Comments Add Comment

पोखरीको डिलमा १० लाख १० हजार नगद भेटियो

८ जेठ, रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।

डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए ।

ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।

त्यहाँबाट बरामद रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहबरमा गन्न लगाएका थियो । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको मेयर मेहताले बताए ।

बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

भारतसँग सीमा जोडिएको रौतहटका औरैयाबाट ठूलो परिमाणको रकम बरामद हुनुले यो क्षेत्रमा हुण्डी कारोबार मौलाएको संकेत मिलेको स्थानीय बताउँछन् । बरामद भएको रकमबारे प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय रौतहटका उच्च अधिकारीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment