Comments Add Comment

बायर्नलाई उपाधि जित्न दुई जित आवश्यक

२४ जेठ काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा शनिवार बायर लेभरकुजनलाई पराजित गर्दै उपाधि यात्रा थप बलियो बनाएको छ ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै बायर्नले लेभरकुजनलाई उसैको मैदानमा ४-२ ले हरायो । जितपछि बायर्नले १० अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान बेएरेनामा लुकास अलारियोले १०औं मिनेटमा गोल गर्दै लेभरकुजनलाई पहिले अग्रता दिलाएको थियो । अग्रता लामो समय टिकेन । २७औं मिनेटमा किंग्सले कोमनले बायर्नका लागि बराबरी गोल फर्काए ।

४२औं मिनेट लिओन गोरेट्ज्का र ४५औं मिनेटमा सर्जी गनाब्रीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३-१ को अग्रता बनाएको थियो । ६६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले बायर्नका लागि चौथो गोल गरे । लिगमा यस सिजन लेवान्डोस्कीको यो ३०औं गोल हो भने समग्रमा ४४औं गोल हो ।

लभेरकुजनका लागि फ्लोरिएन विट्जले ८९औं मिनेटमा दोस्रो गोल फर्काए ।

जितपछि बायर्नले ३० खेलबाट ७० अंक जोडेको छ । लिगमा अब ४ खेल बाँकी रहँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको अग्रता बनाएको छ । डर्टमण्डले शनिवारै हेर्था बर्लिनसंग खेल्दैछ ।

बायर्नले अब बाँकी चार मध्ये २ खेल मात्र जितेपनि उपाधि जित्नेछ ।

३० खेलबाट ५६ अंक जोडेको लेभरकुजन भने पाँचौ स्थानमै छ ।

शनिबारै भएको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग भने अन्तिम स्थानको पाडेर्वोर्नसँग १-१ को बराबरीमा रोकियो । इन्जुरी टाइमा गोल खाँदै बराबरीपछि लाइपजिगले डर्टमण्डलाई पछि पार्ने मौका गुमायो ।

घरेलु मैदानमा प्याट्रिक सिकले २७औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । तर ४३औं मिनेटमा याउट उपामेकानो रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिउपछि लाइपजिग पहिलो हाफमै १० खेलाडीमा झर्‍यो । पाडेर्वोर्नका लागि क्रिस्टियन स्ट्रोडिएकले इन्जुरी टाइममा गोल गर्दै हार टारेका थिए ।

बराबरीपछि ३० खेलबाट ५९ अंकसहित लाइपजिग तेस्रो स्थानमै यथावत छ ।

अन्य खेलमा माइन्जले एनट्राट फ्राङ्कफुर्टलाई २-० ले पराजित गरेको छ भने फर्चुना डुसेलडोर्फ र होपेनहेइमले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment