 
																						८ जेठ, काठमाडौं । ठूला नेता र भीआइपीहरु बस्ने काठमाडौं शहरमा पीसीआर किटको दुरुपयोग बढिरहेको तर कपिलवस्तु लगायत दूरवर्ती गाउँहरुमा हाहाकार मच्चिएको गुनासो बढेको छ ।
पहुँचवालाहरुको जाँच सजिलै हुने, सामान्य नागरिकले चाहिँ आवश्यक पर्दा पनि बेलैमा कोरोना परीक्षण गर्न नपाउने विभेदपूर्ण स्थिति देखा पर्न थालेको छ । र, यो विभेदकारी व्यवहारको सुरुवात ठूला नेता, मन्त्री र सांसदबाटै भएको छ ।
पीसीआर किटको अभाव वा दुरुपयोगका सन्दर्भमा चर्चा गर्नुभन्दा पहिले काठमाडौं, कलंकीको एउटा ‘ट्रेजेडी’ को चर्चा गरौं ।
सरकारले गत चैत ११ देखि लकडाउन घोषणा गरेको सुन्नेवित्तिकै काठमाडौं–१४ स्थित कलंकी, वीपीमार्गमा डेरा गरी बस्ने एक दम्पती गाडी चढेर काठमाडौंबाट बाहिरिए । काठमाडौं छाडेर बाहिरिने हुलमुलमै उनीहरु हुर्रिएर घर पुगे । नवलपरासीमा माइती–ससुरालीको मेजमानी खान पनि भ्याए ।
काठमाडौंमा श्रीमान–श्रीमती दुबैको प्राइभेट कम्पनीमा जागिर थियो । लकडाउन लम्बिँदै गयो । अब गाउँमा के गरेर बस्ने ? उनीहरुलाई काठमाडौं फर्कन हुटहुटी भयो । र, गाउँ फर्केको करिब डेढ महिनापछि उनीहरु वैशाख २९ गते लकडाउनको घेरा तोडेर नवलपरासीबाट कलंकीस्थित डेरामा आइपुगे ।
कलंकी, वीपीमार्गस्थित घरको तल्लो तलामा उनीहरुको डेरा छ । सो तलामा अर्को परिवार पनि भाडामा बस्छ । त्यो परिवार लकडाउनमा गाउँ नगई कोठामै खुम्चिएर बसेको छ ।
डेरामा बस्ने सबैले प्रयोग गर्ने इनार एउटै छ । माथ्लो तलामा घरधनी बस्छन्, जहाँ बच्चादेखि ८० वर्षकी हजुरआमासम्म छन् ।
जिल्लाबाट आएको भोलिपल्ट श्रीमान–श्रीमतीले नुहाइ–धुवाइ गरे । फ्रेस भए । अर्को दिन अफिस जान भनेर घरबाट निस्किए । टुटेको दैनिकीलाई लकडाउनकै वीचमा सहज बनाउने प्रयासमा लागे । तर, उनीहरुको काठमाडौं आगमनलाई घरबेटी र टोलका मानिसहरुले सहजरुपमा लिएनन् ।
बाहिरबाट कोरोना बोकेर ल्याएको हुन सक्ने भन्दै छिमेकीको दबाव बढेपछि घरधनीले उनीहरुलाई एकचोटि टेकू गएर कोरोना परीक्षण गराउन आग्रह गरे ।
गाउँबाट फर्केको तीनमा श्रीमान–श्रीमती दुबै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा लाइन लाग्न पुगे ।
पीसीआर जाँचका लागि सरकारको मापदण्ड छ– या त उनीहरुको सम्पर्कमा रहेको कुनै व्यक्तिको पोजेटिभ रिपोर्ट आएको हुनुपर्छ, या त उनीहरु कोरोना संक्रमित ठाउँबाट काठमाडौं आएको हुनैपर्छ ।
नवलपरासीबाट लकडाउन छल्दै काठमाडौं छिरेका उनीहरुले लाइनमा उभिएका अरुकै सिको गर्दै प्रयोगशालामा तोकिएको शुल्क तिरेर फारम भरे । आफूहरु गाउँबाट आएको तर घरबेटीले कोरोना जाँच नगरी डेरामा छिर्नै नदिएको भन्दै लामो लाइनमा उभिए । बिहान ९ बजेतिर लाइनमा उभिएका उनीहरुको अपराह्न ३ बजेतिर पालो आयो । दुबैले पीसीआर परीक्षणका लागि स्वाब दिए । र, डेरामा फर्किए ।
काठमाडौंमा घरबेटीले कोठामा छिर्न नदिएको भन्दै पीसीआर जाँचका लागि लाइन लाग्नेहरुको भिड लामै हुने गरेको छ ।
प्रयोगशालामा स्वाब दिएको दुई दिनपछि मंगलबार श्रीमान–श्रीमती दुबैको रिपोर्ट आएको जानकारी प्रयोगशालाले दियो । तर, रिपोर्ट तनाव निम्त्याउने खालको आयो ।
पीसीआर जाँचको रिपोर्टमा श्रीमानलाई कोरोना नेगेटिभ देखियो । तर, साथमै रहेकी २४ वर्षे श्रीमतीमा पोजेटिभ देखियो ।
श्रीमान–श्रीमतीवीच रुवाबासी चल्यो । घरबेटी र छिमेकीहरु आत्तिए । काठमाडौंको तरंग घर–माइत सबैतिर फैलियो । नवलपरासीमा पनि कन्ट्याक ट्रेसिङ सुरु भयो । उनीहरुको ट्राभल हिस्ट्री खोज्न थालियो ।
चिन्ताको विषय त यो थियो कि २४ वर्षे युवतीलाई कोरोना सल्कियो कहाँबाट ? घरबाट ? माइतबाट ? या काठमाडौंबाट ? बाटोमा सवारी साधनबाट ? कि लकडाउनका बेलामा एकैदिन मात्र गएको इन्सुरेन्स कम्पनीको अफिसबाट ?
संक्रमितका श्रीमानको आशंका त अझ अर्को पनि छ, कतै पीसीआर जाँच गराउन टेकु गएका बेलामा उतैबाट पो दुईमध्ये एकजनालाई कोरोना सर्यो कि ? आखिर जहाँबाट सरे पनि कोरोनाको स्रोत पत्ता लगाउने ल्याकत सर्वसाधारण मानिसमा हुने कुरै भएन ।
रिपोर्ट आएको खबरसँगै मंगलबार राति नै बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालबाट युवतीलाई लिन एम्बुलेन्स आइपुग्यो । रातको समय, श्रीमान–श्रीमती रुँदै छुट्टिए ।
अहिले श्रीमान कलंकीस्थित कोठामा एक्लै ‘डेरा क्वारेन्टाइन’ मा बसेका छन् । घरबेटीले बाहिरैबाट दूध इत्यादि दिन्छन् । श्रीमतीचाहिँ कोराना अस्पतालमा छिन् ।
यो त भयो डेरावालको कुरो । अब घरबेटीको कुरो सुनौं ।
आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै पूर्वशिक्षकसमेत रहेका घरबेटीले आफ्नो व्यथा अनलाइनखबरलाई यसरी सुनाए । घरमा संक्रमित देखिइसक्दा पनि कन्ट्याक ट्रेसिङ र टेस्टिङ केही पनि नगरिएको घरबेटीको गुनासो छ ।
कन्ट्याक ट्रेसिङ र टेस्टिङका लागि नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका अर्थ सल्लाहकार लालशंकर घिमिरे नै लाग्दा पनि तीन दिनसम्म कसैले सुनेन ।
घरबेटीले यसरी घटनाको वर्णन गरे–
श्रीमानको नेगेटिभ र श्रीमतीको पोजेटिभ रिपोर्ट आइसकेपछि डाक्टरले तुरुन्तै एम्बुलेन्स बोलाएर आइसोलेसनमा राखिहाल्नोस् भने । हामीले बलम्बुबाट एम्बुलेन्स बोलाएर पठायौं । उहाँ चिन्तित हुँदै, रुँदै जानु भो, हामीले आफ्नो ठाउँबाट सम्झाउने काम गर्यौं ।
भोलिपल्ट सेनाले नवलपरासीमा उहाँको माइतीमा गएर उहाँसँग सम्पर्क भएकाजतिको टेस्ट लिएछ । त्यताको सबै रिपोर्ट नेगेटिभ आयो । त्यो रिपोर्टले दुबैजनाको आत्मबल अलिकति बलियो भएको छ । हामी अब बाँच्यौं भन्नेजस्तो भएको छ । श्रीमान यहीँ घरभित्र हुनुहुन्छ, भित्रै पकाउनुहुन्छ, खानुहुन्छ । यसरी चलिराखेको छ ।
मैले मिडियालाई भन्नैपर्ने कुरो चाहिँ के छ भने यो महामारी राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा आएको हो, मैले ल्याएको होइन । काठमाडौंमा घर हनु मेरो अपराध पनि भएन । डेरामा बसेको मान्छे आउँदा उसलाई ढोका नखोल् भन्न पनि भएन । पहिल्यै फोन गरेको हुन्थ्यो भने अहिले स्थिति जटिल छ, नआउ है भन्न सकिन्थ्यो । तर, उहाँहरुले फोन गर्नुभएन । यहाँ टोलमा १४ नम्बर वडाले माइकिङ गरेर यस्तो–उस्तो भनेको पनि मैले सुनिनँ ।
उहाँहरु आएर बसिरहनुभएको थियो । गेटमा टच भयो । हामी सतर्क भए पनि भर्याङको स्टिलको रेलिङमा बच्चाहरुले समाइहाल्छन् । हामीसँग चार वर्षको बच्चा छ, ८४ वर्षकी आमा हुनुहुन्छ, चिन्ता लिनैपर्यो । मुनि डेरा गरेर बस्ने अरु तीनजना हुनुहुन्छ । उहाँहरुले एउटै इनारको पानी चलाउनुहुन्छ । यी सम्भावित ठाउँहरु भए । त्यसैले हामीलाई डर भयो ।
छिमेकीहरुले पनि हामीलाई प्रेसर दिइरहेका छन् । तँ किन परीक्षण गराउन जाँदैनस्, हिँडेर भए पनि टेकु जा भनिरहेका छन् । दिनभरि गेटमा आएर कराउँछन् । स्पष्टीकरण दिँदादिँदै हैरान भइएको छ ।
मैले कोरोना परीक्षण गरीपाउँ भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको हटलाइनमा पाँच मिनेट जति कुरा गरें । तपाईको खबर हिजै आएको हो भने । बूढाबुढी मान्छे हिँडेर टेकु जान पनि सकिन्न । फेरि त्यहाँ जाँदा रोग सर्छ कि भन्ने डर भयो । संक्रमितका श्रीमानले नै भनिरहनुभएको छ कि टेकुमा चेक गर्न जाँदा भीड थियो, त्यहीँबाट सरेको हो कि ? यस्तो स्थितिमा बूढाबुढी मान्छेलाई लिएर मैले त्यहाँ जाने कुरो पनि भएन । न ट्याक्सी पाइन्छ । साधनमा आउनु भनिएको रहेछ ।
हामीले आफ्नो समस्या वडा सदस्य, वडा अध्यक्ष हुँदै काठमाडौंका मेयरसम्म पुर्यायौं । स्वास्थ्य विभागमा पनि हाम्रो कुरो पुग्यो । माननीय कृष्णगोपाल श्रेष्ठले पनि त्यहाँ दबाव दिनुभो । हिजै गाडी आउँछ भनेर लुगा लगाएर बसियो । तर, गाडी आएन । छिमेकीहरुले हामीलाई हेरिरहेका थिए । त्योखालको एकदमै मानसिक तनाव भयो ।
आज वडाध्यक्ष आउनुभएको थियो । वडाध्यक्ष आएपछि बल्ल अलि फ्रेसजस्तो भइयो । नभए त हाम्रो निद्रा नै हराएको अवस्था थियो । वडाध्यक्ष शोभा सापकोटाले हामीलाई के सुनाउनुभयो भने सँगै बाइकमा आएको र सँगै बस्ने श्रीमानलाई भाइरसले नभेटेको हुनाले तपाईहरु फ्ल्याटै छुट्टै बस्नुभएको छ, ढोका–सोकाको स्पर्शले विदेशको जस्तो यहाँ नहोला भन्ने अनुमानित अड्कल गर्नुभो । उहाँले हामीलाई भेटेर सम्झाएर जानु भयो ।
कोरोना हामीमा सरेको छैन भने त राम्रै हो । तर, टेस्टिङ त गर्नुपर्यो नि । यो त अस्तिको दिनको कुरो हो, कोरोना पोजेटिभ देखिइसकेपछि परीक्षणका लागि हिजै आउनुपर्ने हो । कन्ट्याक ट्रेसिङ त गर्नुपर्ने हो ।
अरुले थाहा नपाउँदै टोली आएर कमसेकम हाम्रो र्यापिड टेस्ट गर्नुपर्ने हो । हामी यहीँ घरमै क्वारेन्टाइनमा बस्थ्यौं, १०/१२ दिनपछि उनको कस्तो रिपोर्ट आउँछ, त्यसपछि आवश्यक भए फेरि चेक गर्ने, नभए हामी क्लियर हुनथ्यौं । अहिले त छिमेकीले पनि, मनोवैज्ञानिक त्रासमा परेकाहरुले पनि अलि पोजेटिभ सोच्ने थिए भन्ने हाम्रो माग हो ।
यस घरमा हामी जम्मा १० जना छौं । अन्त कोरोना देखिएपछि गाउँ नै सिल गरेर परीक्षण गरेको सुनिन्छ । हाम्रोमा चाहिँ महानगरपालिकाको संयोजन नभएको हो कि ? उहाँहरुले सामान्य ठान्नुभएको हो कि ?
हाम्रो पहुँच भनेको माननीय कृष्णगोपाल हुनु भो । नजिकै प्रधानमन्त्रीका अर्थ सल्लाहकार लालशंकर घिमिरे सर हुनुहुन्छ । उहाँले पनि स्वास्थ्य विभागमा फोन गरेर भनिदिनुभएको थियो । उहाँहरु पनि चाँडो आएर टेस्टिङ गरिदिए हुन्थ्यो भन्ने पक्षमै हुनुहुन्छ । मेरोमा भाइरस रहेछ नै भने त यो टोलमा खतरा भयो नि ।
इशारा नै काफी !
काठमाडौं महानगरपालिका वडा नम्बर १४ निवासी यी घरबेटीले सुनाएको यो वर्णनामा एकै साथ धेरै कथाहरु बोलिएका छन् । कुै घरमा कोरोना संक्रमित देखिँदा पनि समयमै कन्ट्याक ट्रेसिङ वा टेस्टिङ हुने गरेको छैन भन्ने यसबाट पुष्टि हुन्छ ।
संक्रमितलाई अस्पताल लगिए पनि संक्रमणको स्रोतबारे जिम्मेवार निकायले हेलचेक्र्याइँ गरेको स्पष्ट हुन्छ ।
अझ रोचक त के छ भने संक्रमित फेला परेको घरमा वडाध्यक्ष पुगेका छन् । सत्तारुढ संसदले मन्त्रालयसम्म दबाव दिएका छन् । प्रधानमन्त्रीका सल्लाहकारले सोर्स लगाएका छन् । तैपनि संक्रमित भेटिएको घरमा टेस्टिङ हुँदैन ।
के सबै सांसदले मुख बाउन जरुरी थियो ?
गर्नुपर्ने ठाउँमा टेस्टिङ नगरे पनि सरकारले नगर्नुपर्ने ठाउँमा महंगो टेस्ट किट खर्च गरेको चाहिँ स्वयं मन्त्रालयकै अधिकारीहरु स्वीकार गर्छन् ।
गत बैशाख २५ गते संघीय संसदका सांसद एवं कर्मचारीसमेत गरी ४३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरियो । २६ गते संसद अधिवेशन उदघाटन हुने दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित छुटेका थप नेता र कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना जाँच गरियो ।
पीसीआर परीक्षणको किट निकै नै महंगो छ । प्रतिव्यक्ति ८ हजारदेखि १५ हजार रुपैयाँसम्म खर्च लाग्ने बताइँदै छ । सरकारले यसको ठो दाम यति नै पर्छ भनेर भन्न सकेको छैन । सांसदहरुको एकै लटमा ५ सय मानिसको परीक्षण गर्दा कति खर्च भयो, मौखिक गणित गर्न गाह्रो छ ।
के यसरी सबै सांसदहरुको र कर्मचारीको समेत पीसीआर विधिबाट एकमुष्ट परीक्षण गराइराख्न जरुरी थियो त ? कस्तो अवस्थामा कोरोनाको परीक्षण गराउन पाइन्छ ? आम सर्वसाधारणले कुन–कुन मापदण्डका आधारमा यसरी जाँच गराउन पाउँछन् ? र, पीसीआर परीक्षणको मापदण्ड के हो ?
यी विषयमा प्रश्न गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले ‘पीसीआर जाँचको स्पष्ट मापदण्ड सरकारसँग रहेको तर्क गरे ।
उनले भने, ‘परीक्षणका लागि कोरोना संक्रमित रहेको ठाउँबाट आएको व्यक्ति हुनुपर्छ । वा उसको नजिक रहेका व्यक्तिमा पोजेटिभ लक्षण देखिएर कन्ट्याक ट्रेसिङमा परेको व्यक्तिको हकमा पीसीआर जाँच गरिन्छ ।’
उसोभए बैशाख २५ र २६ गते सांसद र कर्मचारीहरुमाथि गरिएको पीसीआर जाँच मापदण्डकै आधारमा भएको हो त ? कि ठूला नेताहरुको जाँच मापदण्ड तोडेर गरिएको हो ?
जवाफमा मन्त्रालयका ती अधिकारीले अनलाइनखबरसँग नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नेता र सांसदज्यूहरुको स्वाब परीक्षणमा मापदण्ड उल्लंघन भएकै हो । कोरोना संक्रमित क्षेत्रमा घमेर आएका सांसदहरुको मात्रै टेस्ट गरौं, लकडाउनमा घरै बसेकाहरुको नगरौं भन्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव थियो । तर, मन्त्रालयको कुरा सुनुवाइ भएन ।’
स्वास्थ्य मन्त्रालयको त्यो प्रस्ताव माथिबाटै उल्लंघन भएको बताउँदै ती अधिकारीले भने, ‘त्यसको असर अहिले काठमाडौंमा देखिइसकेको छ, नेताका छोराछोरीको पनि परीक्षण गरिदिनुपर्यो भन्ने दबाव आउन थालिसक्यो, स्वास्थ्य मन्त्रालयमा यति ठूलो दबाव आइरहेको छ कि धान्नै गाह्रो भइसक्यो ।’
मन्त्रालय स्रोतका अनुसार अहिले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, कर्मचारी प्रशासन र सुरक्षा अंगबाट समेत आफन्तहरुको पीसीआर जाँचका लागि किटको माग गर्दै दबाव आउन थालेको छ ।
स्वास्थ्य मन्त्रालयले दबाव झेल्न नसकेर आवश्यक नपर्ने व्यक्तिहरुको पनि पीसीआर जाँच गरिरहेको छ । प्रेस काउन्सिलका कर्मचारीदेखि आयल निगमका कर्मचारीसम्मले मापदण्डविपरीत थोकरुपमै पीसीआर जाँच गराउन थालेका छन् ।
आफूनिकट मानिसहरुलाई बोलाउँदै पीसीआर टेस्ट गराउने क्रम काठमाडौंमा बढेको छ । पीसीआर किटमा भएको यस्तो अनियमितता र दुरुपयोग कारण जाँच हुनुपर्ने ठाउँमा चाहिँ किटको अभाव भइरहेको छ । संक्रमित व्यक्ति भेटिएको घरका घरबेटीले समेत त्रासमा बाँच्नुपरिरहेको छ ।
सिंहदरबारमा नेताहरु आँ गर्ने, उता सामान्य जनता चाहिँ ट्वाँ पर्नुपर्ने स्थिति छ । कपिलवस्तुमा केन्द्र सरकारले पर्याप्त किट उपलब्ध गराउन सकेका कारण क्वारेन्टानमा बस्नेहरुको २० दिनसम्म जाँच हुने सकेको छैन ।
देशैभरि संक्रमणको दर दिनानुदिन बढिरहेको छ । यो अवस्थामा धेरै किट र रिएजेन्टको आवश्यकता पर्न सक्छ । तर, सरकारले न पर्याप्त सामग्री जुटाउन सकेको छ, न त न्यायोचित वितरण नै ।
अब कपिलवस्तुको कन्तबिजोग हेरौं–
 
                









 
                     
                                

 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4