Comments Add Comment

काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको जानकारी दिए ।

भदौ पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर हुनेछ, जसमा तीन वटा सुरुङमार्ग पनि पर्छ । महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङमार्ग बनाइनेछ ।

चार लेनको यो सडक पार गर्न लगभग १ घन्टा (एक घन्टा दुई मिनेट ३३ सेकेण्ड) लाग्ने अनुमान छ ।

सेनाले फास्ट ट्रयाकको जिम्मेवारी लिँदा भारतीय कम्पनी आइएलएफएसले बनाएको डीपीआरमा १ खर्ब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । कोरियन कम्पनी सुसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिइयो, जसमा फास्ट ट्रयाकको खर्च १ खर्ब १८ अर्ब पुग्ने आँकलन गरेको थियो । अब नयाँ डीपीआर अनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुगेको छ ।

डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।

चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाख २०७४ मा द्रुतमार्ग र्निर्माणको जिम्मा नेपाली सेनाले दिएको थियो । २७ साउनमा औपचारिक रुपमा जिम्मा पायो, त्यसअनुसार २७ साउन ०७८ भित्र फास्ट ट्रयाक निर्माण सकिनुपर्ने हो । तर, यो अवधिमा निर्माण सम्पन्न नहुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment