३२ जेठ, काठमाडौं । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।
घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले अनलाइनखबरलाई बताए ।
पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएकी थिइन् । एक जना प्रतिवादीले जबरजस्तीकरणी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको महिलाको भनाइ छ ।
