+
+

नेपालमा कोरोना संक्रमितकाे अचम्मको तथ्यांक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १०:१७

२९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये महिला ३०९ र पुरुष ४ हजार ५५ जना छन् ।

उमेर समूहको हिसाबले हेर्दा सबैभन्दा बढी संक्रमण युवाहरूमा देखिएको छ । ६० प्रतिशत संक्रमित २१ देखि ४० वर्षका छन् । २१ देखि ३० वर्षका संक्रमित ३९ प्रतिशत छन् । ८६ प्रतिशत संक्रमित ११ देखि ४० वर्षका छन् ।

सबैभन्दा पहिला कोभिड–१९ देखिएको चीनमा भने २० देखि ३९ वर्षसम्मका संक्रमित जम्मा २५ प्रतिशत थिए । त्यहाँ ५० देखि ५९ वर्ष उमेर समूहमा सबैभन्दा बढी अर्थात् २२ प्रतिशत संक्रमित थिए ।

ज्येष्ठ नागरिक एक प्रतिशत भन्दा कम

चीनमा गरिएको एक अध्ययन अनुसार त्यहाँ ६० वर्ष भन्दा बढी उमेर भएका संक्रमित झण्डै एक तिहाई थिए । ४४ हजार ६७२ मा गरिएको उक्त अध्ययन अनुसार संक्रमित मध्ये ३१ प्रतिशत भन्दा बढी ज्येठ नागरिक थिए ।

तीन प्रतिशतभन्दा बढी संक्रमित ८० वर्ष भन्दा माथिका थिए । नेपालमा ६१ वर्ष कटेका संक्रमित एक प्रतिशत भन्दा कम छन् ।

बुधबारसम्मको तथ्यांक अनुसार ६१ वर्षभन्दा बढी उमेर पुगेका ४० जनामा संक्रमण देखिएको थियो । उनीहरू धेरैले स्वास्थ्य लाभ गरिसकेका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा ८० वर्षभन्दामाथि एक जनामा कोरोना देखिएको थियो । सुखद कुरा उनले स्वास्थ्य लाभ गरिसकेकी छन् । बाग्लुङकी ६५ वर्षीय महिलाले दमको समस्याका बावजुद कोरोना जित्न सफल भइन् ।

दुई देखि ७६ वर्षसम्मका मृतक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । सबभन्दा कम उमेरकी बाजुराकी दुई वर्षीय बालिका र बढी उमेरका दोलखाका ७६ वर्षीय पुरुष छन् ।

८ जना ५० वर्षभन्दा कम उमेरका र ७ जना ५१ वर्षभन्दा बढी उमेरका छन् । चीनमा मृतक मध्ये ९४ प्रतिशत ५० वर्ष भन्दा बढी उमेरका थिए । ६० प्रतिशतभन्दा बढी मृतक ६० देखि ७९ वर्ष उमेर समूहका थिए ।

त्यहाँ २९ वर्ष भन्दा कम उमेर समूहका मृतक एक प्रतिशत भन्दा पनि कम थिए ।

युवामा बढी संक्रमण किन ?

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार ८५ प्रतिशत भन्दा बढी संक्रमित भारतबाट आएका हुन् । बुधबार प्रतिनिधि सभामा गरिएको उनको सम्बोधनलाई आधार मान्ने हो भने ३७ सय ९ संक्रमित भारतबाट आएका हुन् ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित धेरै जसो संक्रमण विदेशबाट आएका देखिएकाले युवाको संख्या बढी भएको बताउँछन् । उनी भन्छन्, ‘रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा बढी केस देखिएकाले युवाको संख्या धेरै देखिएको हो ।’

कम जोखिमपूर्ण भनेका युवाहरूमा मृतक संख्या बढी देखिनु, धेरैजसो संक्रमितमा लक्षण नदेखिनु जस्ता कुरा थप अध्ययनको विषय भएको डा. दीक्षित बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?