Comments Add Comment

उखु किसान दर्ता प्रक्रिया सुरु

२० जेठ, काठमाडौं । सरकारले उखु उत्पादक कृषककै खातामा अनुदान पठाउन कृषक दर्ता प्रक्रिया अघि बढाएको छ । सरकारी अनुदान प्राप्त गर्नकालागि स्थानीय तहमा अनिवार्य दर्ता हुन उखु किसानहरुलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबार आग्रह गरेको हो ।

उखु कृषकलाई अनुदान दिने सम्वन्धि कार्यविधि अनुसार सरकारी अनुदान प्राप्त गर्न गरिएको व्यवस्था पछि किसानलाई अनिवार्य दर्ता हुन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

सोमबार एक सूचना जारि गर्दै आगामी आर्थिक बर्ष २०७७/७८ को अनुदान पाउनकालागि सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुन मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा उखु उत्पादन गरी नेपालका चिनी मिललाई उखु बिक्री गर्ने सबै कृषकहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशिघ्र दर्ता हुन मन्त्रालयले भनेको छ । दर्ता हुन आवश्यक पर्ने कागजात सम्बन्धी सबै जानकारी स्थानीय तहबाट उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।

स्थानीय तहबाट प्रकाशित भएको उखु कृषकको लगतमा छुट हुन गएका कृषकले सरकारी अनुदान नपाउने हुनाले अनिवार्य दर्ताकालागि मन्त्रालयले कृषकहरुलाई आग्रह गरेको छ । हरेक स्थानीय तहले भदौ मसान्तसम्म दर्ता कृषकको विवरण मन्त्रालयमा पठाउनु पर्ने भएकाले त्यस अघि नै दर्ता भईसक्न पनि कृषकलाई मन्त्रालयले भनेको छ ।

दर्ता भएका उखु कृषकको लगत भाद्र मसान्त भित्र प्रकाशन गरी सम्बन्धित चिनी मिल, जिल्लास्थित भुक्तानी समिति र मन्त्रालयमा उपलब्ध गराइदिन पनि मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

यस्तै कृषकहरु दर्ता हुने क्रममा सम्बन्धित उखु कृषकको बैंक खाता रहेको बैंकनाम र खाता नम्बर सम्बन्धी विवरण माग गरी लगतमा समेट्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगामी आर्थिक वर्षका लागि उखु किसानलाई दिईने अनुदानकामा खर्च गर्न सरकारले बजेटमा ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment