Comments Add Comment
साहित्यवार्ता :

माल पाएर के गर्नु, चाल नपाएपछि !

‘आलोचनात्मक हुनु भनेको असहिष्णु होइन’

७ जेठ, काठमाडौं । पाँच दशकदेखि नेपाली साहित्य र पत्रकारितामा क्रियाशील हरि अधिकारी खरो लेखकका रुपमा चिनिन्छन् । कविता, कथा, निबन्ध र समीक्षामा बराबर कलम चलाउने उनको साहित्यमाथिका आलोचनात्मक धारणा पछिल्लो दशकको नेपाली साहित्यमा ‘हट केक’ बन्ने गरेको छ ।

उनका दुई कविता संग्रह, एक कथा संग्रह र निबन्ध तथा एक उपन्यास प्रकाशित छन् । साहित्यसँगै समसामयिक राजनीतिमाथि निरन्तर विमर्शमा रहने अधिकारी साहित्य, राजनीति र पत्रकारितालाई आफ्नो मूल कर्मक्षेत्र मान्छन् ।

हाल संयुक्त राज्य अमेरिकामा रहेका अधिकारीसँग अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको भर्चुअल कुराकानी:

तपाईं एकजना वजनदार कवि मानिनुहुन्छ । यद्यपि, सामाजिक सञ्जालमा बेतूकका लफडा/झगडाकै तहमा पनि उत्री बस्नुहुन्छ, किन ?

साहित्य, कला, संस्कृतिसँग सम्बन्धित विषयमा आफूलाई लागेको कुरा राख्न हिच्किचाउने स्वभाव मेरो छैन । त्यसो भन्दैमा वृहद् सामाजिक सरोकारको कुनै ठोस मुद्दाबाहेक अनाहकमा विवादमा अल्झने व्यक्ति होइन म । सामाजिक सञ्जालमा कवितामाथि झगडाको स्तरमा उत्रिएको कुनै घटना मलाई सम्झना छैन । यी विषयहरूलाई लिएर सामाजिक सञ्जालमा पोस्ट हुने अनगन्ती रचना र विचारहरूका बारेमा म कमेण्ट गर्दिन, गर्न सम्भव पनि हुँदैन ।

मेरो ध्यान तान्ने कुनै–कुनै रचनाबारे टिप्पणी गर्दा म हर्दम सन्तुलित समीक्षात्मक चेत भएको एक पाठकको भूमिकामा रहने गर्न प्रयत्न गरिरहेको हुन्छु । पोस्ट गरिएका रचनाहरूका विषयमा अधिकांश मानिसले जसरी सर्जकको सुन्दर मुहार वा अरू कुनै ‘योग्यता’ का लागि प्रशंसा गरेको देखिन्छ । त्यसो गर्ने आँट भने ममा छैन ।

कविता वाचाल र तीक्ष्ण मात्र भएर पुग्दैन, शब्द, अर्थ र संरचनाले घनत्वयुक्त हुनपर्छ भन्ने पक्ष तपाईको हो ?

बढी मुखर, वर्णनात्मक र प्रतिक्रियात्मक कविताले आफ्नो सौन्दर्य गुमाउन थाल्दछ । कविता व्याख्यानजस्तो आफ्ना तर्क/विचारहरूलाई पुष्टि गर्न तयार गरिएको लेख–रचना होइन । कविताको संरचना, भाषा र भङ्गिमा अरू लेखोटभन्दा फरक र विशिष्ट हुन्छ ।

कविता विम्वहरूलाई उपकरण बनाएर विशिष्ट भाषामा अभिव्यक्त हुने बलियो माध्यम हो । कुनै कविता किन र कसरी अर्को कविता भन्दा राम्रो वा उत्कृष्ट हुन्छ भन्ने कुरालाई कुनै निश्चित सूत्रका आधारमा भन्न सकिँदैन । यसलाई सजिलोसँग बुझ्न, मेरो विचारमा प्रख्यात कवि भूपी शेरचनका दुई कविता ‘मैनबत्तीको शिखा’ र ‘घण्टाघर’ लाई उनकै अर्का दुई कविता ‘हामी’ र ‘हल्लै हल्लाको देश’ सँग तुलना गरेर हेर्नु पर्दछ । यो तुलनाले राम्रा र ठीकठीकै कविताबीचको भेद बुझ्न सजिलो हुन्छ जस्तो लाग्दछ ।

कविता, कथा, निबन्ध र समीक्षाको यात्रामा तपाईंलाई कुन बढी आत्मीय र मनमौजी लाग्छ ?

कविता मेरो सर्वाधिक प्रिय विधा हो । हुन त मेरो ‘क्रेडिट’मा समसामयिक नेपाली कथाबारे अध्ययन गर्दा खोज गर्नैपर्ने केही कथाहरू पनि छन् । समीक्षा भने आफूले पढेका पुस्तकहरूबारे अनुभूत गरेका कुराहरू अरू पाठकसँग शेयर गर्नु राम्रै हुनेछ जस्तो लागेर लेख्न, छपाउन थालेको हुँ ।

समीक्षालाई सामान्य पुस्तक परिचयको घेराबाट बाहिर ल्याउनु र पुस्तकमा रुचि भएकाहरूलाई असल र कमसल पुस्तकबीच फरक छुट्याउन केही सहयोग गर्नु पनि यस विधामा कलम चलाउनुको मेरो उद्देश्य थियो । मेरो उपन्यास ‘एक्लो नायक’ आदरणीय नेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धासुमन अर्पण गर्ने विनम्र प्रयासका रूपमा लेखिएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास पनि समेटिएको हुनाले यो आख्यान र इतिहासको संयुक्त रूप जस्तो बन्न पुग्यो । धेरैले यसलाई कमजोरीका रूपमा पनि लिएका छन् ।

‘नेपालीहरू समीक्षा/समालोचना गर्दैनन्, कटुता मात्र पोख्छन्’ भन्ने शंकर लामिछानेको भनाइ तपाईंको कलमसँग ठ्याक्कै मेल खान्छ नि !

खै ! मलाई त त्यस्तो लाग्दैन । शंकर लामिछानेजस्तो सुल्झिएको व्यक्तिले यसरी सबै समीक्षकलाई एउटै बास्केटमा हालेर पाँडेगाली गरे होलान् जस्तो लाग्दैन मलाई । गरेकै हुन् भने उनले नचाहिँदो कुरा गरेका हुन् । मैले कुनै पुस्तकको समीक्षा गर्दा कुण्ठा व्यक्त गर्नुपर्ने कुनै कारण नै हुँदैन । एक पाठकका दृष्टिले कुनै कृतिले आफूमाथि पारेको प्रभावको चर्चासम्म गर्ने हो ।

‘पाण्डुलिपि’ मासिकसँगको अन्तरवार्तामा ‘भूपी नेपाली कविताका ओभररेटेड कवि हुन्’ भन्नुभएको थियो । नेपाली साहित्यमा अरु त्यस्ता ओभररेटेड साहित्यकार को–को हुन् ?

भूपीपछि, बैरागी काइँला, तुलसी दिवस, कालीप्रसाद रिजाल, दिनेश अधिकारीहरूले ओभररेट पाएका छन् । दिनेशकै मापदण्डबाट हेर्दा पनि उनका कमजोर कविताहरूको पुस्तकलाई मदन पुरस्कार दिएर बढी भाउ दिएको सन्दर्भमा उल्लेख गरेको हुँ । शास्त्रीय शैलीमा लेख्नेहरूमा माधवप्रसाद घिमिरे बहुतै ओभररेटेड हुन् ।

नेपाली साहित्यमा स्वविवेकले गम्भीर अध्ययन गर्ने समालोचक र अध्येताहरू देखा पर्न नै छोडेको र प्रायजसो दुईचार प्रचलित नामकै चर्चा गरेर दानापानी जुटाइरहेका माष्टर समालोचकहरूकै बोलबाला रहेकोले अण्डररेटेड कविहरूका बारेमा कुरा गर्न त्यति सजिलो छैन ।

सबभन्दा पहिले त सबैलाई समेटेर सन्तुलित रेटिङ शुरू हुनुपर्‍यो । त्यसपछि आउँछ ओभर वा अण्डररेटिङको कुरा । म चाहन्छु– भूपीहरू पछिका कवि र कविताहरूमाथि पनि गम्भीर अध्ययन हुन थालोस् । फेरि एकपल्ट हाम्रो आसपास रामकृष्ण शर्मा, जनकलाल शर्मा, कमलमणि दीक्षित, ईश्वर बराल, वासुदेव त्रिपाठीहरू देखा परून् ।

पछिल्लो दुई दशकमा निकै ठूलो संख्यामा नयाँ लेखक देखा परेका छन् । यस अवधिमा नेपाली गद्य कुन स्तरमा रहेको पाउनुहुन्छ ?

नेपाली साहित्यमा पछिल्लो समयमा लेख्ने, छाप्ने (सायद पढ्ने–पढाउने पनि) गतिविधिमा उत्साहजनक बृद्धि भएको छ । यसअघि बहुतै कम मानिसको विशिष्ठ शोकका रूपमा चलिरहेको पुस्तक प्रकाशनले बिस्तारै व्यावसायिक स्वरूप लिँदै जान थालेको छ भनिँदैछ ।

हुन त प्रारम्भिक चरणमा भएकोले यसले कुन रूप लिनेछ अहिले भन्न सकिँदैन । तर, शिक्षा र सञ्चारको क्षेत्रमा नेपाली समाजले गरेको प्रगतिका आलोकमा हेर्दा पठन–पाठन व्यापक नै हुँदै जानेछ भन्ने विश्वास गर्नु अनुचित हुने छैन ।

अहिलेको ‘ट्रेण्ड’ हेर्दा लेखन र प्रकाशन दुवै प्रभागमा भएकाहरूले उत्कृष्ट परिणामका लागि आवश्यक पर्ने अध्ययन, साधना, अध्यावसाय र व्यावसायिक इमान्दारी वाञ्छित स्तरमा देखाउन बाँकी नै छ जस्तो लाग्दछ मलाई । अधिकांश लेखकको भाषामाथि कुनै पकड नै देखिँदैन । विषय–वस्तुको गहिराइमा पुग्ने प्रयत्न पनि कमैले गरेको देखिन्छ, यिनका कृति पढ्दा । यस्ता कमजोरीबाट मुक्त हुन नसकेसम्म विश्वस्तरको त कुरै छोडौं, हाम्रै पूर्ववर्ती ‘भेटेरान’हरूको तुलनामा पनि हामी औषत नै रहनेछौं ।

राजनीति र हरि अधिकारीबीच कस्तो सम्बन्ध पाउनुहुन्छ ?

म पूर्णतः राजनीतिक प्राणी हुँ । अहिले केही वर्षयता भौतिकरूपमा राजनीतिमा सक्रिय भने छैन । तर, यो सर्वव्यापी विषयबाट म कहिल्यै टाढा भएको छैन । राजनीतिक चेतनाले नै मलाई जहिले पनि व्यष्टिबाट उठाएर समष्टिसँग लगेर जोडिदिने गरेको छ । मेरा लागि राजनीतिले सक्रिय गतिविधिको एउटा मञ्च मात्र प्रदान गर्दैन, चिन्तन प्रक्रियालाई उष्मा पनि दिइरहन्छ ।

अमेरिकामा बसेर विश्वका अन्य देशहरुको राजनीति पनि देख्नुभएको छ । त्यो किनारबाट हेर्दा नेपालको राजनीति कस्तो देखिँदोरहेछ ?

म अमेरिका ‘बस्न थालेको’ होइन, ‘कोभिड–१९’ ले मेरो नेपाल फर्कने समयलाई पर धकेलेको मात्र हो । कामविशेषले परदेशमा रहनेबाहेक म नेपालमै बस्ने हो ।

अहिले विश्वभरकै राजनीति खराब बाटोमा छ । अमेरिका, रसिया, भारत, ब्राजिल, बेलायतलगायतका महत्वपूर्ण देशहरूको सत्तामा सर्वसत्तावादी रूढ सोच भएका नेताहरू पुगेका छन् । हाम्रो देशको हालत झनै खराब छ । लगातार अस्वस्थ रहने तर, सत्ताको चास्नीमा डुबिरहन चाहने भएकाले आफूलाई स्वस्थ र बलिष्ठ देखाउने प्रधानमन्त्रीद्वारा शासित मुलुकको हालत कस्तो हुन्छ ? जोसुकैले पनि कल्पना गर्न सक्दछ ।

पछिल्लो दशकको नेपाली समाज बढी नै आलोचनात्मक बनेको हो ?

समाज शिक्षित–जागरुक हुँदै गएपछि नागरिकहरू आफ्नो र देशको हित–हकका मुद्दाहरूमा अगुवाहरूसँग प्रश्न गर्न थाल्छन् । समाजमा चेतनाको स्तर बढेको लक्षण हो यो । आलोचनात्मक हुनु असहिष्णु हुनु होइन । एउटा जीवन्त समाज सहनशील भएर बसिरहन सक्दैन । समाज सहनशील हुन छोडेपछि नेपालमा क्रान्ति भएको हो ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेतासँग निकट रहनुभयो, तपाईंको दृष्टिमा नेतृत्व भनेको के हो ?

गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग थोरै समयका लागि भए पनि निकट हुने जुन मौका मैले पाएँ, त्यसलाई आफ्नो सौभाग्यको रूपमा लिएको छु । उहाँहरूको सोच–व्यवहारलाई ध्यानमा राखेर भन्नु पर्दा ‘असल नेतृत्व भनेको ध्येयनिष्ठा, वैचारिक दृढता र कार्यकर्ताहरूको अभिभावकत्व’ को अर्को नाम हो ।

दशकौं वर्षपछि बनेको बहुमतको सरकारको काम कस्तो लागेको छ ?

दुईतिहाई बहुमत नजिक पुगेको यो सरकार बिल्कुलै बेकम्मा साबित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जनताले गरेको विश्वास र भरोसाको सम्मान गर्न सकेनन् । यिनले जनादेशको खिल्ली उडाएका छन् ।

नेपाली जनताले यिनलाई सत्ता सुम्पेको पार्टी र सरकारमा यिनको दीर्घकालीन पकड कायम होस् भनेर होइन । राष्ट्रको रित्तिँदै गएको ढुकुटी नेकपाका यिनलाई मन परेका कार्याकर्तालाई लुटाउन पनि होइन ।

अनुभव र योग्यताका हिसाबले कमजोर एक व्यक्तिलाई राष्ट्रपति बनाएर त्यो गरिमामय पदलाई कार्यपालिकाको बफादार सेवक बनाउन पनि ओलीलाई जनताले बहुमत दिएका होइनन् । बात–बातमा उखान–टुक्का हाल्ने यी पूर्वेली नेताले ‘माल पाएर के गर्नु, चाल नपाएपछि’ भन्ने नेपाली उखान चरितार्थ गरेका छन् । यो नै हाम्रो समयको भीषण विडम्वना हो । नेपालीमाथि नियतिले गरेको ठूलो व्यङ्ग्य पनि हो यो ।

नेपाली साहित्यको राजनीति के हो ?

मानव सरोकारका हरेक पक्षमा राजनीति हुन्छ, त्यसबाट साहित्य अलग रहँदैन । तर, राजनीतिले साहित्य लेखन प्रक्रियामा कुनै अन्यथा प्रभाव पार्न सक्दैन । साहित्यकारलाई दिइने अथवा नदिइने पद, पदवी, पुरस्कार, मान्यता आदिका प्रसङ्गमा भने राजनीतिले साहित्यमाथि आफ्नो कुरूप छाया पार्न सक्दछ । तर सच्चा साहित्यका सन्दर्भमा त्यसको कुनै अर्थ रहँदैन ।

आफ्नै दृष्टिबाट हेर्दा हरि अधिकारी कस्तो मानिस हो ?

आफ्ना विचारहरूप्रति निष्ठावान्, स्वाभिमानी, लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध, ज्ञान–विज्ञानका अनेक विषयप्रति शततः जिज्ञाशु एक आम नेपाली नागरिक हा– हरि अधिकारीे । साहित्यपछि उसको रुचि र व्यसन पत्रकारिता हो, जुन क्षेत्रमा उसको संलग्नता चार दशक पुरानो भइसकेको छ ।

साहित्य होस् या पत्रकारिता, त्यहाँ स्थापित हुन उसले ठूलै संघर्ष गरेको छ । यस कोणबाट हेर्दा धेरै हदसम्म स्वनिर्मित व्यक्तित्व पनि हो–हरि अधिकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment