Comments Add Comment

मान्छेसँग लुटपुटिएर हुर्कँदैछे गैंडाकी छोरी पुष्पा !

४ असार, चितवन । कहिले चौरको हरियो घाँस चर्ने, कहिले घरको पाली मुनि गएर सुत्ने, कहिले मानिससँग लुटुपुटु गर्ने पुन्टी पुष्पा, चितवन सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको आँगनको शोभा बनेकी छन् ।

उनको फ्याकफुरुक देख्दा टक्क अडिएर नहेर्ने सायदै होलान् । यहाँ आउनेहरु निकै रमाउँछन् पुष्पालाई देखेर । विस्तारै ठूली हुँदै गएकाले पुष्पा कहिले कता, त कहिले कता डुल्ने गर्छिन् । उनको पछिपछि लाग्छन् हेरालुहरु । हेरचाहमा कोषका पाँच जना कर्मचारी सिफ्टअनुसार डिउटी मिलाएर खटिएका छन् ।

पुष्पाले हरेकलाई उत्तिकै माया गर्छिन् । आमाको काखमा सिरानी हालेर सुत्न खोजेजस्तै गर्छिन् । कहिले हान्न खोजेजस्तो गरी धकेल्दै पनि आउँछिन् । हिँजोआज उनका बानी र व्यवहारमा केही परिवर्तनहरु आउन थालेका छन् । पुष्पाको मायाका अगाडि आफूहरु पनि लोभिने गरेको कर्मचारीहरु बताउँछन् ।

आफ्नो घरको छोराछोरीको जत्तिकै माया गरेर हुर्काएको बताउँछन् कोषका कर्मचारी गणेश लामा । लामासँगै टीकाराम थारु, सुरेन्द्र चौधरी, लालबहादुर महतरा र शिवराज महतो पुष्पाको स्याहारका लागि खटिने गर्दछन् । कहिले घाँस काटेर खुवाउने, कहिले केरा खुवाउने, हेरचाह गर्ने उनीहरुको दैनिकी हो । दैनिक २० लिटर दूध पनि खुवाइन्छ ।

तालिका अनुसार दैनिक चारपटक पुष्पालाई खाने कुरा दिने गरिएको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय प्रमुख रामकुमार अर्याल बताउँछन् । अर्यालका अनुसार आमाबाट छुटेको बच्चाले राम्रो स्याहार नपाए बचाउन गाह्रो हुन्छ । त्यसैले संवेदनशील भएर रेखदेख गर्नुपर्ने हुन्छ ।

निकुञ्जले उद्धार गरेको जनावर र तिनका बच्चाको रेखदेख कोषले गर्दै आएको छ । निकुञ्जका धेरैजसो भेटेनरी चिकित्सकहरु पूर्वी सेक्टरमा नै बस्ने भएकाले यहीँ नै गैंडाका टुहुरा बच्चाहरुलाई राख्ने र हुर्काउने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएका गैंडाका टुहुरा केटाकेटी मध्ये सबैभन्दा सानो उमेरमा ल्याइएको पुष्पालाई हो । आमाको साथबाट ११ दिन नहुँदै छुटेको र फूलजस्तै लागेकाले कोषका कर्मचारीहरुले ‘पुष्पा’ नाम राखिदिए । कोषमा हुर्काइएका ६ वटा ‘केटाकेटी’ मध्ये पुष्पा नै पहिलो ‘केटी’ हुन् । त्यसैले पनि अरु केटाको तुलनामा पुष्पाको व्यवहार फरक लाग्दैछ यहाँका कर्मचारीलाई । यसअघि कोषमा बीरू, बाङ्गे, मंगले, मेघौली र त्रिवेणीलाई हुर्काइएको थियो ।

पाँच महिना पुगेकी पुष्पाले विगत १ महिना अघिदेखि घाँस खान थालेकी हुन् । सानो–सानो घाँसमा मसिनोसँग चर्ने प्रयासमा पुष्पाका दिन जाने गर्छ ।

कोषका चिकित्सकहरुले पुष्पाको स्वास्थ्य जाँच बेलाबेलामा गरिरहन्छन् । उमेर अनुसारको वजन भए/नभएको, पानी पुगे/नपुगेको, पेट र दिसामा केही खरावी भए/नभएको, शरीरमा घाउ भए/नभएको र उमेर अनुसारको पोषण पुगे/नपुगेको चिकित्सकहरुले जाँच गर्छन् । ल्याएदेखि अहिलेसम्म पुष्पामा स्वास्थ्य सम्बन्धी कुनै समस्या हुन नदिएको कोषका कर्मचारी टीकाराम थारुले बताए । कोषले बनाएको विशेष खोरमा साँझ ६ बजे पठाइने पुष्पालाई विहान ९ बजेपछि बल्ल बाहिर निकालिन्छ । राति घाँस दिने गरिन्छ ।

दलदलमा भासिएको त्यो दिन

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको तमासपुरमा गत माघ ३ गते गैंडाको एक सानो बच्चा दलदले हिलोमा भासिएको खबर त्यहाँ पुगेका गेम स्काउटहरुबाट आयो । निकुञ्ज र कोषका कर्मचारीहरु तत्कालै तमासपुर पुगे । दलदलमा फसेको बच्चालाई तत्कालै उद्धार गरे । जन्मेको एक–दुई दिनमै आमासँग बच्चा बिछोडिएको हुन सक्ने अनुमान गरिएको छ । ‘बच्चा निकै आलसतालस थियो, हेर्दा भर्खरै आमाको पेटबाट जन्मिएको जस्तो,’ त्यसदिन सम्झिँदै कोषका कर्मचारी गणेश लामा भन्छन्, ‘केही घण्टा ढिला भएको भए सायद गैंडाको बच्चालाई बचाउन सकिँदैनथ्यो होला, निकै सानो थियो, निकै आत्तिएको पनि ।’

उद्धार गर्दाको समयमा पुष्पा

गैंडाको बच्चालाई दलदले भासबाट निकालेपछि दुई दिनसम्म माउ आउँछ की भनेर राखियो । कोष र निकुञ्जका कर्मचारी त्यहीँ नै पाल टाँगेर बसे । बच्चालाई दूध खुवाएर स्याहार गरे । तर, बच्चा खोज्दै माउ आएन । नजिक वरपर कतै मरेको छ की भनेर पनि खोजी भयो । माउको बारेमा कतै केही पत्ता नलागेपछि कोषको कार्यालयमा बच्चालाई ल्याइयो । ‘बच्चा एक हप्ताको मात्रै भएको थियो, शरीर पूरै रातो थियो,’ कोषमा विगत १० वर्षदेखि काम गरिरहेका लालबहादुर महतरा ती दिन सम्झिँदै भन्छन्, ‘यति सानो बच्चा हामीले निकुञ्जबाट उद्धार गरेर ल्याएकै थिएनौं, बचाउन सक्दैनौं की भन्ने डर थियो ।’

शुरुमा दैनिक दुई लिटर दूध खुवाएर राखियो पुष्पालाई । सुत्केरी आमाले साना छोराछोरीलाई तोरीको तेल लगाइदिए जस्तै गरी कर्मचारीहरूले तेल लगाइदिन्थे र माघको पहारिलो घाममा सुताउँथे । सुरुमा खोरमा राख्दा खोरमा मुख जोतेर घाउ नै घाउ बनाएकी थिइन् पुष्पाले । तर अहिले घाउ निको भएको छ ।

बिस्तारै जंगलमा छाड्छौं : निकुञ्ज 

२०७४ मा राप्तीमा आएको ठूलो बाढीले निकुञ्जका कयौं गैंडालाई बगायो । बाढीले बगाउँदा कति गैंडा मरे भने कतिलाई भारतबाट समेत उद्धार गरेर निकुञ्जमा ल्याइयो । उद्धार गरेर ल्याइएका गैंडामा पर्दछन् मंगले र मेघौली । उद्धार गरेर ल्याउँदा उनीहरु करीब २ वर्षका थिए । उद्धार गरेर ल्याइएका गैंडालाई निकुञ्जको पूर्वी सेक्टर सौराहामा राख्ने गरिन्छ । यहीँ नै राख्ने, खुवाउने र हुर्काउने काम हुन्छ ।

कोषमा बस्दा गैंडाका बच्चाहरु मानिसको स्याहारमा हुर्किने हुँदा मानिसहरुसँग निकै नजिक हुन्छन् । मानिसकै आस गर्छन् । बस्ती वरपर बस्न रूचाउँछन् । अहिले सौराहामा बेलाबेलामा निस्फिक्री हिँड्ने यिनै मंगले र मेघौली हुन् । निकुञ्जका लागि सबैभन्दा टाउको दुखाइको विषय बनेका छन् यी दुई भाले गैंडा । दुर्लभ एकसिंगे गैंडा यसरी मानिसको वस्ती–वस्ती डुल्दा कुनै दुर्घटना हुने पो हो की भन्ने चिन्ता निकुञ्जलाई छ । त्यसैले निकुञ्जका कर्मचारीले केही समयमात्रैं राखेर गैंडालाई जंगली बनाउन सुरक्षित इनक्लोजर भित्र राख्ने योजना बनाएका छन् ।

 

मंगले र मेघौलीले दुःख दिएकै कारण कोषमा हुर्किरहेको ८ महिनाको भाले केटोलाई पुरानो पदमपुरको अर्ना राखिएको इनक्लोजरभित्र राखिएको छ । इन्क्लोजरमा १३ अर्ना, एक बाह्रसिङ्गेसँग गैंडाको केटो पनि मिलेर बसेको निकुञ्जको पूर्वी सेक्टर कसराका प्रमुख गोपाल घिमिरे बताउँछन् ।

‘निकुञ्जको दूधौरा पोष्ट नजिक मरिसकेको आमाको दूध चुसेर बसिरहेको अवस्थामा उद्धार गरी ल्याएका थियौं, केही समय पाल्यौं, घाँस पनि खान्थ्यो,’ निकुञ्जको कसरा कार्यालयका प्रमुख घिमिरेले भने, ‘धेरै राख्दा मंगले र मेघौलीको जस्तै अवस्था आउला की भनेर अर्नाको इन्क्लोजरभित्र पठायौं ।’

कोषले साधारणतया साना गैंडाका केटाकेटीलाई अवस्था हेरी दुई वर्षसम्म पाल्ने गरेको थियो । पुष्पालाई पनि घरपालुवा हुन नदिन र वाइल्ड बनाउन केही महिनामै इन्क्लोजरभित्र नै पठाउने योजनामा निकुञ्ज कार्यालय छ । ‘प्रकृति र जंगलमा फिर्न सक्ने भएपछि हामी जंगलमा नै पठाउँछौं, अलि ठूलो भएपछि भाले र पोथीको आवश्यकता परेपछि पनि उनीहरु जंगल जान्छन्,’ कोषका प्रमुख रामकुमार अर्यालले भने ।

कोषले बाघ, हाती, चितुवा, हरिणका घाइते तथा टुहुरा बच्चालाई ल्याएर संरक्षण गरी निकुञ्जमा नै पठाउँदै आएको कोष प्रमुख अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment