२४ जेठ, काठमाडौं । बास्केटबल लेजेण्ड माइकल जोर्डनले जातीय समानता र सामाजिक न्याएका लागि लडिरहेको समूहलाई १०० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् ।
एनबीएल लेजेण्डले एक स्टेटमेन्ट जारी गर्दै उनी र जोर्डन ब्राण्डले आगामी १० वर्षमा यो रकम सहयोग गर्ने बताएका हुन् । जातिय भेदभावलाई हटाउनका लागि विभिन्न संगठनमा यो रकम जाने स्टेटमेन्टमा उल्लेख छ ।
अमेरिकाका एक पुलिसले जर्ज फ्लोडको हत्या गरेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको बेला जोर्डनको यस्तो स्टेटमेन्ट आएको हो । मे २५ मा गोर पुलिसले फ्लोएडको घाँटी ९ मिनेटसम्म थिचेर हत्या गरेका थिए । अहिले विश्वभर त्यसको विरोध भइरहेको छ ।
‘माइकल जोर्डन र जोर्डन ब्रान्डले आउँदो १० वर्षमा १०० मिलियन डलर अनुदान दिने संयुक्त प्रतिबद्धताको हामी घोषणा गरिरहेका छौं। हामीले समुदाय, सरकार र नागरिक नेताहरूसँग मिलेर दिगो प्रभाव सिर्जना गर्नका लागि हुनुपर्दछ,’ जोर्डन ब्राण्डका अध्यक्ष क्रेग विलियम्सले भने, ‘कालो समुदायको लागि वास्तविक प्रभाव पार्न हामीले अझ धेरै कामहरू गर्न बाँकी छ । हामी यो जिम्मेवारीलाई अँगाल्छौं ।’
गत हप्ता बोल्दै बास्केटबल लेजेण्ड जोर्डनले एकदमै दु:खी भएको, पीडा भएको र रिसाएको बताएका थिए । ‘मैले सबैको पीडा, आक्रोश र निराशा देखेको छु र महसुस गर्दछु,’ उनले भने । उनले आफ्नो देशमा रहेको मानिसको रंगको बारेमा जातीय भेदभाव र हिंसाविरुद्ध बोल्नेहरुको साथमा आफू रहेको बताएका छन् ।
प्रतिक्रिया 4