Comments Add Comment

वातावरणीय परिवर्तनले निम्त्याएकोे महामारी

भाइरसले परिवर्तनशील वातावरणमा आफूलाई अनुकुलित बनाइराख्नका निम्ति नयाँ–नयाँ गुणहरु भएका भाइरसका प्रजातिहरुलाई उत्पादन गर्छ । कोरोना भाइरसलाई वातावरणीय परिवर्तनले सजिलै उत्परिवर्तन (म्युटेसन) गराउने हुँदा बेलाबेलामा यसका नयाँ–नयाँ प्रजातिको (मर्स, सार्स कोभ १, सार्स कोभ २) विकास भई यिनीहरुले विभिन्नखालका श्वास–प्रश्वास सम्बन्धी रोगहरु लगाउने र मानिसको मृत्युसम्म गराउने देखिएको छ । वातावरण परिवर्तनले भाइरसको बंशानुगत तत्वमा उत्परिवर्तन गराउँछ, जसले भाइरसको विविधिकरणमा सहयोग गर्छ ।

हालैका दशकहरुमा अनेकौं खालका रोगहरु जनावरबाट आयातीत (जूनोटिक) भई मानव समुदायमा महामारीको रुप लिएको पाइन्छ । जसमा इबोला, बर्ड फ्लु, स्वाइन फ्लु, मर्स फ्लु, सार्स फ्लु, जिका लगायत हाल महामारीको रुप लिएको कोभिड १९ सम्म आउदा हजारौं मानिसहरुको मृत्यु हुनुका साथै अर्बौं आर्थिक क्षति व्योहोर्न बाध्य बनाएको छ । त्यसैले, यसका बारेमा गहिरो अध्ययन, अनुसन्धान गर्न आवश्यक देखिएको छ ।

यस परिवेशमा जलवायु परिवर्तन, पारिस्थितिक प्रणालीको असन्तुलनसँगै भाइरसमा हुने उत्परिवर्तन र संक्रमणका लागि अनुकुलित वातावरणका बारेमा चर्चा गर्न आवश्यक देखिएको छ ।

जन्मँदै लिएर आएको रोग प्रतिरोधात्मक शक्ति व्यक्ति–व्यक्ति, जाति–जातिवीच फरक–फरक हुन्छ । यसरी प्रतिरोधात्मक शक्ति प्राकृतिक रुपमा प्राप्त गरेको शारीरिक, जैविक तथा रसायनिक विविधता नै जिम्मेवार हुन्छन् ।

जनावरहरु र मानिस फरक–फरक प्रजाति हुन् त्यसैले बंशाणुगत तत्वको बनावट फरक–फरक हुनाले साधारणतया मानिसलाई लाग्ने रोगहरु जनावरमा सर्दैनन् जस्तैः टाइफाइड, हैजा, भिरिङ्गी आदि । यसरी नै जनावरलाई लाग्ने रोगहरु साधारणतया मानिसमा लाग्दैनन् । यो रोग प्रतिरोधात्मक शक्तिलाई स्पेसिज (जातीय) इम्युनिटी भनिन्छ । तर, प्रकृतिको यस नियमका विपरीत जनावरबाट आयातीत रोगहरुको महामारीले विश्व आक्रान्त भइरहेको वर्तमान अवस्थामा मानिस जन्मँदै जातीय रोग प्रतिरोधात्मक शक्ति हुँदाहुँदै यस्ता रोगहरुबाट के कारणले र कसरी संक्रमित भैरहेका छन् भन्नेबारे विवेचना गर्न आवश्यक देखिएको छ ।

धेरैजसो अध्ययनका अनुसार विभिन्न भौगोलिक अवस्थितिमा भएको जलवायु परिवर्तनसँगै जनावरबाट भाइरस अनुकुलित वातावरण सिर्जना भई मानिसमा संक्रमण फैलन सक्ने जनाएका छन् । जस अन्तर्गत, क्रमशः

· जनावर आश्रयस्थल (होस्ट) मा भाइरसको वितरणमा घटबढ हुने,

· भाइरसको गुणमा परिवर्तन आउने,

· फैलावटको तरिकामा परिवर्तन आउने र

· जनावरबाट मानिसमा अनुकुलतामा वृद्धि हुँदै जानु, आदि पर्दछन् ।

त्यसै गरी विश्वव्यापी तापमानमा भएको वृद्धि, जनसंख्यामा भएको एकनाशको वृद्धिसँगै सामाजिक तथा आर्थिक विकासको घट्दो दरका कारण जनावरबाट मानिसमा रोग सर्ने र त्यसले महामारीका रुप लिने सम्भावना १.६३ गुणाले वृद्धि भएको अध्ययनहरुले देखाउँछन् ।

डा. इन्दिरा पराजुली बराल

हाम्रो वातावरणमा कोरोना भाइरस जताततै रहेका हुन्छन् । सन् १९३७ मै पहिलो कोरोना भाइरस पत्ता लागेको थियो । मानिसलाई रुघाखोकी लगाउने भाइरसमध्ये राइनो भाइरसपछिको दोश्रो कारण कोरोना भाइरस हो । कोरोना भाइरसले रुघाखोकी बाहेक विरलै मात्रामा अन्य सिकिस्त हुने रोगहरु लगाउँछन् । थोरैले मानिसमा र धेरैले जनावरमा (क्यामेल, बिरालो, मूसा, बंगुर, गाइवस्तु, कूकूर) रोग लगाउने गर्छन् । पहिलो मानिसमा संक्रमण गराउने कोरोना भाइरस सन् १९६० को दशकमा रुघाखोकीको विरामीबाट पत्ता लगाइएको थियो । विश्वव्यापी रुघाखोकीमध्ये १० देखि ३० प्रतिशत कोरोना भाइरसको कारणले हुने गर्छ ।

कोरोना भाइरसको आश्रयस्थल जनावर हो र यसले जनावरलाई संक्रमण गर्दछ । यस प्रकारको संक्रमण साधारणतया जनावरबाट जनावरमा सर्ने गर्दछ । तर, जलवायु परिवर्तनको असरसँगै पछिल्लो समयमा आएर यी भाइरसहरुमा उत्परिवर्तन हुनाले जनावरबाट मानिसमा सर्ने, मानिस बाट मानिसमा सर्ने र यसको कारण मानिसलाई मृत्युसमेत गराउने गर्दछ । सन् २००३ मा फैलिएको सार्स रोग सार्स कोभ १ नामक कोरोनाको नयाँ प्रजातिले गराउँदा २९ देशका ८०९६ मानिसमा संक्रमण फैलिएको र जसमध्ये ७७४ जनाको (१० प्रतिशत) को मृत्यु भएको थियो । त्यसै गरी सन् २०१२ मा मर्स रोगका कारण २७ देशका २४९४ संक्रमित भई ८५८ (३० प्रतिशत) जनाको मृत्यु भएको थियो ।

विगतमा फ्लु भाइरसझैं फैलिएका मर्स कोभ र सार्स कोभ भाइरसहरु जुन अरु थाहा भएका भाइरस भन्दा वंशानुगत वस्तुमा फरक भएका र सार्स कोभ भाइरस सिभेट प्रजातिका बिरालोबाट मानिसमा पहिलोपटक सरेको साथै चमेराहरुमा समेत यसको मुहानका रुपमा रहेको पाइएको थियो । मर्स कोभ पनि ऊँटबाट मानिसमा सरेको पाइएको छ । हाल देखापरेको कोभिड १९ भाइरस चमेरा, प्याङगोलिन जस्ता स्तनधारी जनावरबाट मानवमा सरेको हुनसक्ने कुरा हालसम्मको वैज्ञानिक अध्ययनले जनाएको छ ।

यसै सन्र्दभमा सन् २०१६ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (यूनेप) ले जनावरबाट आयातीत भाइरसको विश्वव्यापी महामारीलाई विशेष मुद्दाको रुपमा लिएको थियो । मानिसमा देखिएका नयाँ खालका संक्रमिक रोगहरु मध्ये ७५ प्रतिशत रोगहरु वास्तममा जनावरमा हुने रोगहरु भएता पनि मानिसमा आयातीत भई रोग लगाउने हुनाले यस्ता रोगहरुको सम्बन्ध कुनै न कुनैरुपले पारिस्थितिक प्रणालीको अवस्थासँग जोडिएको हुन्छ ।

मानव क्रियाकलाप र पारिस्थितिक प्रणाली

पृथ्वीमा मानव जीवनको उत्पतिसँगै विभिन्न किसिमका असंख्य जीव, विशाक्त जीवाणु एंव परजीवीहरु अस्तित्वमा रहेका छन् । प्रकृतिमा हजारौं प्रकारका पारिस्थितिक प्रणाली रहेका छन् । जस्तै– जल, जमीन, जंगलमा फरक–फरक प्रकारका पारिस्थितिक प्रणाली पाइन्छन् र यी एक आपसमा अन्तरनिहित हुन्छन् र साधरणतया सन्तुलित अवस्थामा रहेका हुन्छन् ।

कोइलाजन्य इन्धनको अत्याधिक प्रयोग, वनजंगल फडानी, अत्याधिक भौतिक संरचना विस्तार, व्यापक औद्योगिकीकरण लगायतका प्रकृतिमाथिको बढ्दो दोहनका कारण यस प्रकारका पारिस्थितिक प्रणालीमा असन्तुलनका कारण बेला–बेलामा नयाँ–नयाँ रोगहरुको महामारी फैलिएको पाइन्छ ।

यूनेपको प्रतिवेदनका अनुसार जनावरबाट प्राकृतिकरुपमा मानिसमा सर्ने संक्रामक जिवाणुहरु अवसरवादी र फस्टाउनेखालका हुन्छन । जब वातावरण, जनावर, मानव आश्रयस्थलमा परिवर्तन आउँछ, त्यसैले स्वयम् जिवाणुहरुमा पनि परिवर्तन आउँछ ।

बितेको शताब्दीमा भएको अत्याधिक जनसंख्या वृद्धि र जैविक विविधता एवं पारिस्थितिकीय प्रणालीमा भएको ह्राससँगै भएको परिवर्तनले मानवका लागि हानिकारक जिवाणुहरु जनावरबाट मानिसमा सर्न सक्ने अवसर प्रदान गर्‍यो । औषतमा प्रत्येक ४ महिनामा यस प्रकारका संक्रामक रोगहरुको उत्पती हुने गरेका छन् ।
वातावरणीय परिवर्तन

मानवीय क्रियाकलापले नै वातावरणमा परिवर्तन गर्दछ । मानवस्य असीमित आवश्यकताहरुलाई पूर्ति गर्नका निम्ति जमिनको प्रयोगलाई बदलिरहेको हुन्छ । जस्तै– जंगल फडानी गरी कृषिभूमिमा परिणत गर्ने, कृषियोग्य जमिनमा वस्ती विस्तार, औद्योगिक विस्तार, भौतिक संरचना विस्तार, आदिका कारण जंगली जनावरको बासस्थानसमेतलाई टुक्राएर मानव भिडले छोप्दै जान्छ । जसले गर्दा एकातिर मानव र जनावरलाई छुट्याउने प्राकृतिक छेकबार (बफर क्षेत्र) नाश हुँदै जान्छ भने अर्कातर्फ जनावरको बासस्थान पनि अस्थित्वविहीन हुँदै जान्छ । यसरी प्राकृतिक बफर क्षेत्र नाश हुँदै जाँदा मानव र जनावर बीचको निकटतम दुरी एंव अनुकुलित वातावरणका कारण संक्रमण गराउने जिवाणु सजिलै जंगली जनावरबाट मानिसमा सर्ने अवसर मिल्छ ।

साधारणतया अत्यधिक मात्रामा वायुमण्डलमा उत्सर्जन भएका हरित गृह ग्यासहरुको कारणले जलवायु परिवर्तन हुने क्रमलाई तिब्रता दिएसंगै वातावरणीय असरलाई गम्भीर बनाएको छ । यसरी तापमान, आद्रता, मौसममा भएको परिवर्तनले गर्दा जिवाणु अनुकुलित वातावरणको सृजना हुन पुगी जिवाणु सक्रिय हुन सक्छ ।

विगतका घटनाक्रमले पनि के प्रमाणित गर्दछ भने यस प्रकारको निरन्तर भएको जलवायु परिवर्तनसँगै माहामारी बारम्बार दोहोरिने क्रम बढिरहने छ । तिब्र रुपमा भएको जलवायु परिवर्तनसँगै न्यून स्रोतमा लुछाचुँडीको चुनौती थपिएसँगै जनावरबाट आयातीत रोगहरु फैलने दरले तिब्ररुप पाउने खतरा थपिँदै गएको छ ।

जीवाणुको आश्रयस्थल (होस्ट) मा परिवर्तन

दोश्रो विश्वयुद्धपछिको विश्वव्यापी रुपमा भएको विकाससँगै बसाइँ सराइ, शहरीकरण, खानपानमा भएको परिवर्तन, व्यापारीकरण जस्ता मानवीय क्रियाकलापहरुको असरले मानव तथा जनावरमा आश्रित जिवाणुहरुमा समेत परिवर्तन हुँदै आएको छ । मुख्य गरी विकासोन्मुख देशहरुको आर्थिक वृद्धिसँगै भएको शहरकेन्द्रित बसाइँ सराइ बढेको छ । साथै बढ्दो जनसंख्याको कारणले शहरमा मासु तथा दूधजन्य पदार्थको माग बढ्दो छ ।

हाल विश्वमा ५० बर्ष अगाडि भन्दा ४ गुणा मासु उत्पादन हुने गर्दछ भने दूध उत्पादन २ गुणाले बढेको देखिन्छ । जसमध्ये बंगुरको मासु बढि प्रख्यात छ भने कुखुराको उत्पादन अत्याधिक बढिरहेको छ । एकजना व्यक्तिले औसतमा बार्षिक ४३ के. जी मासु खाने तथ्यांकले जनाएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म पुग्दा यो दर ४५.३ के. जी. प्रति व्यक्ति पुग्ने आंलन गरेको छ । यसका कारण शहरका आसपासका क्षेत्रहरुमा खेतीपाती र पशुपालन व्यवशाय बढेसँगै जनावरबाट आयातीत रोगहरुको जोखिम बढ्दै गएको छ । किनकि घरपालुवा पशुपंक्षीको बढ्दो उत्पादनले हरितगृह ग्यासहरुको उत्सर्जनसँगै बढ्दै गएको विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ्ग) ले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छ ।

पशुपालन व्यवसायले वन्यजन्तु तथा मानव संक्रमण वीच इपिडेमिओलोजिकल पुलको भूमिका खेल्छ । यसको ज्वलन्त उदाहरण एभियन इन्फ्लुन्जालाई लिन सकिन्छ, जहाँ यसको भाइरसले पहिला जंगली चराबाट घरपालुवा कुखुरा हुँदै मानिसमा संक्रमण फैलाएको थियो । जंगली जनावरको मासु खाने क्रमसँगै जनावरबाट सिधै मानिसमा संक्रमण हुने सम्भावना बढेर जान्छ । जस्तै– सिभेट बिरालोको मासु खादा सार्स, गोरिल्लाबाट इबोला, आदिको संक्रमणलाई लिन सकिन्छ ।

मनिसमा लाग्ने करिव ६० प्रतिशत संक्रामक रोगहरु जनावरबाट आयातीत छन् भने यसको करिव ७५ प्रतिशत नयाँ संक्रामक रोगहरु पर्दछन् । जनावरबाट आयातित रोगहरु मानवका क्रियाकलापमा प्रत्यक्ष सरोकारित हुन्छन् । पश्चिम अफ्रिकाका जंगल विनासका कारणले जंगली जनावरहरु मानव वस्तीको सम्पर्कमा आएकाले इबोला भाइरस माहामारीका रुपमा फैलिएको थियो । त्यसै गरी, एभियन इन्फ्लुन्जा अत्याधिक कुखुरा पालनसँगै देखा पर्‍यो भने निपह भाइरस मलेसियामा बढ्दो सुंगुर पालन तथा फलफूल उत्पादनका कारण फैलन पुग्यो ।

संक्रामक जीवाणुहरुमा परिवर्तन

जब वातावरण, जनावर, मानव आश्रयस्थलमा परिवर्तन आउँछ त्यसले क्रमिकरुपमा स्वयं जिवाणुहरुमा पनि परिवर्तन ल्याउँछ । संक्रामक जिवाणुहरुमा हुने वंशाणुगत वस्तुको उत्परिवर्तनले नयाँ आश्रयको प्रयोग गरी नयाँ वातावरणमा बाँच्न सक्ने बनाउँछ । यसरी जिवाणुहरुलाई अनुकुलित वातावरण सिर्जना भएसँगै जनावरबाट मानिसमा र मानिसबाट मानिसमा जिवाणुहरुको संक्रमण फैलिन गई महामारीको रुप लिने गर्छ ।

पारिस्थितिक प्रणाली (इकोसिष्टम ) को अवस्था र मानवीय स्वास्थ्य

विविध प्रजातिहरुको रोग फैलावट रोक्न पारिस्थितिक प्रणालीको अन्तरनिहित लचकता र अनुकुलित वातावरणले सहयोग गरिरहेको हुन्छ । जति बढी जैविक विविधता भयो, उति नै जिवाणुहरुलाई रोग फैलाउन गाह्रो हुन्छ । तथापि, मानविय क्रियाकलापका कारण घट्दै गएको जैविक विविधताले गर्दा खल्बलिएको पारिस्थितिक प्रणालीका कारण यस प्रकारका घातक जिवाणुहरुको संख्या वृद्धिका लागि अनुकुलित वातावरण सिजना हुँदै जान्छ । जस्तै– वंशानुगत विविधताले जनावरलाई प्राकृतिकरुपमै रोगसँग प्रतिकार गर्ने क्षमता प्रदान गरेको हुन्छ ।

तर, अत्याधिक मात्रामा घरपालुवा जनावर पाल्दा सबै बथानमा एकै किसिमको वंशानुगत विकासको सम्भावना बढी हुन्छ । जसका कारण जंगली जनावरबाट जिवाणुहरु घरपालुवा जनावरमा सर्ने दर बढ्दछ । त्यसै गरी जति विविधता बढि भयो, त्यति नै रोग सार्ने माध्यमको नियमित श्रोतका रुपमा आश्रयस्थल कम प्रभावकारी हुने र कम विविधतासँगै नियमित स्रोतको आश्रयस्थलले बढी प्रभावकारी रुपमा काम गर्छ । साथै यसको रोग सार्ने क्षमता समेतमा वृद्धि हुँदै जान्छ । वेस्ट नाइल भाइरस र लाइम रोग यसका उदाहरण हुन् ।

त्यसरी नै वातावरणमा भएका मानवलाई हानि पुर्‍याउने किराहरुलाई चमेरोले खाइदिएर पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न ठूलो भूमिका खेलेको हुन्छ । खेतीयोग्य जमीन बढाउने क्रममा जंगल विनास गरिएसंगै चमेरोको बासस्थान नाश हुन पुगी चमेरोसँग सम्बन्धित भाइरस मानवसम्म आइपुग्यो र यसले संक्रमण गराउन थाल्यो ।

यसरी सन्तुलित पारिस्थितिक प्रणालीले मानव स्वास्थ्य र विकासका लागि अहम भूमिका खेलेको हुन्छ । कहिले, कहाँ र कसरी महामारी फैलन्छ भन्ने अनुमान लगाउन कठिन भएता पनि हालसम्म विश्वमा भएका महामारीको प्रवृत्तिलाई हेर्दा निरन्तर भएको जलवायु परिवर्तनसँगै यस प्रकारका महामारीहरु पटक–पटक नहोलान् भन्न सकिँदैन ।

आज विश्वको बढ्दो जनसंख्या वृद्धिदरसँगै हामीले प्रकृतिलाई पनि बचावट गर्दै प्रकृति र मानवको बिग्रँदो सम्बन्धलाई आधारभूतरुपमै पुनःजागरण गर्न जरुरी देखिन्छ । जसका लागि जनावरबाट उत्पति भएका मानिसलाई सर्ने रोगहरुको जड कारण र मानवका कारणले पारिस्थितिक प्रणालीमा ल्याएको असन्तुलनलाई संवोधन गर्न अति आवश्यक देखिएको छ । यसका लागि मानव, जनावर र वातावरणीय स्वास्थ्यवीचको सम्बन्धलाई बुझी अघि बढ्न सके यस प्रकारको महामारी फैलनबाट रोक लगाउन सकिन्छ ।

अन्त्यमा,

विश्वव्यापीरुपमा फैलिएको वर्तमान महामारीबाट उन्मुक्तिपश्चात पुनः हुन सक्ने यस प्रकारका महामारीबाट बच्न पारिस्थितिक प्रणालीलाई सन्तुलिन राख्न सहयोग गर्ने दिगो योजना तथा यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको छ । जसले गर्दा प्रकृतिले मानव अस्थित्वलाई बचाइराख्न सदा सहयोग गर्नेछ । स्मरण रहोस्, प्रकृतिसँग मानवको सम्बन्ध सघनरुपमा जोडिएको छ, त्यसैले यदि हामीले प्रकृतिलाई जोगाउनबाट चुक्यौं भने प्रकृतिले पनि हामीलाई जोगाउन सक्दैन ।

यसरी विगतमा पटक–पटक भएका महामारीहरु जलवायु परिवर्तनले गर्दा वातावरणमा आउने परिवर्तनको प्रभाव भएकाले हाल फैलिएको कोभिड १९ को महामारी जस्ता थप नयाँ प्रकारका भाइरसजन्य महामारीहरु भविश्यमा अझ बढेर जाने संभावना देखिएको छ । त्यसैले, आधारभूत स्वास्थ्य सेवाहरुलाई मजबुद बनाउँदै यस महामारीलाई अवसरका रुपमा उपयोग गरि भविष्यका महामारीहरुसंग जुध्न सक्ने आधारशिला तयार गर्ने एक दिगो तथा दूरदर्शी योजनाको आवश्यकता देखिन्छ । साथै दिगो आर्थिक तथा सामाजिक विकासका लागि वातावरणीय पक्षलाई विशेष महत्वका साथ ध्यान पुर्याउन जरुरी देखिन्छ ।

(वातावरण स्वास्थ्य विज्ञ डा. पराजुली नास्टकी सह प्राज्ञ हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment