Comments Add Comment

बजेट औसत खालको आयो, अब उद्योग व्यवसाय खोल्नुपर्छ-चन्द्र ढकाल

१७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्र ढकालले अब उच्च सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि अब सधैं उद्योग-व्यवसाय बन्द गर्न नहुने उनको भनाइ छ ।

तर, स्वास्थ्य सतर्कता भने उच्च अपनाउनुपर्ने उनले बताए । स्वास्थ्यको विषयमा सबैले गम्भीर हुनुपर्ने भन्दै उनले आवश्यक सुरक्षा सावधानी अपनाएर अब अर्थतन्त्रलाई चलायमान बनाउनुतर्फ सोच्नुपर्ने उनले बताए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटका विषयमा अनलाइनखबरले राखेको जिज्ञाशामा बोल्दै उनले बजेट औसत खालको आएको बताए । बजेटले निजी क्षेत्रका केही मागहरु सम्वोधन गर्न खोजेको भए पनि सबै अपेक्षाहरु भने पुरा गर्न नसकेको उनको भनाइ छ ।

केही कर छुटका योजनाहरु सरकारले ल्याएको भन्दै उनले त्यसालाई सकारात्मक रुपमा आफूले लिएको बताए । तर कर छुटमात्रै नभई उद्योग-व्यवसायलाई बचाउनेतर्फ ध्यान दिनुपर्ने बताए । कोभिड-१९ को महामारीका बेला भएकाले आफूले बजेटबाट धेरै अपेक्षा गर्न भने नसकिएको उनले बताए ।

बजेटले अहिलेको प्राथमिकतालाई हेरेर कृषि र स्वास्थ्यलाई ध्यान दिएको भन्दै यसलाई सकारात्मक भएको बताए । निजी क्षेत्रका धेरै अपेक्षाहरु सम्वोधन नभए पनि बजेट औसत नै रहेको प्रतिक्रिया दिएका उनले कार्यान्वयनमा भने चुनौती रहेको बताए ।

‘बजेटले निजी क्षेत्रका मागहरु सबै सम्बोधन गर्न सकेको छैन, धेरै इन्करेजिङ हुने किसिमको बजेट आएको छैन’ उनले भने, ‘बजेटले ल्याएका राम्रा कार्यक्रमहरु पनि छन्, राम्रा कार्यक्रमहरु ल्याए पनि कार्यान्वयनमा चुनौती पक्कै हुन्छ नै ।’

उद्यमी ढकालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

बजेटका विषयमा निजी क्षेत्रको धेरै अपेक्षा थिए । नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक धारणा बजेटका विषयमा आउनै बाँकी छ । हामी आधाकारिक रुपमा बजेटका विषयमा प्रतिक्रिया दिनेछौं ।

कोभिड-१९ को महामारीका बिचमा आएको बजेट भएका कारण हामीले धेरै अपेक्षा गर्ने पनि कुरा भएन । यसकारण समग्रमा बजेटलाई सकारात्मक नै लिनुपर्छ । यद्यपि निजी क्षेत्रले गरेका मागहरु कतिपय सम्वोधन भएका छन्, कतिपय सम्वोधन भएका छैनन् ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न सरकारले कृषि व्यवस्था गर्नैपर्ने थियो । उद्योग-व्यवसायहरु जुन किसिमको समस्यामा छन्, ती समाधान गर्ने गरी बजेट आउनुपर्ने थियो ।

बजेटले निजी क्षेत्रका मागहरु सबै सम्वोधन गर्न सकेको छैन । धेरै प्रोत्साहन हुने किसिमको बजेट आएको छैन । बजेटले ल्याएका राम्रा कार्यक्रमहरु पनि छन् । बजेटले राम्रा कार्यक्रमहरु ल्याए पनि कार्यान्वयनमा चुनौती पक्कै हुन्छ नै ।

कोरोना महामारीका बीचमा आएको बजेट भएका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने नै थियो राखेको छ । यो धेरै राम्रो हो । कृषिका लागि पनि राम्रै कार्यक्रमहरु ल्याएको छ । कृषि क्षेत्रलाई हामीले यतिबेला केहि विशेष सोच्नैपर्ने थियो । कृषि प्राथमिकतामा पर्नु, स्वास्थ्य पूर्वाधारमा प्राथमिकतामा दिनु सकारात्मक हो ।

लकडाउन लामो समय लम्बिँदै जाँदा निजी क्षेत्र यतिबेला साच्चिकै अप्ठेरो अवस्थामा पुगेको छ । सरकारले ठप्प भएका उद्योग-व्यवसायहरुलाई भाइब्रेट बनाउने विषयमा केही सोच्नु पथ्र्यो, त्यो चाहिँ बजेटमा पुगेन कि भन्ने लागेको छ ।

निजी क्षेत्रको केही पनि माग पुरा गरेन भन्न खोजेको होइन । विद्युत महशुलको डिमान्ड शुल्क छुटका कुरा गरेको छ, आयातलाई प्रतिष्थापन गराउने र मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिने भनिएको छ । यि विषयहरु राम्रो हो । सिद्धान्तमा ठिक भए पनि कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता छ ।

बजेटले सबै एरियालाई छोएको छ । असामान्य परिस्थति आएकाले धेरै अपेक्षा गर्ने ठाउँ पनि थिए । पर्यटन क्षेत्रलाई कर छुटमा केहि राहत दिने भनिएको छ । साना तथा मझौला कर्जामा कर छुट भनिएको छ । अहिले कर छुटमात्रैले पुग्दैन कि भन्ने कुरा हो । व्यवसायलाई पहिले जोगाउनु पर्छ ।

अहिले श्रमिकको तलबको समस्या निकै धेरै देखिएको छ । यो समस्याहरु सम्बोधन हुन सकेको छैन । सामाजिक सुरक्षा कोषमा धेरै जोडिएका धेरै कम छन् । पुर्नकर्जा कोष सय अर्ब रुपैयाँ बनाउने भनिएको छ । यो राम्रै कुरा हो । अब यसलाई राष्ट्र बैंकले केही सहज बनाउनुपर्छ । सबैको पहुँचमा पुग्ने बनाउनुपर्छ ।

बजेटले निकै हषिर्त बनाएको छैन । केहि विषयहरु समेटिएका पनि छन् । यसकारण बजेट औसत नै छ । अर्को महत्वपूर्ण कुरा भनेको अब उद्योग-व्यवसाय सञ्चालन गर्ने तर्फ सरकारले सोच्नुपर्छ । मुलुकको अर्थतन्त्रलाई जोगाउन पनि सुरक्षाको उच्च सतर्कता अपनाएर राज्यले उद्योग-व्यवसाय सञ्चालन गर्नेतर्फ सोच्नुपर्छ । अब अहिलेकै विधिले हुँदैन, केहि परिवर्तन गर्नेतर्फ सोच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment