प्रवक्ता कोइरालाले बताए । उनले प्रहरीका लागि प्रर्याप्त सुरक्षा सामग्री नभए पनि भएकोलाई अधिकत्तम उपयोग गरिएको बताए ।

कोराना भाइरसको संक्रमणबाट जोगिन सडकमा प्रहरी परिचालन गरेपछि सामूहिक परेडको काम पनि बन्द गरिएको छ ।

बिहान सानो संख्यामा राखेर पिटी गराउने र बेलुका सामेली गराउने गरिएको छ । पहिले खासै दुरीको ख्याल नगरिने भए पनि अहिले भने डेढ मिटरको दुरी राखेर सामेली गराउने गरिएको प्रवक्ता कोइरालाले बताए ।

डिउटीमा जानुअघि प्रहरीहरुलाई मास्क, ग्लोब्स अनिवार्य दिएर पठाउने गरिएको छ ‘प्रहरीहरु सबैभन्दा बढी जोखिममा छन् । फ्रन्टलाइन एजेन्सी नै प्रहरी हो,’ प्रहरी प्रवक्ता कोइरालाले भने, ‘को मान्छे संक्रमण छ छैन भन्ने कुरा प्रहरीलाई थाहा हुँदैन, सिधै एक्सपोज हुनुपर्दछ ।’

प्रहरीको मोवाइल सवारीमा दुई जनालाई पीपीईसहितका सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नु परे वा तुरुन्तै एक्सनमा जानुपर्ने उनीहरुलाई पनि पठाउने र ब्याकप पनि सँगै राख्ने गरिएको प्रहरी प्रवक्ता कोइरालाले बताए ।

प्रहरीहरुले सामूहिक रूपमा मेसमा खाना खाँदा जोखिम हुनसक्ने भएकोले निश्चित दुरीमा समय निर्धारण गरेर सिमित संख्या राखेर पालैपालो खुवाउने व्यवस्था गरिएको छ । एक समयमा १० देखि एक सय १५ जनालाई मात्रैं खाना खान पठाउने गरिएको छ ।

‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सावधानी गरेका छौं, तथापि संक्रमण नहोला भन्न सकिन्न,’ प्रवक्ता कोइरालाले भने, ‘राति सुत्दासमेत निश्चित दुरीमा बेडहरु राखेर व्यवस्था गरेका छौं, हामीसँग प्रर्याप्त स्पेश छ, ब्यारेकको बसाइ कोचाकोच छैन, कोठाहरुको अभाव छैन, साप्ताहिक रूपमा निरीक्षण पनि गछौं, रोलकलमा बि्रफिङ गछौं ।’

उनले मातहतका प्रहरी इकाइहरूमा समेत सोही अनुसारको निर्देशन जारी गरिएको बताए । फिल्डमा खटिने १५ जना प्रहरीहरुको स्वाब लिएर कोरोना परीक्षणसमेत गरिएकोमा सबै जनाको नेगेटिभ आएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment