Comments Add Comment

मन्त्रीले पठाएका विशेषज्ञ डाक्टर खोज्दै कर्णालीका सांसद

कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको बैठक ।

२७ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या थपिँदै ६७१ जना पुगिसकेको छ । तर, कोरोना महामारी रोकथाम तथा उपचारका लागि न पर्याप्त विशेषज्ञ चिकित्सक छन्, न स्वास्थ्य सामग्री र बजेट नै ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट निर्वाचित सांसद नवराज रावत हाल संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । कर्णालीका सरोकारवालाले आफ्नै प्रदेशको राज्यमन्त्री हुँदा पनि कोरोना महामारी रोकथाममा केन्द्र सरकारको सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।

कर्णालीमा कोरोना महामारी नफैलँदै आफ्नो निर्वाचन क्षेत्र सुर्खेत क्षेत्र नम्बर २ मा आई मास्की र सेनिटाइजर बाँडेका उनी अहिले गुमनामजस्तै छन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल राज्यमन्त्री रावतलाई कर्णालीको अवस्थाबारे पटक–पटक अवगत गराउँदा पनि कुनै सुनुवाई नभएको बताउँछन् ।

‘आवश्यक पीसीआर मेसिन र विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको टिम कर्णालीमा पठाइदिन हामीले पटक–पटक अनुरोध गरेका छौं । तर, न त राज्यमन्त्रीले सुन्नुहुन्छ । न त केन्द्रले नै सुन्छ’ उनले भने ।

कर्णालीका कोरोना संक्रमित बढी देखिएको दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । दैलेखबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद धर्मराज रेग्मीले राज्यमन्त्रीले कर्णालीमा १८ जना विशेषज्ञ डाक्टर पठाएको जानकारी आफूले पाएको भन्दै मंगलबार प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा ती डाक्टर कता छन् भनी प्रश्न गरे ।

तर, प्रदेशमन्त्री दल रावलले त्यसबारे आफूलाई जानकारी नै नभएको बताए । ‘केन्द्रबाट आउने डाक्टरहरु हाम्रो मन्त्रालयको सम्पर्कमा आउनुपर्छ, आउँछन्, तर अहिलेसम्म त्यस्ता एकजना पनि कर्णालीमा डाक्टर आएका छैनन्,’ उनले भने ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतसँग जिज्ञासा राख्दा उनले कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउने कुरा भएको तर उनीहरु गएको वा नगएको जानकारी नभएको जवाफ दिए । ‘कर्णालीमा विशेषज्ञ डाक्टर पठाउने कुरा पहिले नै भएको हो । तर डाक्टर गए नगएको ठ्याक्कै जानकार छैन । म अहिले मिटिङमा छु । पछि बुझेर जानकारी दिन्छु’ उनले टेलिफोनमा भने ।

उपेक्षामा कर्णाली

अरु ६ वटै प्रदेशमा कोरोना भाइरस संक्रमण भइसक्दा पनि कर्णालीमा एक जना पनि संक्रमित थिएनन् । तर, अहिले धेरै कोरोना संक्रमित भएको प्रदेशमा कर्णाली परिसकेको छ ।

क्वारेन्टिनस्थल व्यवस्थित नहुँदा यहाँका क्वारेन्टिनबाटै रोग फैलिने चिन्ता छ । आइसोलेसन बेडको अभावमा संक्रमितलाई पनि अन्य व्यक्तिसँगै क्वारेन्टिनमा राखिएको छ ।

पीसीआर मेसिन धेरै क्षमताको नहुँदा हजारौं स्वाबहरु प्रयोगशालामा थुप्रिएका छन् । हालसम्म संक्रमणकै कारण तीनजनाले ज्यान गुमाइसकेका छन । आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य पुर्वाधार नहुँदा कर्णालीलाई यही संख्या थेगिनसक्नु छ । तर, कर्णालीमा संघीय सरकारको उपस्थितिको आभास छैन ।

कर्णालीका प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही भन्छन् ‘केन्द्रले फेरि कर्णालीलाई उपेक्षा गरेको छ । कर्णाली जतिसुकै कराए पनि न त सुन्छ, न केही जवाफ दिन्छ ।’

संक्रमित क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन निर्देशन

कर्णालीका कोरोना संक्रमित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी पठाउन विधायन तथा प्रदेश मामिला समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमित बढी देखिएको दैलेख, सुर्खेत र सल्यान लगायतका जिल्लामा संक्रमित अनुसार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी पठाई जनशक्ति र स्वास्थ्य पूर्वाधारको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिकी सचिव शर्मिला विश्वकर्माका अनुसार समितिले परीक्षणको दायरा बढाउन, परीक्षण तीब्र बनाउन र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रदेश सरकारलाई निर्देशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment