+

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

२०८२ असार  ६ गते १२:२९ २०८२ असार ६ गते १२:२९
Shares
उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा २० देखि २५ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ।
  • रक्तचाप सामान्य १२०/८० मिलिमिटर हो, १४०/९० भन्दा माथि भए चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।
  • उचित खानपान, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, व्यायाम गर्ने , तौल नियन्त्रण गर्ने साथै धूम्रपान तथा रक्सी सेवन नगर्दा उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

अहिले उच्च रक्तचाप नेपालीहरूमा एक मुख्य स्वास्थ्य समस्याका रुपमा देखिन्छ। हाम्रो परिवार, टोल-छिमेक तथा चिनेजानेका धेरैमा यो समस्या रहेको हामीले देख्ने गर्छौं । उच्च रक्तचापले हृदयघात, मस्तिष्कघात, मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्याउछ ।

नेपालमा ३५- ४० वर्षको उमेर पार गरेका करिब २० देखि २५ प्रतिशत सम्ममा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।

के हो उच्च रक्तचाप ?

रक्तचाप भनेको मुटुबाट धमनीहरूमा रगत प्रवाह हुने बल हो । जब रक्तचाप उच्च हुन्छ, रगत धमनीहरूमा धेरै बलपूर्वक बग्छ । सामान्य अवस्थामा रक्तप्रवाह हुँदा हाम्रो रक्तनलीहरूमा एक तहको कडापन हुन्छ, त्यो कडापन बढेर जाँदा रक्तचाप बढ्छ । यदि समान्य अवस्थामा भन्दा रक्तनलीमा कडापन घट्यो भने रक्तचाप घट्छ ।

रक्तनलीहरु कडा भएपछि त्यही तहमा मुटुले रगत शरीरमा पम्प गर्नुपर्ने हुन्छ । यसरी रक्तचाप बढ्छ । यस्तोमा उच्च रक्तचापका लागि नसाको कडापन घटाउने औषधि प्रयोग गर्ने हो ।

अर्को भनेको मुटुको चाल धेरै छिटो चल्दा पनि रक्तचाप बढ्छ । यो समस्यामा मुटुको चाल ठिकमा ल्याउन औषधि चलाइन्छ ।

खास गरी रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी (एमएम/एचजी) हुनु समान्य मानिन्छ । माथिल्लो रक्तचाप १३० भन्दा बढी र तल्लो रक्तचाप ८५ भन्दा माथि हुनुलाई उच्च रक्तचाप भनिन्छ । यदि रक्तचाप १४०/९० माथि छ भने चिकित्सकले औषधि रिफारिस गर्छन् ।

हाम्रो रक्तचापलाई नियन्त्रणमा राख्न औषधि सेवनका साथै घरेलु उपायहरू पनि अपनाउन जरुरी छ । औषधि सेवन मात्रै गर्ने तर रक्तचाप बढाउने कारकलाई बेवास्ता गरेमा नियन्त्रणमा आउन सक्दैन ।

१.खानपान

उच्चरक्तचाप नियन्त्रणका ध्यान दिनुपर्ने मध्येको एक मुख्य कुरा हो खानपान । स्वस्थ आहार र सन्तुलित खानपानले रक्तचाप व्यवस्थापनमा सहयोग गर्छ । फलफूल, तरकारी, प्रशस्त खाने गर्नुपर्छ । चिल्लोयुक्त खानेकुरा, दुग्धजन्य उत्पादन, धेरै बोसोयुक्त मासु नखाने, धेरै नुन भएका खानेकुरा, बजारमा प्रशोधित खानेकुरा खानुहुँदैन । उच्च चिनीयुक्त कोल्ड्रिङ्क्सहरू खान छाड्दा रक्तचाप नियन्त्रणमा मद्दत मिल्छ ।

कम चिल्लो मासु, माछा र नट्सहरु खाने ।

२.तनाव व्यवस्थापन

उच्च रक्तचाप नियन्त्रणका लागि तनाव व्यवस्थापन एकदमै आवश्यक छ । तनावपूर्ण दैनिकी भइरहँदा रक्तचाप बढ्ने हुन्छ । तनाव आफूले चाहेर हुने होइन तर आफ्ना कामहरूको सही व्यवस्थापन गर्न सक्यो भने धेरैजसो अवस्थामा यसलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले आफ्नो काममा तनाव नहुने तथा कम तनाव हुने परिस्थिति बनाउनु आवश्यक छ । तनाव कम गर्नका लागि  योगा, ध्यान पनि गर्न सकिन्छ ।

३.पर्याप्त निद्रा

रक्तचाप नियन्त्रणमा राख्नका लागि पूरा निद्रा सुत्नु आवश्यक छ । एक वयस्क व्यक्तिले रातमा कम्तीमा 7-8 घण्टा सुत्नु आवश्यक छ । पूरा निद्रा सुत्दा तनाव हर्मोन(कोर्टिसोल) को स्तर घटाउँछ, जसले रक्तचापलाई स्थिर राख्न मद्दत गर्छ ।

राम्रो निद्राले मुटु र रक्तनलीहरूलाई आराम दिन्छ, जसले रक्तचाप कम गर्न र हृदयाघातको जोखिम घटाउन सहयोग गर्छ । निद्रा नपुग्दा यसले चिन्ता बढाउँछ, जसले रक्तचापलाई असर गर्छ । गहिरो निद्राले मानसिक स्वास्थ्य सुधार्छ र रक्तचाप नियन्त्रणमा राख्छ । निद्राले शरीरको पाचन प्रक्रिया सन्तुलनमा राख्छ, जुन उच्च रक्तचाप व्यवस्थापनका लागि आवश्यक छ ।

४. व्यायाम

शरीरको समग्र स्वास्थ्यका लागि व्यायम महत्वपूर्ण छ । व्यायामलाई मुटु स्वस्थ राख्ने मुख्य उपायका रुपमा पनि लिइन्छ । नियमित व्यायामले रक्तचाप व्यवस्थापन, मुड, शक्ति र सन्तुलनमा फाइदा पुर्‍याउँछ । मोटोपना घटाउन, कोलेस्टेरोलको नियन्त्रण गर्न पनि व्यायामले काम गर्छ । तनाव व्यवस्थापनमा पनि व्यायमले काम गर्ने अध्ययनहरूले देखाएका छन् ।

तर यसमा ध्यान दिनुपर्ने कुरा के हो भने उच्च रक्तचाप कायम रहेका बेलामा व्यायम गर्न हुँदैन ।

उच्च रक्तचाप भएका बिरामीले रक्तचाप घटाउने औषधि खाएर नियन्त्रणमा आएपछि मात्रै व्यायम गर्नुपर्छ । उच्च रक्तचाप भएकै अवस्थामा कडा व्यायाम गरियो भने रक्तचाप झन् बढ्ने र त्यसले मस्तिष्कघात गराउने जोखिम हुन्छ ।

५.तौल नियन्त्रण गर्ने 

उच्च रक्तचापको प्रमुख कारणमध्ये मोटोपना पनि एक हो । शरीरको अनावश्यक तौलले मुटु र रक्तनलीमा थप दबाव सिर्जना गर्छ, जसले रक्तचाप बढाउँदा उच्च रक्तचापको समस्या देखिन्छ ।

मोटोपनाले इन्सुलिन प्रतिरोध, कोलेस्ट्रोलको असन्तुलन र रक्तनलीमा बोसो जम्मा हुने जोखिम पनि बढाउँछ, यी कारणले उच्च रक्तचापलाई बढावा दिन्छ । तौल घटाउँदा मुटुको बोझ कम हुन्छ, रक्तसञ्चार सुधार हुन्छ र रक्तचाप नियन्त्रणमा राख्न सहज हुन्छ ।

तौल नियन्त्रण गर्न कार्बोहाईड्रेटयुक्त खानेकुरा (जस्तै- भात, चिनी, बढी चिनीयुक्त पेय पदार्थहरू)को सेवन कम गर्नुपर्छ । नियमित व्यायाम गर्ने, थाइराइडको समस्या भए चिकित्सकको सिफारिस बमोजिम औषधि सेवन गर्नुपर्छ ।

६.धुम्रपान, मध्यपान छाड्ने 

धुम्रपानले मुटु, मस्तिष्क तथा अन्य भागका रक्तनलीमा प्रत्यक्ष क्षति पुर्‍याउन सक्छ । प्रत्येक चुरोट पिउँदा रक्तचाप केही मिनेटका लागि अस्थायी रूपमा बढ्छ । नियमित धूमपान गर्नेहरूमा रक्तचाप लामो समयसम्म उच्च रहन सक्छ।

उच्च रक्तचाप भएका धूमपान गर्ने व्यक्तिहरूलाई खतरनाक रूपमा उच्च रक्तचाप, हृदयघात, र स्ट्रोकको जोखिम धेरै हुन्छ।धूम्रपान छोड्दा रक्तचाप कम गर्नुका साथै अन्य धेरै स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् ।

रक्सी सेवनले उच्च रक्तचापलाई बढाउन भूमिका खेल्छ । धेरै रक्सी पिउँदा उच्च रक्तचाप सहित धेरै स्वास्थ्य समस्याहरू निम्तिन सक्छ ।अत्यधिक रक्सीले रक्तचापका औषधिहरूको प्रभावकारिता पनि कम गर्न सक्छ । यसकारण उच्च रक्तचाप नियन्त्रणमा राख्न रक्सी पिउने बानी छाड्नु आवश्यक छ ।

सावधानी

उच्च रक्तचापको समस्या देखिएपछि यसलाई नियन्त्रणमा राख्नका लागि चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्नुपर्छ । यसले हामीलाई उच्च रक्तचापबाट हुने क्षतिबाट बचाउँछ । कम उमेरमै रक्तचाप देखिएको छ भने, साथै लामो समयसम्म उच्च रक्तचाप देखिएन भने औषधिको मात्रा कम गर्न सकिन्छ । यदि पहिल्यै कम मात्राको औषधि सेवन गरेको भए चिकित्सकको सल्लाह बमोजिम औषधि छाड्न मिल्छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा पनि एक वर्ष भन्दा बढी समयसम्म रक्तचाप कम नै रहिरह्यो भने औषधिको मात्रा घटँउन वा औषधि सेवन बन्द गर्न सकिन्छ भनिएको छ  अन्यथा घरेलु उपाय अपनाइएको भरमा वा रक्तचाप घट्यो भन्दैमा चिकित्सकको सल्लाहबिना उच्च रक्तचाप कम गर्ने औषधि छाड्न मिल्दैन ।

उच्च रक्तचाप घरेलु उपाय
डा. पुष्प मणि खराल
लेखक
डा. पुष्प मणि खराल
जनरल प्राक्टिसनर

डा.पुष्प मणि खराल एमडीजीपी चिकित्सक हुन् । खराल प्राथमिक चिकित्सा तथा आकस्मिक चिकित्सा एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर २७३८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय