Comments Add Comment

भरतपुर महानगरका वडा धमाधम ‘सिल’, बैंकसमेत बन्द गराइयो

२९ जेठ, चितवन । क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि चितवनको भरतपुर महानगरपालिकाका केही वडाध्यक्षहरुले धमाधम वडा बन्द (सिल) गरेका छन् । कतिपयले त कार्यक्षेत्रभन्दा बाहिर गएर बैंक तथा वित्तीय संस्थासमेत बन्द गराएका छन् ।

आजबाट माडी नगरपालिका सात दिनसम्म सिल गरिएको छ । अस्पतालबाट रिफर वा डिस्चार्ज गरेका बिरामी, उनीहरुका कुरुवा तथा मृतकका नजिकका परिवार सदस्यहरुबाहेक अरुलाई माडी आउन र जान रोकिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए । खेतीपातीको समय पनि सुरु भएको र माडीमा सामूहिक रुपमा खेती गरिने हुँदा संक्रमण फैलिन नपाओस् भनेर अहिले नै सावधानी अपनाइएको नगरप्रमुख ढकालको भनाइ छ ।

महानगरपालिकालाई जानकारी नै नदिएर वडा सिल

वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले जेठ ३२ गतेसम्म वडाभित्रका सम्पूर्ण व्यवसाय पूर्णरुपमा बन्द गरेको सूचना निकालेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष विजय भुजेलले जेठ २८ गतेदेखि असार ३ गतेसम्म ८ दिन वडा सिल गरिएको सूचना निकालेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडाध्यक्ष र जनप्रतिनिधिहरुले आफूखुसी वडा बन्द गराउनु गलत भएको बताए । बैंक तथा वित्तीय संस्था बन्द गराउने अधिकार वडालाई नभएको उनको भनाइ छ

यस्तै वडा नं. ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले जेठ २८ देखि ३२ गतेसम्म ५ दिन, वडा नं. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले जेठ २८ देखि ३२ गतेसम्म वडा सिल गरेका छन् ।

वडा नं. ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जेठ २७ देखि ३२ गतेसम्म ६ दिन, वडा नं. १८ का वडाध्यक्ष दीपक लामाले जेठ २९ गतेदेखि ३२ गतेसम्म ४ दिन, वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जेठ २७ गतेदेखि ३२ गतेसम्म ६ दिन वडा सिल गरेको जनाएका छन् ।

वडा नं. ११ का वडाध्यक्ष बाबुराम अधिकारीले दिन तोकेर वडा सिल गराएका छैनन् तर उनले सरकारले जारी गरेको लकडाउन कडाइका साथ पालना गर्न सूचना जारी गरेका छन् ।

सिल गरिएको वडा नं. २५ र १८ मा अहिलेसम्म एक जना पनि संक्रमित भेटिएका छैनन् । तर उनीहरुले दूध, औषधि, मेडिकल उपकरण, डेरी, पशुपंछी दाना, खाद्यान्न बाहेकका पसल, उद्योग, बैंक तथा वित्तीय संघसंस्था बन्द गर्न भनेका छन् ।

वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जनगुनासोको आधारमा केहीदिन हेरौं भनेर वडा बन्द गरिएको बताए । ‘वडामा बाहिरबाट समेत मानिसहरु सामान किन्न आए, बैंकमा पनि भिड लाग्यो, खाद्यान्न पनि उस्तै देखियो, दैनिक चार–पाँच सय मान्छेको ओहोरदोहर भएकाले बन्द गरेका हौं,’ वडाध्यक्ष महतोले भने । उनले वडा बन्दका विषयमा महानगरपालिकालाई पनि जानकारी गराइएको बताए ।

वडा नं. २२ मा क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ५ का स्थानीय सूर्यभक्त अधिकारीले वडाध्यक्षहरुले धमाधम वडा बन्द गराउने प्रतिस्पर्धा चलाएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आवश्यकता हो भने महानगरपालिकाले नै सूचना निकालेर बन्द गरे भो, होइन भने वडाध्यक्षहरूले फेसनका रूपमा बन्द गर्नु राम्रो भएन,’ अधिकारीले भने ।

भरतपुर महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार केही वडाले महानगरपालिकालाई जानकारी दिएर वडा सिल गरेका छन् भने केहीले जानकारी नै नदिइ गरेका छन् । केन्द्रीय सरकारले नै लकडाउन गरेको सन्दर्भमा त्यसलाई कार्यान्वयनमा लैजानका लागि सहयोग गर्दा नै उद्देश्य पूरा हुने प्रमुख प्रशासकीय अधिकृत जोशी बताउँछन् ।

प्रजिअ भन्छन्- आफूखुसी गर्ने अधिकार छैन

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडाध्यक्ष र जनप्रतिनिधिहरुले आफूखुसी वडा बन्द गराउनु सरासर गलत भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ भट्टराईले जनप्रतिनिधिहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर वडा वा नगरपालिका सिल गराउनु राम्रो नभएको बताए । बैंक तथा वित्तीय संस्था बन्द गराउने अधिकार वडालाई नभएको उनको भनाइ छ ।

सरकारले नै लकडाउन जारी राखेकाले थप बन्द वा सिलको अर्थ नरहेको प्रजिअ भट्टराईले बताए । ‘हामीले बरु स्थानीय तह र टोल विकास संस्थासँग गरेको अपेक्षा भनेको लकडाउनको पूर्णपालन, सचेतना र कोही नयाँ मान्छे आएमा जानकारी र क्वारेन्टिनमा लैजाने व्यवस्था र सहयोग हो,’ प्रजिअ भट्टराईले भने, ‘तर क्वारेन्टिनमा संक्रमण हुँदैमा बन्द गराउने सूचना निकाल्नु राम्रो हैन ।’ सरकारको निर्णय कार्यान्वयनमा लाग्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment