Comments Add Comment

लकडाउनपछि बेलहिया नाकाबाट भित्रियो सवा अर्बको भारतीय तरकारी

२२ जेठ, बुटवल । लकडाउन शुरु भएयता भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै सवा एक अर्ब रुपैयाँको तरकारी र फलफूल भित्रिएको छ ।

यो नाकाबाट चालु आर्थिक वर्षको चैत ११ देखि जेठ २० गतेसम्म ६९ दिनको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजार रुपैयाँको तरकारी तथा फलफूल आयात भएको भैरहवा भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को यही अवधिमा एक अर्ब २१ करोड ६७ लाख ५४ हजार बराबरको तरकारी तथा फलफूल यो नाकाबाट आयात भएको थियो । गतवर्ष भन्दा सात करोड बढीको तरकारी तथा फलफूल आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल भट्टराईले जानकारी दिए ।

‘लकडाउन शुरु भएयताको ६९ दिनमा ४५ लाख ३७ हजार मूल्यको ४ सय ३४ मेट्रिक टन हरियो सागसब्जी मात्रै भारतबाट आयात भएको छ’ भट्टराईले भने, ‘आलु र प्याजको आयात पनि बन्दाबन्दीको अवधिमा उच्च देखिएको छ ।’

चैत ११ देखि जेठ १९ सम्म ४३ करोड ४८ लाख ५४ हजार रुपैयाँको १२ हजार मेट्रिक टन प्याज, दुई करोड ४९ लाख ३७ हजारको दुई हजार ३ सय २६ मेट्रिक टन गोलभेंडा आयात भएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए ।

त्यस्तै आलु २५ करोड २३ लाख ८१ हजार रुपैयाँको १० हजार एकसय २७ मेट्रिक टन आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । स्थानीय तरकारी तथा फलफूलको बिक्रीमा अवरोध, सरकारबाट उचित बजारीकरणमा बेवास्ताका कारण भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपाने बताउँछन् ।

‘भन्सारबाट हुने राजस्व आम्दानीको लोभमा सरकारले स्वदेशी उत्पादनको बजारीकरण र नेपाली किसानलाई प्रोत्साहन गर्न चुकेको छ’ न्यौपानेले, ‘ठाउँठाउँमा स्वदेशी किसानका तरकारी नष्ट गरिंदा सरकारले कारवाही र क्षतिपूर्तिका लागि ठोस कदम चालेको देखिएन ।’

बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट चना, काँचो नरिवल, काँचो केरा, आँप, सुन्तला, अङ्गुर, कागती, खरबुजा÷तरबुजा, मेवा, स्याउ, अनार, कटहर गत वर्षभन्दा भारतबाट अत्यधिक मात्रामा नेपाल भित्रिएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए ।

भन्सारको तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा कम परिमाणमा १७ लाख ३३ हजार मूल्यको ४८ मेट्रिक टन काँचो नरिवल आयात भएको छ ।

लकडाउनको अवधिमा भित्रिएको तरकारी र फलफूलबाट मात्रै भन्सारले १३ करोड २४ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गतवर्षको यही अवधिमा चार करोड २३ लाख १५ हजार रुपैयाँको तरकारी तथा फलफूल आयातबाट राजस्व संकलन भएको थियो ।

कोरोना महामारीका बीच भित्रिने गाडीले तरकारी र फलफूलसँगै कोरोना भाइरससमेत भित्र्याउन सक्ने जोखिम पनि हुने भएकाले तरकारी र फलफूलको आयात केही समय रोक्नुपर्ने भैरहवाका नागरिक अगुवा विजय सागर श्रेष्ठको सुझाव छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिकाको चन्नी र खैरा, सम्मरीमाइ गाउँपालिकाको ठोठरी नाका र कोटहीमाई गाउँपालिकाको कदमहवा नाकाबाट दैनिक ३० देखि ३५ वटा साइकलमा भारतीय तरकारी भित्रिने गरेकोछ । ती तरकारी नेपाल ल्याएर बिक्री गर्दा स्थानीय किसान मारमा परेको गैडहवाका किसान विनोद केवटको गुनासो छ ।

‘भारतीय तरकारी बिक्रीमा अवरोध छैन, तर हामीलाई कालो छाला भएकै आधारमा भारतीय भन्दै तरकारी फालिदिने, सवारी साधनको टायर काटिदिने गरेर बेच्न दिंदैनन्’ केवटले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment