Comments Add Comment

प्रोस्टेट ग्रन्थीको क्यान्सर : जोखिम कसलाई ?

प्रोस्टेट क्यान्सर अन्य प्रकारका क्यान्सर भन्दा अलग हुन्छ । यो धेरै वर्षसम्म सुषुप्त हुन्छ । केही पुरुषहरूमा प्रोस्टेट क्यान्सर तीव्र गतिमा बढ्छ । यो शरीरको अन्य भागमा समेत फैलिने गर्छ  ।

प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरु हुन्छ। सबै पुरुषको शरीरमा प्रोस्टेट नामक सानो ग्रन्थी रहेको हुन्छ । यो ग्रन्थी मुत्राशयको नली आसपास हुन्छ । प्रोस्टेट लगभग ओखर आकारको हुन्छ र उमेरसँगै बढ्ने गर्छ ।

प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ। यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ, जसले वीर्यलाई तरल बनाउँछ।

प्रोस्टेट ग्रन्थीको पछाडिको भाग गुद्वारको नजिक रहेको हुन्छ ।  जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब प्रोस्टेट क्यान्सर हुने गर्छ ।

प्रोस्टेट क्यान्सरलाई तीन उपप्रकारमा विभाजन गरिन्छ।

सुरुवाती प्रोस्टेट क्यान्सरलाई स्थानीय प्रोस्टेट क्यान्सर पनि भनिन्छ। यो अवस्थामा क्यान्सर प्रोस्टेट ग्रन्थीमा हुन्छ र अरू ठाउँमा फैलिँदैन ।

एड्भान्स प्रोस्टेट क्यान्सरको स्थितिमा क्यान्सर प्रोस्टेट ग्रन्थीको वरिपरिको टिस्युमा फैलिन्छ ।

मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा क्यान्सर प्रोस्टेट ग्रन्थीबाट अगाडि शरीरको अन्य भागमा समेत फैलिन्छ ।

सामान्यतया, प्रोस्टेट क्यान्सरको निदान सुरुवाती चरणमै गर्न सकिन्छ । केही पुरुषमा जब यो पहिलो पटक निदान गरिन्छ, त्यतिबेला नै यो एड्भान्स स्टेजमा पुगिसकेको हुन्छ । एड्भान्स किसिमको प्रोस्टेट क्यान्सर यस्तो पुरुषलाई पनि हुन सक्छ, जसको पहिले नै प्रोस्टेट क्यान्सरको उपचार भइसकेको हुन्छ ।

के कारणले हुन्छ ?

प्रोस्टेट क्यान्सर हुनुको यकिन कारण अझै थाहा छैन । यस्ता केही जोखिम कारक छन्, जसले गर्दा पुरुषहरूमा यो क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

उमेर

उमेर बढेमा प्रोस्टेट क्यान्सरको जोखिम पनि उच्च हुने गर्छ । ५० वर्षभन्दा कम उमेरका पुरुषमा यसको जोखिम कम हुन्छ ।

जाति

अश्वेत अफ्रिकन तथा अश्वेत क्यारेवियन पुरुषहरूमा प्रोस्टेट क्यान्सरको सम्भावना सेता पुरुषका तुलनामा उच्च हुने गर्छ । जबकि एसियाली पुरुषहरूमा यसको जोखिम कम हुन्छ ।

पारिवारिक इतिहास

घर परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको छ भने उनीहरूबाट जन्मने सन्तानलाई पनि यो क्यान्सर हुने सम्भावना उच्च हुन्छ। करिब पाँचदेखि दश प्रतिशत पुरुषहरूमा कुनै वंशाणुगत त्रुटिका कारण प्रोेस्टेट क्यान्सर हुने गर्छ ।

कसरत

शारीरिक रुपमा अत्यधिक सक्रिय रहेमा पनि प्रोस्टेट क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

आहार

बेलायत, युरोप, अमेरिकालगायतका पश्चिमेली देशका पुरुषमा एसियाली मुलुकका पुरुषका तुलनामा प्रोस्टेट क्यान्सर हुने सम्भावना धेरै हुन्छ। यो हुनुको मुख्य कारण भनेको उनी फलफूल तथा हरियो सागसब्जीको तुलनामा जनावरजन्य फ्याट बढी मात्रामा खाने गर्छन् ।

विशेषगरी, एसियाली मुलुकका पुरुष आहारमा सोयाको सेवन धेरै गछन् । सोयाले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ । तर यसको पुष्टिका लागि थप अनुसन्धान आवश्यक छ । अत्यधिक मात्रामा क्याल्सियम युक्त खानाले भने यसको जोखिम बढाउन सक्छ ।

टमाटर तथा केचअपलगायतका टमाटरजन्य उत्पादनले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउन सुरक्षा प्रदान गर्छ ।

कसरी थाहा पाउने ?

सुरुवाती चरणमा प्रोस्टेट क्यान्सरको कुनै लक्षण देखिँदैन । यो क्यान्सर क्रमश: फैलिन्छ ।  कैयौ‌ं वर्षसम्म पनि यसको लक्षण नदेखिन सक्छ ।

एडभान्स क्यान्सर भएमा यसको लक्षण कहाँ फैलिएको छ भन्नेमा निर्भर गर्छ । प्रोस्टेट क्यान्सर प्राय हड्डीमा फैलिन्छ र यसका कारण शरीरमा असह्य पीडा हुन सक्छ ।

एड्भान्स क्यान्सरको सामान्य लक्षण

–अत्याधिक थकान महसुस हुनु

–खान मन नलाग्नु

–शरीर अस्वस्थ भएको महसुस हुनु

यदि कसैमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म कुनै नयाँ लक्षण देखिएमा तुरुन्तै जनरल फिजिसियनसित सम्पर्क गर्नुपर्छ ।

किनकि यो लक्षण अन्य रोगका कारण पनि देखिन सक्छ । त्यसैले यो समस्या नहोस् भन्नका लागि पनि बेलाबेलामा चिकित्सकसित परार्मश गरिरहनुपर्छ ।

 उपचार 

प्रोस्टेट ग्रन्थीको क्यान्सरको उपचार व्यक्तिको स्वास्थ्य अवस्था, क्यान्सरको चरणलगायतमा भरपर्छ । त्यसैले यसको उपचार गर्नुपूर्व चिकित्सकसितको परार्मश अनिवार्य छ । किनकि यो क्यान्सर बिस्तारै बिस्तारै बढ्ने गर्छ । सुरुवाती चरणमा यसको कुनै लक्षण देखिँदैन ।

यदि कुनै लक्षण देखिएमा वा कुनै कारणवश क्यान्सर रोग बढेको पाइएमा चिकित्सकको परार्मशअनुसार तुरुन्तै यसको उपचार गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment