Comments Add Comment

पर्सामा क्वारेन्टिनबाट भागेका ४४ जनालाई फर्काइयो

३० जेठ, वीरगञ्ज । पर्सामा पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएको भन्दै क्वारेन्टिनबाट भागेका ४४ जनालाई फिर्ता ल्याइएको छ । धोबिनी गाँउपालिका–४ लगंडीस्थित कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टिनबाट बिहीबार राति भागेका उनीहरुलाई फिर्ता ल्याएको हो ।

क्वारेन्टिनबाट एकै पटक ४४ जना फरार भएपछि उनीहरुलाई फिर्ता ल्याउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । क्वारेन्टिनबाट भागेकालाई फिर्ता ल्याउन निकै कष्ट झेल्नु परेको प्रहरीको भनाइ छ । क्वारेन्टिनमा बसेका सबै जना एकाएक फरार भएको सूचना पाउने बित्तिकै प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले भने, ‘फरार भएका मध्ये २२ जनालाई राति नै फिर्ता ल्याउन सफल भयौं । तर बाँकी २२ जनालाई भने शुक्रबार मात्रै खोजेर क्वारेन्टिनमा फिर्ता ल्याएर राखेका छौं ।’ उनका अनुसार फरार भएका व्यक्तिहरुलाई खोज्नका लागि प्रहरी टोली घर घरमै पुग्ने परेको थियो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जय यादवका अनुसार भाग्ने मध्ये ४१ जनाको स्वाब जेठ २५ गते संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएको थियौं । तीन जना भने केही दिनअघि मात्रै क्वारेन्टिनमा आएर बसेका कारण उनीहरुको स्वाब संकलन नगरिएको उनले बताए ।

‘क्वारेन्टिनमा बसेको १४ औं दिनमा ३१ जनाको स्वाब संकलन गरेका थियौं,’ यादवले भने, ‘स्वाब संकलन भएको पाँच दिन बित्दा पनि रिपोर्ट नआएको भन्दै उनीहरु राति क्वारेन्टिनबाट भागेको देखिन्छ ।’

भागेका मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ

स्वास्थ्य संयोजक यादवका अनुसार क्वारेन्टिनबाट भागेका मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार आएको रिपोर्ट अनुसार ९ जनाको रिपोर्ट आउन बाँकी रहेको र अन्य तीन जनाको स्वाब संकलन हुन बाँकी रहेको उनले बताए ।

यादवले भने, ‘बाँकी ९ जनाको पनि रिपोर्ट आएपछि ४१ जनालाई डिस्चार्ज गर्छौं । बाँकी तीन जना भने क्वारेन्टिनमा आएर बसेको चार दिन मात्रै भएको छ । १४ दिन पुगेपछि मात्रै उनीहरुको परीक्षण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment