Comments Add Comment

अर्थतन्त्रलाई जोगाउन लकडाउन खुकुलो बनाऔं‌ : निजी क्षेत्र

२६ जेठ, काठमाडौं । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रलाई नै नकारात्मक असर परेको भन्दै निजी क्षेत्रले लकडाउन खुकुलो बनाउन सरकारसँग माग गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि लकडाउन खुकुलो बनाउनुको विकल्प नरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले तत्कालै साना उद्योग-व्यवसायहरू सञ्चालनमा ल्याउनुपर्ने बताए । जिल्लास्तरबाट पनि यो आवाज आइरहेको भन्दै उनले तत्कालै साना व्यवसायहरू खुलाउनु पर्ने बताए ।

‘यसले लोकल लेभलमा रोजगारी सिर्जना गरेर जनजीवनलाई सामान्यीकरण गरेको हुन्छ । अर्थतन्त्रलाई चलायमान गराउन पनि साना व्यवसायहरू तत्कालै सुरु गर्नुपर्छ’ उनले भने, ‘अहिले आंशिकमात्रै सेवा दिइरहेका बैङ्क, फाइनान्स, इन्स्यारेन्सहरू पनि पूर्ण क्षमतामा चलाउनुपर्छ ।’

अर्थतन्त्रलाई चलायमान बनाउन उनले होटल रेस्टुरेन्टको पनि क्यापासिटी घटाएर सेवा दिनुपर्ने बताए । ‘आर्थिक गतिविधि ठप्प भएको छ, लामो समय यसरी ठप्प हुनुहुँदैन । नेपालमा भन्दा पहिला संक्रमण सुरु भएका देशहरूमा अर्थतन्त्र क्रमशः चलायमान बनाउन सुरु गरिएको छ’ उपाध्यक्ष ढकालले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि संक्रमित धेरै भएको ठाउँमा कडाइ गरेर अन्य ठाउँमा लकडाउन खुलाउनुपर्ने बताए । लकडाउन सधैं गरेर समस्या समाधान नहुने र यही मोडालिटीले कोरोना होइन भोकमरीले मरिएला भन्ने चिन्ता भएको उनले बताए ।

‘अर्थतन्त्र चलायमान बनाइराख्नुपर्छ, सरकारले व्यवसायहरू सुरु गर्न हिजै सूचना निकाल्छ भनेको आज पनि सूचना निकालेन’ उनले भने, ‘उच्चस्तरीय समितिले प्रस्ताव तयार गरिसकेको छ भन्ने बुझिएको छ चाँडोभन्दा चाडो निर्णय होस् ।’

हाम्रोभन्दा धेरै संक्रमित भएका देशहरूमा पनि उद्योग व्यवसायहरू सुरु भइसकेको भन्दै उनले सुरक्षा सतर्कता अपनाएर अब लकडाउन खुलाउनुको विकल्प नरहेको बताए । यसरी खोल्ने भनेर मापदण्डचाहिँ बनाउनुपर्ने उनले बताए ।

साना उद्योगी-व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि लकडाउन तत्कालै खुलाउनुपर्ने बताए । सरकारले उद्योग व्यवसाय बचाउनका लागि ध्यान नदिएका कारण महासंघले एकतर्फी निर्णय गरेर व्यवसायहरू सञ्चालनमा ल्याइसकेको उनले बताए ।

अहिलेको मुख्य समस्या भनेको कर, बैङ्कको व्याजदर र घरभाडा भएको भन्दै यसलाई सहज बनाउनका लागि सरकारले ध्यान दिनुपर्ने अध्यक्ष कटुवालले बताए । ‘हामीले हाम्रा समस्या सुनाएको सुनाइ गर्‍यो तर सरकारले सुनेन, जसकाकारण हामी आफैँले व्यवसायहरू सञ्चालनमा ल्याउने निर्णय गर्‍यौं’ उनले भने, ‘यो विषयमा सरकार गम्भीर बन्नुपर्छ, हाम्रो उद्देश्य पनि सरकारलाई सहयोग गर्ने भन्ने नै हो ।’

‘यातायात र होटल पनि खुलाउनुपर्छ’
यातायात र होटल क्षेत्र पनि खुलाउनु पर्ने माग उनीहरूले गरेका छन् । होटल एसोसिएसनकी अध्यक्ष सिर्जना राणाले सुरक्षा सतर्कता अपनाएर होटलहरू पनि सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।

उनले भौतिक दुरी कायम गरेर भए पनि अब लकडाउन खुकुलो बनाउनुपर्ने बताइन् । उनले कसरी खुलाउने भन्ने विषयमा खाका तयार भइसकेको बताइन् । ‘हामीले कसरी चलाउन सकिन्छ भनेर रिपोर्ट तयार गरिसकेका छौं। सधैं बन्द गरेर हुँदैन’ उनले भनिन्, ‘होमवर्क भइसकेको छ, सोहीअनुसार अब लकडाउन सहज बनाउनुपर्छ ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सुरक्षाको सतर्कता अपनाएर गाडी खुलाउन आफूहरू तयार रहेको बताएका छन्। तर, सुरक्षाको विषयमा ध्यान नदिएर त्यत्तिकै गाडी चलाउन भने नसकिने उनले बताए। ‘यातायात क्षेत्रलाई पनि सुविधा दिनुपर्छ, बेवास्ता गरिएको छ’ उनले भने, ‘हाम्रा चालक, सहचालक पनि डाक्टर नर्स जस्तै खटिन्छन्, उनीहरूको बारेमा पनि सोच्नुपर्छ ।’

यातायात भनेको अर्थतन्त्रको रक्तसञ्चार भएको भन्दै सिटौलाले अर्थतन्त्रलाई चलायमान बनाउन यातायात क्षेत्रलाई अग्रपङ्क्तिमा राखेर होमवर्क गर्न सरकारलाई आग्रह गरिएको उनले बताए । ‘त्यहाँ काम गर्ने कर्मचारीको स्वास्थ्य सुरक्षाको ध्यान दिने हो भने हामी गाडी चलाउन तयार छौं तर यसै गाडी चलाउ भनेको भरमा चलाउन सक्दैनौ‌ं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment