Comments Add Comment

को उच्च को नीच ?

कति सामान्य कुरा छ, जात भनेको स्तर होइन जसले ‘उच्च’ र ‘नीच’को भेद छुट्याउँछ । को उच्च, को नीच भन्ने कुरा त व्यक्तिको सोंच, चिन्तन, बुद्धी, विवेक, ढंग, कर्म, व्यवहारले वर्गिकरण गर्ने कुरा हो । यो सामान्य ज्ञान समेत नभएको कतिपय व्यक्ति आज ‘यो जात उच्च, त्यो जात नीच’ भनेर भ्रम, दम्भ र स्वार्थको घनचक्करमा फसिरहेको छ ।

कसैलाई तल्लो जात, यस्तो जात भनेर होच्याइरहेका हामी कुन जातका हौ ? अरुलाई हिंसा गर्ने, घृणा गर्ने, आफुमा दम्भ र भ्रम पाल्ने हामी कुन जातको हौ ?

हामी कसको गर्भबाट जन्मियौ ?

हामी कसको गर्भमा, कसको कुलमा, कसको खानदानमा जन्म लिन्छौ ? यो कुरा हाम्रो चाहना अनुरुप भएको होइन । हाम्रो अधिकार र रुची अनुसार यसको कुल, नश्ल वा वंशमा जन्म लिने सामर्थ्य हामीसँग छैन ।

हामी जसको कोखबाट पनि जन्म लिन सक्छौ । यसकारण कसैको कोखबाट जन्म लिनु हाम्रो दोष होइन । हामी विश्वकर्माको कोखबाट जन्म लिन्छौ भने त्यो मेरो रुची र अधिकारको कुरा होइन । हामी क्षेत्रीको कोखबाट जन्म लिन्छौ भने त्यो मेरो रुची र अधिकारको कुरा होइन । यसर्थ हामीले कसको घरमा, कुन दम्पतीबाट, कुन नश्लबाट, कुन वंशमा, कुन परिवारमा जन्म लियौं भन्ने कुराले हाम्रो स्तर निर्धारण हुँदैन ।

को तल्लो जात ?

जात वास्तवमा कुनैपनि व्यक्तिको वंश वा नश्ललाई चिनाउने संज्ञा हो । तर, हामीले सोचेजस्तो कुनैपनि जात उच्च, कुनै निच होइन, हुँदैन । तल्लो जात र उच्च जात भनेर भेद गर्नु हाम्रो मूर्खता, अज्ञानताको परकाष्ट हो । हामी आफै अज्ञानी छौ, हामी आफै मूर्ख छौ, हामी आफै भ्रमित छौ । अनि हामी अरुलाई तल्लो जात र माथिल्लो जात भनेर भेद गर्छौ ।

कुन जात माथिल्लो, कुन जात निच ? भनेर भेद गर्नुहुन्छ भने तपाईंले सृष्टिको नियम बुझ्नुभएको छैन  जात वर्गिकरण कहिले र कसरी भयो भनेर जान्नुभएकै छैन । किन माथिल्लो र तल्लो जात भनियो भन्ने भेद थाहा पाउनुभएकै छैन । यदि तपाईंले यी कुरा बुझ्नुभएको भए आज फलानो जात यस्तो र फलानो जात उस्तो भनेर जग हसाउनुहुने थिएन । आफ्नो कमजोरी छताछुल्ल बनाउनुहुने थिएन । आफु कति निच विचार एवं सोचबाट गुज्रिरहेको छु भन्ने कुरा दुनियालाई जाहेर गर्नुहुन्नथ्यो ।

तपाईंको सोंच–चिन्तन कमसल छ, काम गर्ने ढंग छैन, विवेकको प्रयोग गर्नुहुन्न, उन्नत कर्म गर्नुहुन्न भने तपाईं तल्लो जातको हो । चाहे जुनसुकै नश्लमा जन्म लिएपनि तपाईं उच्च जातको रहनुहुन्न ।

तर, तपाईंको सोच्ने शैली, काम गर्ने ढंग, विवेक, दृष्टिकोण, ज्ञानको दायरा सबैकुरा फराकिलो र उच्च छ भने तपाईं उच्च जातको हो । तपाईं जन्मनुले यसमा कुनै अर्थ राख्दैन । अर्थ राख्ने भनेको तपाईंको काम र सोंचले हो । अर्थ राख्ने भनेको तपाईंको ज्ञान र विवेकले हो । अर्थ राख्ने भनेको तपाईंको व्यवहार र प्रवृत्तिले हो ।

हामी ब्राम्हणलाई उच्च जात भन्छौ । तर, ब्राम्हण भनेको नश्लको आधारमा हुने होइन । जुनसुकै नश्लमा, वंशमा, खानदानमा जन्म लिएपनि ऊ ब्राम्हण कहलिन सक्छ, उनको कर्म र ज्ञानले ।

यो पनि पढ्नुहोस विदुर नीति : पण्डित को हुन् ?

जन्मदा सबै समान

हामी जन्मदा समान हुन्छौ । जुनसुकै कुल, वंश वा नश्लमा जन्म लिएपनि हामीमा भेद हुँदैन । एउटा बच्चा चाहे विश्वकर्माको छोरो भएर जन्मिएको होस् वा कोइरालाको, दुबै समान हुन् । दुबैवीच एकरत्ती भेद हुन्न ।

जब उनीहरु हुर्कदै जान्छन्, जान्नेबुझ्ने हुन्छन् । काम गर्छन् । समाजमा घुलमिल हुन्छन् । तब उनीहरुले गर्ने काम, सोच्ने शैली आदिले उनीहरुको श्रेणी विभाजन गरिदिन्छ । यसर्थ सृष्टिले सबैलाई समान रुपमा रचना गरेका हुन् । सृष्टिमा कुनै भेद छैन । सृष्टिले कसैलाई काखी च्याप्ने र कसैलाई हेलाहोचो गर्ने गर्दैन । सृष्टिले त सबैलाई मान्छेकै रुपमा रचना गरेको हो । तर, मान्छेले चाहि जात–जात भनेर वर्गिकरण गरेको हो ।

तर, हामी हुर्कदै, बढ्दै जाने क्रममा यस्तो संगत र समाजमा घुलमिल हुन्छौ जसले हाम्रो आँखामा भ्रमको पर्दा लाग्न थाल्छ । हामी वर्तमान समाजले निर्धारण गरेको कुराहरुलाई नै सत्य र अकाट्य मान्न थाल्छौ । सही के हो, गलत के हो भन्ने कुरा हामी आफ्नो विवेकको आधारमा निक्र्यौल गर्दैनौ । अरुले भनेकै भरमा, अरुले सुनाएकै भरमा, अरुले लादेकै भरमा हामी आफ्नो धारणा विकास गर्छौं । हामी भ्रमित हुन्छौ । त्यही भ्रमले गर्दा हामी कसैलाई तटस्थ, स्पष्ट, न्यायपूर्ण ढंगले हेर्दैनौ । यो जात ठूलो, त्यो जात सानो भन्नुको पछाडि पनि हामी कति भ्रमित छौ भन्ने नै हो ।

आज हामी बाहुनलाई हिन्दु र हिन्दुले नै आफुलाई ठूलो जात भनेर बुझिरहेका छौ । हिन्दु भनेको एक सभ्यता एवं पद्धती हो । हिन्दु पद्धतीको सबैभन्दा प्रमुख ग्रन्थ भनेको श्रीमद्भागवत गीता हो । गीतामा स्पष्ट भनिएको छ, गुण र कर्मको आधारमा मान्छेको चार वर्ण छ । जन्मले कोही ठूलो वा सानो हुँदैन । बरु उसले गर्ने कर्म एवं पराक्रमले जात निर्धारण गर्छ ।

कर्मको आधारमा ब्राम्हण, क्षेत्रिय, बैश्य र अनि शुद्रको व्याख्या गरेको छ । ब्राम्हाण बिराट पुरुष, क्षत्रिय आफ्ना बाहु, बैश्यहरु आफ्ना तिघ्राका बल अनि शुद्रहरु आफ्नो पैदालाका माध्याबाट समान हुने वताइएको छ ।

यो तल्लो जात, त्यो माथिल्लो जात भनेर चाहि पछि धूर्तहरुले स्थापित गरेको धारणा हो । यही धारणालाई समाजमा व्याप्त बनाएर उनीहरुले आफ्नो धन्दा चलाइरहेका छन् । अब हामी अरुले छरेको भ्रममा बाँच्ने कि आफ्नो विवेकको आँखा उघार्ने ? सृष्टिले होइन, कर्म र बुद्धीले छुट्याउँछ मान्छेको भेद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment