
कुनैबेला उच्च रक्तचाप बुढ्यौलीको रोग भनिन्थ्यो । अहिले युवा वा किशोरपुस्ता समेत उच्च रक्तचापबाट ग्रस्त छन् । खासगरी खराब जीवनशैली एवं खानपानको कारण उच्च रक्तचापले युवापुस्तालाई सताउँदै गएको छ ।
अनियमित दैनिकी, शारीरिक निक्रियता, चिल्लोचाप्लो खानेकुरा, मदिरा सेवन, तनाव आदिका कारण उच्च रक्तचापले धेरैलाई गाँजेको छ। त्यो त वंशानुगत रुपमा वा अन्य शारीरिक समस्याले पनि उच्च रक्तचाप निम्त्याउँछ।
उच्च रक्तचाप के कारणले भएको हो ? सोहीअनुसार यसको उपचार खोज्नुपर्छ। धेरैजसो अवस्थामा खराब जीवनशैली नै उच्च रक्तचापको कारण भएकाले जीवनशैली बदल्नु नै पहिलो शर्त हो । यसमा सुत्ने, उठ्ने नियमित तालिका, सन्तुलित खानपान, योग, ध्यान र तनावमुक्त जीवन अपनाउनुपर्छ ।
उच्च रक्तचापको अवस्था हेरेर चिकित्सकले जीवनशैली परिवर्तनसँगै औषधि सेवन गर्नुपर्ने सुझाव दिन सक्छन् । तर, औषधि सेवनबारे समाजमा केही भ्रम पनि छ। उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर सेवन गर्नुपर्ने जस्ता कुराले भ्रम पैदा गरेको छ । त्यसैले उच्च रक्तचाप भएर पनि कतिपयले औषधि सेवन गर्दैनन् । यसरी उच्च रक्तचाप नियन्त्रण गर्न नसक्दा त्यसले शरीरका अन्य अंगमा गम्भीर हानि पुर्याउन सक्छ ।
मिर्गौलामा क्षति
मिर्गौलाले हाम्रो रगतबाट दूषित पदार्थहरू अर्थात् टक्सिनलाई बाहिर निकालिन्छ । उच्च रक्तचापका कारण मिर्गौलामा दबाब बढ्छ र रक्तनली साँघुरो र मोटो हुन्छ । यसबाहेक मिर्गौलामा रगत छान्ने कोषहरूलाई पनि यसले प्रभावित बनाइदिन्छ ।
जसकारण मिर्गौलाले आफ्नो काम ठिकसँग गर्न सक्दैन र रगतमा दूषित पदार्थ जमिरहन्छ । जसले समस्या बढ्दै गएर मिर्गौला खराब हुने र अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।
मुटुरोगको खतरा बढ्छ
उच्च रक्तचापको कारण सबैभन्दा धेरै खतरा हाम्रो मुटुलाई हुन्छ। जब मुटुलाई साँघुरो भइसकेको रक्तनलीका कारण पर्याप्त अक्सिजन मिल्दैन त्यसपछि टाउको दुख्न सुरु हुन्छ । मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।
त्यस्तै रक्तनली धेरै साँघुरो भएर यदि रगतको बहाब नै रोकियो भने मानिसलाई हार्टअट्याक पनि हुनसक्छ ।
मस्तिस्कमा प्रभाव
कम उमेरको मानिसलाई उच्च रक्तचापको समस्या स्मरणशक्तिको हिसाबले पनि खतरनाक हुनसक्छ । उच्च रक्तचापको समस्या भएका मानिसको स्मरणशक्ति गुम्न पनि सक्छ जसलाई डिमेन्सिया भनिन्छ ।
उच्च रक्तचापको कारण समय बित्दै जाँदा रोगीको मस्तिस्कमा रगतको आपूर्ति कम हुन्छ र मानिसको सोच्ने सम्झिने शक्ति घट्दै जान्छ । उच्च रक्तचापको कारण हिप्पोकेम्पसमा रगतको सञ्चार ठिक प्रकारले नहुने भएकाले कैयौं स-साना स्ट्रोकको आशंका धेरै हुन्छ । यस कारणले उच्च रक्तचापका बिरामीहरूमा स्मरणशक्तिसँग जोडिएका समस्याहरूको खतरा धेरै हुन्छ ।
आँखा पनि प्रभावित हुन्छ
उच्च ब्लडप्रेसरको समस्याले मानिसको आँखालाई पनि प्रभावित बनाउँछ । उच्च रक्तचापका कारण मानिसको आँखाको ज्योति कम हुँदै जान्छ जसले उनीहरू धमिलो देख्न थाल्छन् । यसैले उच्च रक्तचापको समस्या भएका बिरामीलाई चिकित्सकले आँखाको नियमित जाँच गर्ने सल्लाह दिने गर्छन्।
प्रतिक्रिया 4