२१ जेठ, काठमाडौं । प्रिमियर लिगले १७ जुनमा लिग फेरि शुरु हुनुअघि क्लबलाई एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ ।
यसका लागि कडा नियम पालना गर्नुपर्नेछ ।
बेलायती पत्रिका टेलिग्राफका अनुसार शीर्ष क्लबहरुले लिगअघि तयारीका लागि एक अर्कासँग खेल्न पाउँ भनेर प्रस्ताव गरेका थिए । पछि त्यो स्वीकृत भएको हो ।
लिग लिडर लिभरपुलले एनफिल्डमा सोमबार ११ ए साइड गेम खेलेको थियो । मैत्रीपूर्ण खेल स्टेडियम र ट्रेनिङ ग्राउण्ड जहाँ पनि खेल्न सकिनेछ । जहाँ जोखिमलाई पूर्ण रुपमा पालना गरिनेछ ।
मैत्रीपूर्ण खेलका लागि विभिन्न मापदण्ड पालना गर्नुपर्ने प्रिमियर लिगले जनाएको छ ।
मैत्रीपूर्ण खेलमा अफिसियल रेफ्री हुने छैनन् । क्लबका कोचिङ स्टाफले रेफ्रीको भूमिका निभाउनु पर्नेछ । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ । खेलाडीहरुको कोरोना परिक्षण गरिएको र नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।
प्रोजेक्ट रिस्टार्ट अन्तर्गत प्रिमियर लिगका क्लबहरुले दोस्रो चरणमा अहिले सामूहिक प्रशिक्षण गरिरहेका छन् । शुरुमा व्यक्तिगत प्रशिक्षण गरेका खेलाडिले पछि कन्ट्याक्ट ट्रेनिङ गर्न थालेका थिए ।
प्रिमियर लिग कोरोनाभाइरस महामारीका कारण १३ मार्चदेखि स्थगित छ । १७ जुनदेखि फेरि शुरु हुने लिगमा शुरुमा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल हुनेछ । यस्तै शेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल पनि हुनेछ । लिगमा अझै ९२ खेल बाँकी छ ।
लिगमा लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा छ । लिभरपुलले सिटीमाथि २५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई अब उपाधि जित्न २ जित आवश्यक छ ।
यदि सिटी आर्सनलसँग पराजित भएमा लिभरपुले एक खेल जितेमात्रै उपाधि जित्नेछ । ३० वर्षयता लिभरपुल पहिलो उपाधिको नजिक छ ।
प्रतिक्रिया 4