Comments Add Comment
कथा :

म्हेन्दोको काँडा बिझ्ने स्कुल

स्यारको साल्मेभिरमा घण्टा बजाउँदै गाईगोरु चरिरहेका छन् । म्हेन्दो डोल्मा धुपीको पोथ्रामा चढेर चराकोभन्दा चर्को स्वरमा गीत गाइरहेकी छ । त्योभन्दा माथिको रुखबाट फुर्बुले गीतको जवाफ दिइरहेको छ । दुवैको गीत तिब्बती भाषा, तिब्बती भाकामा छ ।

घरिघरि ऊ रुखबाट पात चुँडेर फाल्छे । पात फिनिनिनी घुम्दै स्यार खोलामा खसेको हेर्न कम्ती रमाइलो छैन । आफ्नो पालोमा गीतको जवाफ फर्काउने ध्याउन्न एकातिर, अर्कातिर पात खसाएर रमाइलो गर्न उनलाई भ्याइनभ्याइ छ ।

ठाडो भिरको जोखिम उसले पत्तै पाएकी छैन ।

रुखबाट बाँदर झैं कराएर चुमभ्याली जाने पर्यटकलाई जिस्क्याउनुको मज्जा बेग्लै । कोही बटुवा उस्तै आवाजमा जवाफ फर्काउँथे । कोही फोटो खिच्दै जान्थे ।

शरद ऋतु, मध्याह्नको सुमधुर घाम । बारीमा लट्टे राताम्यै छ । स्यारखोला वारिपारि साल्मेभिर छ । छङ्गाछुर भिरमा गाउँलेहरू साल्मे घाँस काटेर सुकाउने काममा व्यस्त देखिन्छन् । चिप्लियो भने सिधै दुई/तीनसय मिटर तल स्यारखोलाको प्रवाहमा पुग्ने छङ्गाछुर भिरको डर कत्ति पनि छैन । केवल पुस/माघतिर हिउँ पर्छ । चरन हिउँले ढाक्छ । त्यतिबेला गाईबस्तुलाई साल्मेको पराल खुवाउन गज्जब हुन्छ भन्ने मात्र मनमा छ ।

ऐनाजस्तो कञ्चन चुम उपत्यका । पूर्वी घेरामा देखिने गणेश हिमाल, आफ्नै शीरमाथि चमार हिमालको ग्ल्यासिएर, पश्चिमतर्फ बुद्ध हिमालको अँगालोमा रमाएर म्हेन्दोको १० वर्ष बितेको छ ।

यो उमेरसम्म म्हेन्दोहरूले स्कुल नदेखेका होइनन्, गाउँमै छ पेमाथाङ प्रा.वि. । उनीहरूका बा त्यही स्कुलमा भर्ना भएका थिए कुनैदिन । अहिले म्हेन्दोहरू त्यही स्कुलको कोठाकोठामा याकचौरी चराउँछन् । बर्खायाममा त झाडीले ढपक्कै ढाक्छ, छिचोल्न पनि नसकिने गरी । स्कुलमै बस्तुभाउ डुब्छन्, हराउँछन् ।

****

म्हेन्दो गाईबाख्रा लिएर खोच्याउँदै खोच्याउँदै साँझतिर घर पुग्छे । खुट्टामा काँडा पसेकाले दर्द धेरै नै थियो । त्यसैले कम्मलमा गुटुमुटु भएर अँगेना नजिकैको ओछ्यानमा सुत्छे ।

अँध्यारो छिप्पिँदै गएपछि आमाले उसलाई उठाइन् । फकाइफकाइ ढिडो खुवाइन् । पीडा र आमाको ममताले उसको आँखाबाट भल्भली आँसु झरिरहेको थियो ।

आमाले सुम्सुम्याउँदै सोधिन्, ‘कहाँ बिझ्यो काँडा ?’

‘स्कुलमा ।’

‘उठ् म झिकिदिन्छु ।’ टाउकोमा हात लगाएर उठाइन् ।

‘किन लगेकी त स्कुलमा याकचौँरी ?’

‘मलाई त्यतै जान मनपर्छ ।’

‘स्कुलमा पढ्न जान पाइनस् । गाई चराउन जान मन गरेर के गर्छेस् त ?’

‘खै कहाँनेर बिझ्यो ?’

‘यी यहाँ ।’

‘पख् है म तेल तताएर ल्याउँछु ।’

****

पेमाथाङ प्रा.वि. बन्द भएको २० वर्षभन्दा बढी भएको थियो । शिक्षक र विद्यार्थी नभएपछि स्कुल आफसेआफ बन्द भएको थियोे । शिक्षक सबै तल्लो भेगका थिए । चार, पाँच दिनको बाटो हिडेर गएका शिक्षक वर्षमा जम्मा ३० दिन पनि बस्दैन’थे ।

‘स्कुलमा विद्यार्थी नै आउँदैनन् । एक दिन, दुई दिन, तीन दिन, कति दिन बस्ने रित्तो स्कुलमा ? शिक्षक प्रश्न गर्थे ।

‘दशैं मान्न गएका मास्टरहरू दशैं, तिहार सकेर कात्तिकको अन्तिम हप्ता, मंसिरको पहिलो हप्तातिर आउँछन् । अनि पुस एक गते जाडो बिदा गरेर झर्छन् ।

चैतसम्म हिउँ पर्ने सिजन । वैशाख, जेठ घरमा ढोका थुनेर यार्सागुम्बा टिप्न जाने सिजन, बालबच्चा पनि लेकतिर जान्छन् । असार, साउन, भदौ बर्खा महिना बाटोघाटो हिँडिसक्नु हुँदैन । अनि एकैचोटि असोजमा केहीदिन आउँछन् । केहीदिन बसेर दशैं मान्न जान्छन् । अनि विद्यार्थी कसरी स्कुल जाऊन् ?’ अभिभावकहरू प्रश्न गर्थे ।

दुई पक्षको आ–आफ्नै प्रश्न थियो । तर, विद्यालय बन्द किन भयो भन्ने खास निश्कर्ष कसैले खोजेनन् ।

स्कुल जंगल जस्तो बनेको थियो तर शिक्षक बेलाबेला किन झुलिरहन्छन् ? किन अध्यक्षलाई भेटिरहन्छन् भनेर कुनै अभिभावकले पनि चासो राखेनन् ।

विद्यालय बन्द भए पनि उनीहरू अध्यक्षसँग लोलोपोतो मिलाएर विद्यालयको अभिलेख अद्यावधिक गरिरहन्थे । म्हेन्दोहरूको नाममा पाठ्यपुस्तकको रकम आउँथ्यो । छात्रवृत्ति रकम आउँथ्यो । पीसीएफ, मसलन्द सबै आइरहन्थ्यो ।

बाह्रै महिना दश नङ्ग्रा खियाउने गाउँलेलाई यस्ता कुरा थाहा होओस् पनि कसरी ?

पाँच वर्षअघि शिक्षा कार्यालयले विधिवत रुपमा पेमाथाङ बन्द गरिदियो । शिक्षकलाई फिलिम र गपमा सरुवा गरिदियो । विद्यार्थीहरूचाहिँ घरघरमै ।

****

आमा तातो तेल लिएर आइपुगिन् । ‘खै कहाँनेर हो थाप् त ?’

उसले बूढीऔंलाको फेदलाई उत्तानो पारी । उनले खप्न सकुञ्जेलको तातो तेल खन्याएर सेकाइदिइन् । तेलमा भिजाएको टालो बालेर घाउमा डामिदिइन् ।

खुट्टाको दुखाइ टाउकोमा पुग्यो । आत्थाआत्था भन्दै धेरैबेर छटपटाइरही ।

****

पेमाथाङ प्राविमा जम्मा एउटा चारकोठे भवन थियो । कुनैबेला कक्षा तीनसम्म पढाइ हुन्थ्यो । विद्यालय बन्द भएको दुई दशक भइसकेको थियो । भुइँचालोले गारो ह्वाङ्ङै बनाइदियो । भग्नावशेषमा साल्मे उम्रिएको छ । जस्ताले छाएको स्कुलको छानालाई पातीको बुटाले उछिनेको छ ।

गाउँबाट भिरभिरै पश्चिमतिर १५ मिनेट हिँडेपछि स्कुल पुगिन्छ । स्कुल किन यति टाढा एकान्त जंगलमा बनाएका भन्ने म्हेन्दोले बुझेकी छैन । स्कुल नजिक हुनुपर्छ भन्ने थाहा भयो भने नै यो स्कुलचाहिँ टाढा रहेछ भनेर थाहा हुन्छ ।

म्हेन्दोहरू फिलिम गएको भए स्कुल कहाँ हुनुपथ्र्यो ? कस्तो हुनुपथ्र्यो भनेर थाहा पाउँथे । उनीहरू बाउआमाको पछि लागेर कहिलेकहीँ लोक्पा गएका छन् । चुम्चेत गएका छन् । सिब्चेत गएका छन् । न्याक गएका छन् । ती गाउँमा गएर स्कुल के हो, कस्तो हुनुपर्छ भनेर पत्तो हुँदैन ।

पसलवाला साहुले छोरा तेञ्जिङलाई फिलिमको स्कुलमा पढाएको छ । होटल साहुले आप्पालाई गपको स्कुलमा पठाएको छ । उसको साथी डोल्माचाहिँ सामागाउँको गौरीशंकर प्राविमा पढ्छे । यस्तै, चारपाँच घरका छोराहरू कोही–कोही स्याला गुम्बाले सञ्चालन गरेको स्कुलमा, कोही छेकम्पारको बुद्ध प्रा.वि.मा पढ्छन् ।

किन गाउँमा नपढेका हुन् उनीहरू, म्होन्दोहरू बुझ्दैनथे ।

‘हाम्रो स्कुल किन बन्द भएको बा ?’ राति निद्रा नलागुञ्जेल म्हेन्दो सोध्छे ।

‘मास्टर आउँदैनन् । आए पनि स्कुल जाँदैनन् । स्कुल गए पनि पढाउँदैनन्’, म्हेन्दोका बा रिञ्जिनले भनेका थिए, ‘त्यही भएर सक्नेले छोराछोरी काठमाडौं पनि लगेका छन् । इण्डियाको धर्मशाला पनि लगेका छन् । तिमीहरूचाहिँ गोठालो हिँडेका छौं ।’

‘किन नआ’का त मास्टरहरू ?’

‘मास्टरहरूको घर र हाम्रो स्कुल धेरै टाढा छ । आउन चार दिन, जान चार दिन लाग्छ । त्यसैले सितिमिति आउँदै आउँदैनन् । आइहाले भने पनि जिल्लामा मिटिङ छ भनेर गइहाल्छन् । बसेका बेलामा पनि रातभरि रक्सी खान्छन् ।

गाउँका दिदीबहिनीहरूसँग गीत गाएर, रामरमिता गरेर बस्छन् । भोलिपल्ट १० बजेसम्म सुत्छन् । अनि उनीहरूसँग बस्तु चराउन जान्छन् । घाँस दाउरा काट्न जान्छन् । स्कुलै जाँदैनन् । बालबच्चाहरू आधादिनसम्म त स्कुलमै खेलेर बिताउँछन् । अनि घरघरमा जान्छन् ।’

‘ए ।’

‘सँधै सँगसँगै हिँड्दाहिँड्दै हाम्रो गाउँको दिदीबहिनीसँग बिहे पनि गरे । तर, घर जानेबेला लगेनन् । यहीँ छोडेर गए । मुद्धा पनि लागेको थियो कति जना मास्टरहरूलाई ।’

‘ए ।’

‘हामी जिल्लामा गएका बेला शिक्षा कार्यालयमा गएका थियौं । गाउँको स्कुलमा पढाइ भएन । यस्तो यस्तो हुन्छ भनेर जस्ताको तस्तै गुनासो गरेका थियौँ ।

हाकिमले म हेर्न पठाउँछु भनेर मान्छे पठाएका थिए । तर, स्कुल हेर्न आउने मान्छेहरूलाई मास्टरहरूले गाउँ नआउँदै बाटोमै भेटेछन् । उतै रक्सी र मासु खुवाएछन् । रामरमिता गरेछन् । स्कुल एकदम राम्रो छ भनेर उनका हाकिमलाई सुनाएछन् । अनि उनका हाकिमले हाम्रो कुराभन्दा उनकै मान्छेको कुरा पत्याए । हाम्रो समस्या उस्ताउस्तै ।’

****

भूकम्पको पन्ध्र दिनपछि गाउँमा दुईटा हेलिकप्टर आए । एउटा हेलिकप्टरमा गुरु खेम्पो र उनका साथीहरू थिए । अर्को हेलिकोप्टरमा सोलार पाता, ब्याट्रीहरू थिए । प्रत्येक घरलाई राहतस्वरुप चामल, जस्तापाता र सोलार बत्ती बाँड्नका लागि आएका रहेछन् । हेलिकप्टरले सल्यानटारबाट चामल र जस्तापाता खेप गर्दै थियो ।

ठूलो गरामा हेलिकप्टर बसेको थियो । गाउँका नाइकेले सबैलाई हाजिर गराए । पङ्क्तिबद्ध गराए । सबैजनालाई सामान लिन पालोपालो आउन उर्दी गरे ।

‘बुझिलिएँ’ भनेर भरपाइ गराउन हेलिकोप्टरमै आएका एकजना खटिए । टेबलमा भरपाइ र त्यसमाथि कलम थियो । लेख्न नसक्नेका लागि कचौरामा तेल र अँगार फेटेर कालो पदार्थ बनाइएको थियो ।

पहिलो नम्बरमा ४०, ४२ वर्षका जस्ता देखिने एकजना आए । सही गर्न जान्दिन भनेर खिसिक्क हाँसे । सहयोगीले बूढीऔँला समातेर कचौराको कालोमा घोटे र कागजमा ठोसे । दोस्रो नम्बरका १८, १९ वर्षका जस्ता देखिन्थे । उसले पनि कलम समातेनन् । खिसिक्क हाँसे । सहयोगीले कुरा बुझे । अघिकोलाई जस्तै गरे ।

तेस्रो नम्बरको आयो । घरमूली नभएर छोरा पठाएका रहेछन् । अन्दाजी १०, ११ वर्षका थिए । उनले पनि कलमतिर हात बढाएनन् । एवं रीतले महिला, पुरुष, बालक, किशोर, युवा, प्रौढ, वृद्ध सबैले कचौराको ल्याप्चे दलेर जस्तापाता र सोलार बुझे ।

लामा खेम्पोले खुई काढे । शतप्रतिशत ल्याप्चे लागेको कागजको फोटो खिचे र कागजतिर हेरिरहे । किन उनी यति दिक्क भए भन्नेतिर कसैले हेक्का गरेनन् ।
खेम्पोउनले गाउँ छाड्दा पेमाथाङ प्रा.वि. भर्खर खुलेको थियो । यत्तिका वर्षसम्म गाउँका धेरैजना साक्षर भए होलान् भन्ने उनले सोचेका थिए ।

****

कहिल्यै नधोइएको पुक्कपुक्क परेको रातो गाला, नाकमुनि सिँगानको रातै धर्सा । कालो कलिलो आँखा, कहिल्यै नकोरिएको कपाल, कहिल्यै नधोइएको जस्तो देखिने चुवामा पाँच, छ वर्षको जस्तो देखिने एउटा बालकमा खेम्पोको आँखा अडियो ।

आमा पेमा डिकीसँग लुटपुटिएर उभिएको उ आमाको कम्मर जत्तिकै अग्लो थियो । हातमा एउटा कोकोनट बिस्कुट थियो । पसल देखेपछि आमालाई पिरोलेर किनेको थियो त्यो ।

उ बिस्कुट नखाई आमाको आम्तुङमा लुटपुट गरिरहेको थियो ।

आमाले भर्खरै भरपाइमा ल्याप्चे लगाएको सम्झे । गाउँमा स्कुल चलेको भए आफ्नो छोरालाई शिक्षादीक्षा दिनका लागि पक्कै पनि उनले भर्ना गरिदिन्थिन् ।

छोरा पास हुँदै जान्थ्यो । रातदिन मेलापातमा घोटिएर भए पनि ती आमाले ती छोरालाई पढ्न सकेजति, पढ्न चाहे जति पढाउँथिन् होला ।

प्रकृतिको हराभरा काखमा हुर्किएको केटो, हिमालबाट बगेको चिसो पानी, हिमाली बतासले पाकेको अन्न, हिमाली झारबुटी खाएर हुर्किएको केटो इमान्दार हुन्थ्यो । जाम्बलाको वरदान र आफ्नो भाग्यले राज्यको कुनै ठूलो पदमा पुग्नसक्थ्यो होला ।

तर, कुटो, कोदालो, हलो चलाउन सक्ने भएपछि उ पनि आफ्नो बाउले जसरी नै खेतबारी खनजोत गर्न थाल्नेछ । भिरपाखामा दगुर्दै गाईबस्तु चराउन जानेछ । तन्नेरी भएपछि बिहे गर्नेछ । अनि त्यसैगरी जीवन बिताउनेछ, जसरी उसका हजुरबुबाले बिताए, बाले बिताए । उनका आँखाभरि बा, आमालाई पछ्याउँदै आएका बग्रेल्ती बालबालिका थिए । सबैको भाग्य सम्झिए । भविष्य सम्झिए ।

खेम्पोका आँखा पोले । परेला आँसुले भरिए । नाकमा सिँगान भरिएको जस्तो भयो । अरूले देख्लान् भन्ने लाजले हत्तपत्त रुमाल झिकेर पुछे ।

****

‘हाम्रो मात्र होइन, यो स्यार भोट, कुताङ भोट सबैतिर यस्तै हो छोरी’ रिञ्जिनले सुनाउँदै गए । खुट्टामा आमाले ओखती लगाइदिएकाले सञ्चो मानेर ऊ बुबाका कुरा सुन्दै आनन्दले सुत्दै थिई ।

‘न्याकको स्कुलमा पनि सुरुसुरुमा पढाइ राम्रो थियो । पछिपछि हाम्रो जस्तै भएर बन्द भयो । पछि त्यहाँका बालबालिका तीन दिनको बाटो टाढाको साम्दोमा जान थाले । साम्दोमा पनि हाम्रो जस्तै भयो । अहिले एकदिनको बाटो टाढा गपको स्कुलमा जान्छन् । कोही पढाइ छोडेर गोठालो जान्छन् । मेलापात, घाँसदाउरा गर्छन् ।

छेकमकोे स्कुलमा पनि केटाकेटी छैनन् । त्यहाँका मान्छे हाम्रो गाउँका जस्ता होइनन्, अलिक धनी छन् । त्यही भएर कसैले जिल्लामा लगेर पढाएका छन् । कसैले काठमाडौं लगेर पढाएका छन् । धर्मशालासम्म पनि पढ्न पुगेका छन् । लामाले पनि पढाइदिएको छ । गाउँमा बालबालिका नै छैनन् ।

अझै सुन । चाइना बोर्डरनेर छुले र निले भन्ने दुईवटा गाउँ छ । त्यहाँ पहिले एउटा स्कुल थियो । हाम्रो पेमाथाङ जस्तै भयो । हाम्रो गाउँमा चाहिँ बाहिरका मात्र मास्टर भएर पढाइ भएन, त्यहाँचाहिँ गाउँकै मास्टर भएर । सबै मास्टरको होटल छ । होटरभरि टुरिस्ट आउँछन् । स्कुल किन जान्थे । अनि मास्टर नभएपछि विद्यार्थी मात्र किन स्कुल जाने ? बाहिरका मास्टर गाउँमै नआउने, गाउँका मास्टर स्कुलमै नजाने ।

अरू पनि सुन । स्यो गाउँको स्कुल पनि बन्द छ । ल्ही, क्वाक, प्रोक, नाम्रुङ, छाक, बिही, क्य्राकको स्कुल पनि बन्द छ । बिही गाउँको स्कुल त भत्काएर त्यही ठाउँमा हेलिप्याड बनाएका छन् । बालबच्चा जति लामाले चोभार, फर्पिङका गुम्बाहरूमा लगेर पढाउँछन् । त्यता गाउँमा जाने हो भने कुनै घरमा पनि बालबच्चा देखिँदैन ।

म्हेन्दो, अरू पनि सुन्छौ ? म्हेन्दो, ए म्होन्दो !

म्हेन्दो फ्वाँ फ्वाँ गर्दै निदाइसकेकी थिई ।

इमेल : [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment