Comments Add Comment

संसदको कार्यतालिका : बजेट पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी

२१ जेठ, काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि छलफल जारी छ । जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि १८ र १९ गते सैद्धान्तिक छलफल भयो । अब विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल २३ गतेबाट सुरु हुँदैछ ।

जेठ २३, २४ र २५ गते मन्त्रालयगत शीर्षकमाथिको छलफल गर्ने र २६ गते सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ ।

संघीय संसदको बजेटसम्बन्धी सम्भावित कार्यक्रममा आगामी असार १५ गतेसम्म विनियोजन विधेयक (बजेट) र विनियोजन विधेयकका आश्रित विधेयक (आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक) हरु पारित गरिसक्ने उल्लेख छ ।

सम्भावित कार्यक्रममा आगामी असार १७ गतेदेखि सदनमा प्राप्त विधेयकहरुमाथि छलफल हुने उल्लेख छ । बजेट अधिवेशन गत बैशाख २६ गतेबाट सुरु भएको हो ।

अबको कार्यसूची

जेठ २३ गते– ७ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि छलफल ।

(कानुन मन्त्रालय, महिला मन्त्रालय, भौत्तिक पूर्वाधार मन्त्रालय, सहहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय)

जेठ २४ गते– ८ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि छलफल

(अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थय मन्त्रालय र कृषि मन्त्रालय)

जेठ २५ गते–७ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षक माथि छलफल ।

(उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय)

जेठ २७ गतेपछिको कार्यसूची तय हुन बाँकी छ । सम्भावित कार्यक्रममा आगामी असार १५ गतेसम्म विनियोजन विधेयक (बजेट) पारित गर्ने र विनियोजन विधेयकका आश्रित विधेयक (आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत) हरु पारित गरिसक्ने उल्लेख छ । असार १७ गतेपछिसदनमा प्राप्त विधेयकहरुमाथि छलफल निरन्तर गर्ने भनिएको छ ।

कहिलेसम्म बजेट अधिवेशन ?

गत वर्ष बैशाख १६ गतेबाट सुरु भएको बजेट अधिवेशन असोज २ गतेसम्म चलेको थियो । यसबर्ष बैशाख २६ गतेबाट बजेट अधिवेशन सुरु भएको थियो । संसद सचिवालय र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अनुसार यस वर्ष बजेट पास भएलगत्तै सक्ने चालु अधिवेशन सक्नेबारे छलफल जारी छ ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अहिलेको प्राथमिकता बजेट र नक्सा परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्नु मात्रै हो । यो अधिवेशन कहिलेसम्म जाला भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘बजेट पास गर्न बाँकी छ । संविधान संशोधन विधेयक पास गर्न बाँकी छ । यि देखिएका एजेण्डा हुन् ।’

सभामुखको सचिवालयले पनि कोरोना महामारीको संकटका बेला संसद लम्ब्याउने पक्षमा नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment