Comments Add Comment

चिउँडोमा मास्क छ, हामीलाई केको डर !

साना व्यवसायीको प्रश्न– सुरक्षित बसौं कि, पेट पालौं ?

२६ जेठ, काठमाडौं । ‘१० रुपैयाँ, १० रुपैयाँ, आउनुस्, आउनुस्’ बालकृष्ण दंगाल हातमा पालंगो र रायोको साग देखाउँदै कालीमाटी फलफूल तथा तरकारी बजारमा ग्राहक बोलाइरहेका छन् । ग्राहकहरू आउँछन्, कोही दलाली गरेर कम मूल्यमा लैजान्छन् त कोही तोकिएकै मूल्यमा लैजान्छन् ।

सोमबार बिहान कालीमाटीमा देखिएको दृश्य हो । बालकृष्णले लगाएको मास्क चिउँडोमा पुगिसकेको छ । ‘लौ ५० रुपैयाँमात्रै दिनुस्’ पालु‌ंगोको ६ वटा मुठा बालकृष्णले ग्राहकका हातमा थमाइदिन्छन्। बालकृष्ण बिहानै उठेर तरकारी बोकेर कालीमाटी पुग्छन् । तरकारी बिक्री भए भइहाल्यो, नत्र फिर्ता लिएर उनी बिहानका ८ नबज्दै उनी घर फर्कन्छन्।

‘आफ्नै बारीमा पनि फलाएको छु, आफ्नामा नभएको बेला किनेर ल्याएर पनि बिक्री गर्छु’ बालकृष्णले भने, ‘लकडाउनपछि एक महिना ६ दिन त त्यत्तिकै बसे‌ं, तर सधैं बसेर पनि नहुने रहेछ ।’ अहिले पनि लकडाउन जारी छ ।

बालकृष्ण जस्ता धेरै व्यापारीहरु आफ्नो व्यवसायलाई सुरु राखेका छन् । ‘कोरोनाले केही समय धेरै तनाव दियो, तर सधै‌ं तनाव लिएर पनि नहुने रहेछ’ व्यापारीहरू सुनाउछन् । सबैलाई चिन्ता आम्दानीकै छ ।

रोगबाट बच्न आम्दानीको वास्ता नगर्ने भए बाच्ने कसरी ? यहीँ प्रश्न गर्छन् व्यापारीहरू । कोरोनाबारे सबै व्यापारीहरू जानकार नै छन् । उच्च सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने सबैलाई जानकारी छ । धेरैले मास्क लगाएका छन् । थोरै संख्याले हातमा पञ्जा पनि लगाएका छन् ।

कोहीकोहीको त न हातमा पञ्जा छ, न त अनुहारमा मास्क नै । तरकारी किन्न जानेहरू पनि निर्बाध हिँडिरहेका छन् । ‘व्यापार गर्नै पर्ने बाध्यता कोरोनाबाट सचेत हुनुपर्छ भन्ने लाग्दैन’ हाम्रो कुरा पछि उनी केही हच्किन्छन् ।

उनले आफ्नो मास्क चिउँडोमा पुगेको सम्झिन्छन् । ‘डर लाग्छ नि किन नलाग्नु, अरू मान्छे छेउमा आउँदा थरङ्गै हुन्छ, तर व्यापार नगरी नहुने’ उनले चिउँडोमा रहेको मास्क नाकसम्म पुर्‍याउँदै भने, ‘धेरैबेर लगाउँदा अस्पट हुन्छ, सास फेर्न पनि गाह्रो भएजस्तो हुनाले घरीघरी मास्क तल झार्छु ।’

बालकृष्णकै छेउँमा बसेर तरकारी बिक्री गरिरहेका उपेन्द्र कार्कीको पनि मास्क चिउडोमै छ । नाक र मुख ढाक्ने गरी मास्क लगाउनुपर्छ भन्ने ज्ञान उपेन्द्रलाई पनि छ । ‘थाहा छ नि, तर, के गर्दा के गर्दा तल झरिहाल्छ’ उपेन्द्र सुनाउँछन् ।

बालकृष्ण र उपेन्द्रजत्तिकै सजग सबैजना भने छैनन् । कतिपय मास्क पनि लगाई ठमठम हिँडिरहेका छन् । ‘जुरुक्क उठेर आएको, मास्क त घरमै बिर्सिएछु’ तरकारी बजारमो भिडमा भेटिएका एक व्यक्तिले सुनाए ।

‘लकडाउनको सुरु सुरुमा प्रहरीले पनि मास्क लगाएको छ कि छैन भनेर हेर्थ्यौं, अहिले त वास्तै गर्दैन’ व्यापारी भोला यादव भन्छन्, ‘उनीहरूका कारण हामीलाई पनि डर भइरहेको छ ।’ अरूको कारण डर भएको बताउने भोलाले पनि हातमा पञ्जा भने लगाएका छैनन्।

‘हात धोएर आएको छु, पञ्जा हिजोसम्म त लगाएकै थिएँ’ भोलाले भने, ‘मास्क त म कहिल्यै छुटाउदिन, अरूले पनि सबैले लगाए हुने ।’

व्यापारीकै शैली अर्थात् चिउँडोमा मास्क लगाउँछन् तरकारी ओसार्ने गाडीका चालक र सहचालक। कोरोना संक्रमणबारे जनस्तरमासम्म सामान्य जानकारी पुगिसक्यो । तर कालीमाटी बजारमा लाग्ने भिडको बीचमा पुग्ने केही चालक सहचालकहरू मास्क पनि अरूका लागि लगाइदिनुपर्नेजस्तै गर्छन् ।

‘हामी दिनैपिच्छे यसरी नै तरकारी ओसारिरहेका छौं, यहाँ अनलोड गरेर हामी गइहाल्छौं’ कालीमाटीमा एक गाडी साग ओराल्दै गरेका युवाले भने, ‘मास्क त लगाउँछु नि, तर सधैं चाहिँ लगाउने कुरा भएन ।’

गफगाफकै क्रममा उनले खल्तीमा भएको मास्क निकाले । जसोतसो नाकको प्वालसम्म पुग्ने गरी मास्क लगाएका उनी आफ्नो काममा भिडिहाले । तरकारी अनलोड गरिएको अर्को मिनि ट्रकका चालक भने मास्क लगाउनै अप्ठ्यारो लाग्ने सुनाउँछन् ।

‘लकडाउन सुरु भएपछि झन्डै एक महिना त म घरमै सुते, त्यतिबेलासम्म मास्क लगाउनु परेन’ उनले भने, ‘पछि यहाँ आउँदा त मास्क लगाउने गरेको छु, सधैं लगाउँछु ।’ च्यापुमै झरिसकेको मास्कलाई माथि तान्दै उनले लगाउने बानी अझै नबसिसकेको बताए ।

कालीमाटीका ग्राहक पनि अधिकांश व्यापारी नै हुन् । थोक बजार भएका कारण त्यहाँ बिहानै व्यापारीहरू तरकारी किन्न पुग्छन् । ती व्यापारीहरूको अवस्था पनि उस्तै छ । मास्क लगाई टोपलेका छन् ।

बिहान उज्यालो हुन नपाउदै पुगेका कालीमाटी पुग्ने व्यापारीहरू धेरैले मास्क घरमै छुटाउँछन् । कसैले गोजीमै बोकेका हुन्छन् त कोहीले चिउँडोमा झुन्ड्याएका हुन्छन् ।

सुरक्षित बसौं कि, पेट पालौं ?

सुरक्षासँगै हामीले व्यापारको विषयमा पनि चासो राख्यौं । व्यापार धेरै घटेको उनीहरूले सुनाए । अहिले व्यापार नगरी बस्दा पछि व्यापार नै गर्न नपाइएला कि भन्ने पिर उनीहरूमा रहेछ ।

किसानको ल्याएर बिक्री गर्ने व्यापारीहरूले किसानको तरकारी खेतमा कुहिन नदिन पनि व्यापार गरिरहनुपरेको अनुज पाण्डे सुनाउँछन् । नियमित खरिद नगर्ने हो भने किसानले उत्पादन नै आफूलाई नदिने उनले सुनाए ।

‘एउटा किसानले तीन जनालाई बिक्री गर्छन, तीनमध्येको एक म हुँ’ अनुज भन्छन्, ‘म आज गइन भने किसानको तरकारी बिक्दैन, आज नबिकेको त्यसै फाल्लान् तर पछि मलाई चाहिएका बेला म गएँ भने त्यतिबेला मलाई दिँदैनन् ।’

नियमित व्यापार नगरे ग्राहकहरू पनि नआउने भएका कारण नियमित आफूले चलाइरहेको बताए । काठमाडौंमा मान्छे कम भएका कारण पछिल्लो समय व्यापार कम भएको उनले सुनाए ।

बालकृष्ण पनि व्यापार राम्रो नहुँदा चिन्ता बढेको सुनाउँछन् । आज खेतबाट ल्याएको तरकारी आजै बेचिसक्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘यो साग आजै बेचिसक्नुपर्छ, भोलि त कुहिएर बिग्रिहाल्छ’ उनले भने, ‘त्यही भएर पनि सस्तोमा दिनु परेको छ, सस्तोमा दिँदा गाडी भाडा पनि उठ्न मुस्किल नै पर्छ ।’

अर्का व्यापारी नुनीराम मगर पनि लगानी उठाउनै मुस्किल रहेको बताउँछन् । कोरोना त्रासपछि ठप्प भएको बजार भर्खरै सुरु भएको छ । कालीमाटीमा चहल-पहल बढे पनि व्यापार भने खुसी भएर हाँस्नेखालको नभएको उनले बताए ।

व्यापार कम हुने र कोरोनाको डर हुँदाहुँदै पनि पेट पाल्नका लागि काम गर्नै पर्ने व्यापारीहरू सुनाउँछन् । ‘मैले यहाँ व्यापार गर्न थालेको ५ वर्ष भइसकेको छ, यही व्यापारले मैले परिवारको खर्च टार्छु’ नुनिराम भन्छन्, ‘अब सुरक्षित भइन्छ भनेर घरमै बस्ने हो भने त कसरी पेट पाल्नु ?’

कोरोना संक्रमणबाट जोगिनका लागि सबैले सावधानी अपनाउने हो भने डराइहाल्नु नपर्ने उनी बताउँछन् । आफूमात्रै सुरक्षित भएर नहुने भन्दै उनले कालीमाटी जाने सबैले सावधानी अपनाउनु पर्ने बताए ।

‘यहाँ आउने सबैले सावधानी अपनाउने हो भने, किन डराउनु पर्‍यो । सुरक्षामा चाहिँ ध्यान दिनुपरो सबैले’ उनले बताए ।

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो  : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment