Comments Add Comment

दलितमाथि प्रेम सम्बन्धकै कारण किन हत्या, बलात्कार र आक्रमण हुन्छ ?

यतिबेला जाजारकोट रुकुम शोकमग्न छ । सोती घटनामा रुकुम जाजारकोटका युवाहरु मारिएका छन् । ती युवाहरुले देशको सीमा वचाउन या कुनै देशभक्त आन्दोलन लडाईमा मारिएका हुन्थ्ये भने आज उनीहरुका बा-आमाले गर्व गर्दै मेरो सन्तानले देशका निम्ति जीवन बलिदान गर्‍यो भन्थे होला । तर, उनीहरु कुनै परिवर्तनका निम्ति नभएर विल्कुलै मानवीयतामाथिको जर्जर अपराधमा पिल्सिएका हुन् । कथित जातीय विभेद र छुवाछुतका कारण अकालमा ज्यान गुमाएका हुन् ।

प्रेम युद्धमा जसरी नवराजले कथित जातीय कारणले ज्यान गुमाउनुपर्‍यो, त्यसरी अब कसैले ज्यान गुमाउन नपरोस । आमाहरूको कोख रित्तिएको छ, दिदीबहिनी अनि परिवारले आफ्ना दाजुभाइ गुमाएका छन् । सन्तान गुमाउनुको पीडा उनीहरुमा छ । त्यसैले अब प्रेम प्राप्तिमा कोही नबराज बन्नु नपरोस् अनि नबराजाका साथीहरुको जस्तो घटना नदोहोरियोस् ।

नेपाल छुवाछुतमूक्त भएपछिका केही प्रतिनिधि घटनाले समेत दलीतमाथिको बर्बरताको उजागर गर्छ । २०६९ सालमा सप्तरीका शिवशंकर दास अन्तरजातीय विवाहका कारण ज्यान गुमाए । यसरी नै सोही वर्ष दैलेखका सेते दमाई समेत अन्तरजातीय विवाहकै कारण मारिए । २०७० मा तनहुँकी संगीता परियार प्रेमका कारण, २०७३ मा झापाकी अस्मिता सार्की प्रेम असफल भएका कारण, २०७३ मै काभ्रेका अजित मिजारको अन्तर्जातीय विवाहका कारण मारिए । बलात्कार, छुवाछुतका, बोक्सी आरोप र हत्या त बाँकी नै छन् ।

नवराजको हत्या भएकै दिन रुपन्देहीको देवदह–११ बड्की गुम्मीकी किशोरी अंगिरा पासीको समेत बलात्कारपछि हत्या गरिएको छ । उनी पनि दलित समुदायकी किशोरी हुन् । अन्ततः उनी रुखमा झुण्डिएको अवस्थामा फेला परिन् । देशभर दलित समुदायमाथि बलात्कार हत्याका घटना बढेका छन् ।

यसरी नेपाली समाजले दलितमाथि बर्बरता देखाइरहेको पाइन्छ । अजित मिजारको शव अझै त्रिवि शिक्षण अस्पतालमै छ । उनको परिवारले न्याय नइाउन्जेल शवको शदगद् नगर्ने जनाएका छन् । उनले दलित मुक्तिका आवाज उठाएपनि उनको परिवारको विलौना कसैले सुन्ने छाँट देखिन्न ।

नेपाली समाज र कथित दलितबारे

नेपाली समाज रुपान्त्रण भइसकेको र संविधान समेत समाजवादउन्मुख भनिरहँदा मानवीयतामाथि नै हुने आक्रमणले भने यसलाई कतै गिज्याइरहेका त छैनन् भन्ने प्रश्न पक्कै उठेको छ । नेपालमा परिवर्तनका खातिर भएका विभिन्न आन्दोलनमा दलित समुदायले गरेको योगदान सायदै कम होला । तर, सोहि समुदायमाथि अत्यन्तै अमानवीय ढंगले हुने गरेका आक्रमणले हाम्रो समाज रुपान्त्रणको पक्षमा छ त भन्ने प्रश्नलाई थप मलजल गरेको छ ।

रुकुम पश्चिममा भएको सामूहिक हत्याले समेत यो कुरालाई थप गहकिलो बनाएको छ । सरकार र सत्ताले समेत अब यो समुदायमाथि राजनीति गर्ने भन्दा साँच्चिकै अधिकार दिने या नदिने भन्नेबारे निर्क्यौल गर्नैपर्छ ।

झण्डै ६० लाख दलितहरुले राज्यमाथिको गर्विलो विश्वास र भरोसा गरेकै कारण आज सामुदायि हिंसा भड्किएको छैन् । सिंगो दलित समुदाय आज संयमता मात्रै अपनाएको छैन, अधिकार दिन राज्यलाई दबाब दिएको छ । तर, राज्यले आलटाल गरेर आम दलितको भावनामाथि खेलवाड गर्ने अवस्था आइपरे पक्कै पनि दलित कह्ल्यिै मानिसको दर्जामा रहने छैनन् । अनि यहीँबाट विद्रोहको सुरुवात हुनेछ । शासक क्रुर र एकतन्त्रीय बन्दा राणा, राजाको इतिहाँस जसरी फेरियो त्यसरी नै नेपालमा अर्को क्रान्तिको सुत्रपात हुनेछ ।

कथित दलित जे भनेपनि उ पनि आम मानिस जस्तै जन्म, विवाह र मृत्यु संस्कार मान्छ । उ पनि मानिस हो । समाजमा उमाथिको विभेदको अन्त्य सिंगो मानव जातिको रक्षा र सम्मान हो ।

२०६८ पछि कालिकोटको मनवीरे सुनारदेखी रुकुम पश्चिमको सोतीको अमानवीय बर्बरता जातीय विभेदकै आधारमा भएको सामुहिक हत्याकाण्डसम्मका घटना र दलित समुदायमाथिको शृङ्खलाबद्ध ज्यादतीलाई हेर्ने हो भने दलितका मुद्दामा राज्य किन मुखदर्शक बन्छ ? कानुन एउटा बन्ने तर कार्यन्वयन किन फरकफरक तरिकाले गरिन्छ ? रगत सबैको एउटै हो भन्ने मान्यतालाई किन लात हानिन्छ ? मानवीय विनास वा सहिष्णुताको लागि ? सबै तथ्यहरु हेर्दै जाने हो भने कतै घोषणामा सिमित त हैन छुवाछूत मुक्त देश ? यावत सवालहरुको बाबजुद हामीले प्रण गर्नैपर्छ नागरिक आफै जिम्मेवार बनेर न्याय समानताको आन्दोलन गर्ने । अमानवीय क्रूर बर्बर घटनाहरु हुन नदिन सबैले राष्ट्रिय संकल्प गर्नैपर्छ ।

नेपालमा राजतन्त्रको अन्त्य गर्न माओवादी जनयुद्धको भूमिकाबारे सन्देह छैन । जनयुद्धको भक्तिगान गाएको भनौं या वास्तविकता बोलेको भनौं, जसले जुन अर्थ लगाए पनि नेपालको शासन व्यवस्था र राज्यप्रणाली परिवर्तनमा जनयुद्ध (कसैको नजरमा सशस्त्र युद्ध) ले ठूलो योगदान दिएको थियो । त्यही जनयुद्धको थालनी गर्दा पहिलोपटक सहादत प्राप्त गर्ने व्यक्ति दलित नै थिए । दिलबहादुर रम्तेल दलित समुदायका थिए । एउटा दलितको सन्तानवाट सुरु भएको जनयुद्धको फल आज कथित माथिल्लो जातले पनि लिएकै छन् । के उनीहरुले कहिल्यै दलितको रगतबाट सुरु भएको युद्धमा सहभागी हुन्नौ भनेर भन्यो ? या अहिले यो व्यवस्थामा म कुनै पद लिन्न भन्यो ? यी प्रश्नहरु समेत उत्तिकै महत्वपूर्ण बन्न थालेका छन् ।

एउटा तितोसत्य के हो भने, सोती घटना जातीय विभेद र छुवाछुतकै कारण घटेको हो । अहिले मानिसहरु १७ वर्षीय किशोरीलाई अपहरण शैलीमा लिन गएको, लकडाउन उल्लङ्घन गरिएको लगाएतका कुरा गरेर तथ्यलाई मोड्न उद्दत छन् । उनीहरुलाई यहाँ कुनै हिलो छ्याप्ने उद्देश्य होइन । हाम्रो समाज र चिन्तन नै दलितको भावना र मानवताविरुद्धको छ । यसको अर्थ सबै मानिस दलित विरोधि छन भन्न खोजिएको पक्कै होइन तर, जातियताको रंग यसरी छ्याप्न खोजिदैछ की नवराज आफ्नै कारण मारिएका हुन्, कथित माथिल्लो जातका मानिसहरुले केही गरेकै छैनन् ।

अहिले प्रहरी अनुसन्धानमा रहेका वडा अध्यक्षसहितका ब्यक्तिहरुको संग्लग्नता पुष्टि हुन्छ हुन्न त्यो तथ्य आउलान नै । तर, सवाल यो हो कि सुचना प्राप्त गरेर पनि यदी वडाध्यक्ष नै योजना बनाउन वा घटनालाई उत्तेजित अराजक बनाउन संगलग्न भएका हुन् भने त यो अति गम्भीर बन्ने छ । वडा अध्यक्ष आफ्नै सरकारको प्रतिनिधि मात्र हैन वडाको सरकार प्रमुख पनि हो । त्यसैले घटना कुन स्तरको हो भन्ने कुरा छोडेर हेर्दा पनि सोती हत्याकाण्डलाई देशभर भएका अन्य घटनाको शृङ्खलाको रुपमा मात्र लिन सकिन्न यसलाई जघन्य मानव अपराधको रुपमा हेर्नुपर्छ । मानवताकै उपहास हुने दुस्खद घटनाको पीडितलाई न्याय दिन सबै मानव बनौ न्यायिक बनौं ।

अकल्पनीय घटना घटिहाल्यो अब यो कसरी अगाडि बढ्छ पीडित परिवारले न्याय पाउछन् पाउदैन भन्ने कुरा घटनाको प्रहरी मुचुल्कामा समेत भर पर्नेछ । प्रहरी कसैको प्रलोभनमा नपरी निष्पक्ष आधारमा मुचुल्का उठाएको छ भने पक्राउ परेकाहरु आफै संग्लग्नहरु हुन् । प्रहरी नै प्रत्यक्षदर्शी भएको यो घटनाले कस्तो रुप लिन्छ भन्ने कुरा पनि आम चासोको बिष्य बन्नु स्वभाबिक छ ।

तसर्थ सत्यलाई जिताउन सबैको इमानदारीताको जरुरी छ । अरु जेसुकै होस् मृत्युसम्म पुर्‍याउने मान्छेलाई मार्ने भन्दा ठूलो अपराध अर्को हुनै सक्दैन । सोती हत्याकाण्ड जस्तो घटना अब देशको कुनै पनि कुनामा नदोहोरियोस् राज्यको ध्यान त्यता पुग्नुपर्छ ।

(सेर्पाली नेकपाका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment