२२ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले यसै वर्षको अन्त्यमा फिफा विश्वकप २०२२ को छनोट खेलहरु पुन: शुरु गर्ने भएको छ ।
कोरोना भाइरसका कारण स्थगित भएको विश्वकप २०२० र एएफसी एसियन कप २०२३ संयुक्त छनोटको रुपमा रहेको खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने युएई फुटबल एसोसिएसनले जनाएको छ ।
बुधबार एसियाली फुटबल फेडेरेसन एएफसीसंग भएको भिडियो बैठकबाट छनोटका बाँकी खेलहरु अक्टोबरमा र नोभेम्बर गर्ने एसोसिएसनले जनाएको हो ।
युएई फुटबल एसोसिएसनका महासचिव मोहमद हजाम अल धहेरले स्थगित भएका छनोट खेलहरु अक्टोबर ८ र १३, र नोभेम्बर १२ र १७ मा गर्ने बताएका हुन् ।
विश्व फुटबलको सर्वोच्च नियका फिफासंग परामर्श गरेर यो निर्णय लिइएको युएई फुटबल एसोसिएसनले जनाएको छ ।
युएई अहिले पाँच टिम रहेको समूह जी मा चौथो स्थानमा छ । युएई समूहको शीर्ष स्थानमा रहेको भियतनाम भन्दा ५ अंकले पछि छ । यद्यपी युएईले एक खेल कम खेलेको छ ।
युएईले मलेसिया थाइल्याण्ड र भियतनामसंग घरेलु मैदान र इन्डोनेसियासंग अवे मैदानमा खेल्न बाँकी छ । यसअघि मार्चमा तय भएको यी खेलहरु कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
युएईले आफ्ना खेलको मिति तय गरेको जनाए पनि एएफसीले भने यस बारे कुनै निर्णय सार्वजनिक गरेको छैन ।
एएफसीले अहिले सबै एसोसिएसनसंग छुट्टा छुट्टै छलफल गरिरहेको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीसँग आज र भोलिमा नै बैठक हुने र नेपालको छनोट खेलबारे थाहा हुने बताए ।
‘एएफसीले सबै क्षेत्रका एसोसिएसनसंग छुट्टा छुटै मिटिङ गरिरहेको छ । हाम्रो आज र भोलिमा मिटिङ छ त्यसपछि छनोट खेलबारे थाहा हुनेछ’ उनले भने ।
छनोट अन्तर्गत नेपालले पनि समूह बी मा अझै ३ खेल खेल्न बाँकी छ । नेपालले सबै बाँकी खेल घरेलु मैदानमा खेल्ने तय छ । छनोटमा नेपालले पाँच खेल खेलिसक्का १ खेल मात्र जितेको थियो चार खेलमा पनि हार बेहोरेको थियो ।
नेपाल रहेको समूह बी मा अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत र जोर्डन क्रमश: दोस्रो र तेस्रो स्थानमा छ नेपाल ३ अंकसहित चौथो स्थानमा छ । अंकविहीन चाइनिज ताइपेई पुछारमा छ ।
प्रतिक्रिया 4