Comments Add Comment

तीन संक्रमितको मृत्यु सुदूरपश्चिममा खतराको घण्टी

घटना १ : धनगढी उपमहानगरपालिका– ४ कि ५५ बर्षकी महिलाको २३ जेठमा सेती प्रादेशिक अस्पतालमा मृत्यु हुँदासम्म उनमा कोरोना संक्रमण भएको कसैले सोचेको पनि थिएन । र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएको उनको अन्त्येष्टि सकिएपछि मात्र कोरोना संक्रमण पुष्टि भयो ।

घटना २ : कैलालीकै लम्की चुहाकी ४३ बर्षकी महिलाको मंगलबार मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भयो । टाउकोको समस्या लिएर उपचार गर्न कोहलपुर मेडिकल कलेजमा पुगेकी उनमा कसरी कोरोना संक्रमण भयो भन्ने अन्योल छ ।

घटना ३ : गत शनिबार नै कोरोना संक्रमण पुष्टि भएका कैलाली गोदावरी नगरपालिका १ का ४६ बर्षका पुरुषको उपचारकै क्रममा बुधबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पतालमा लगिएको थियो । न भारत, न तेस्रो मुलुकबाट आएका उनी केही महिनायता घरबाट निस्किएका थिएनन् ।

कसरी भयो संक्रमण ?

मंगलगबार मृत्यु भएकी महिलालाई ३० गते बेहोस अवस्थामा लम्की चुहा अस्पतालमा लगिएको थियो । १५ जना भन्दा बढीले साँझ ७ बजे उनलाई अस्पताल पुर्‍याएका थिए ।

केही घण्टा अस्पतालमा प्राथमिक उपचार गरेपछि राति १२ बजे उनलाई धनगढीको माया मेट्रो अस्पतालमा लगियो । त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरियो ।

लम्की चुहा अस्पताल र उनको घर करिब सय मिटरको दुरीमा छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश तिमिल्सेनाले उनीसँग प्रत्येक दिन जसो भेटघाट हुने गरेको बताए ।
‘उहाँसँग सधै जसो देखादेख हुन्थ्यो । एक्कासी स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल ल्याइएको थियो’ उनले भने ‘उपचार सुरु भएको ५ दिन पछि उहाँको मृत्यु भयो । ’

मृत्यु पछि कोरोना पुष्टि भएकी महिलालाई समुदायबाट कोरोना संक्रमण भएको हुन सक्ने उनी बताउँछन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख ज्ञानेन्द्र चन्दले उनी बिगत लामो समय देखि घरमै रहेको बताए ।

जेठ २३ गते कोरोनाबाट मृत्यु भएकी धनगढीकी ५५ बर्षकी महिलामा पनि समुदायबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनुभन्दा केहीदिन पहिले उपचारकै क्रममा काठमाडौँ गएको वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाले जानकारी दिए । ‘काठमाडौँ शिक्षण अस्पतालले धनगढी फर्कायो । एक साता घरमा बसेर अस्पतालमा भर्ना हुनुभएको थियो । त्यही दिन बित्नु भयो’ वडाध्यक्ष थापाले भने, ‘एम्बुलेन्स चढेर आउँदा जादाँ वा घरमा बस्दा संक्रमण भएको हुन सक्छ ।’

मृतक महिला २३ गते वीरंग हेल्थ केयरमा डायलासिस गर्न पुगेकी थिइन् । हेल्थ केयरमा व्यवस्थापक दीपक भट्टले जेठ ७ गते देखि २३ गतेभित्रै उनमा संक्रमण भएको हुन सक्ने बताउँछन् ।

जेठ ७ गते महाराजगञ्जको शिक्षण अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन । ‘१७ गते उहाँ कैलाली फर्किनुभयो । हामी कहाँ २३ गते आउनुभयो । यो बीचमै संक्रमण हुन सक्छ ’ उनले भने ।

बुधबार कोरोनाकै कारण मृत्यु भएका पुरुषमा पनि स्थानीय संक्रमण भएको अनुमान गरिएको छ । उहाँ स्वयं संक्रमणको जोखिम रहेको क्षेत्रमा नपुगेपनि जोखिम क्षेत्रबाट आएका नागरिकको उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘उहाँ केही समयदेखि भारतबाट आइरहेका व्यक्तिहरुको उद्धारमा खटिएको बुझिएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘उहाँलाई त्यही बेला संक्रमण भएको अनुमान गरेका छौँ । ’

मृतकको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले पनि समाजबाटै उनीमा संक्रमण भएको हुन सक्ने बताए । उनले भने, ‘उहाँ बिरामी भएपछि अस्पताल भर्ना हुनु भएको हो । त्यसैले घरमा रहदाँ नै उहाँका संक्रमण सरेको हुन सक्छ ।’

समुदायमा खतराको घण्टी !

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्ने आफूले पहिले गरेको अनुमान ठीक भएको दाबी गरे । पछिल्लो समय प्रदेशमा संक्रमण दरसँगै मृत्यु दर पनि बढ्न थालेपछि प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा यस्तो बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेझै प्रदेशमा अझै संक्रमणको दर बढ्न सक्ने अनुमान गरिएको छ । तीन महिनाको अवधीमा प्रदेशमा २ लाख ७० हजार बढी नागरिक भित्रिएका छन् ।

लकडाउनपछि मात्रै करिब १ लाख ८ हजार बढी नागरिक प्रदेशमा भित्रिएको बताइएको छ । तीमध्ये करिब ८० हजार बढी प्रदेशकै क्वारेन्टिनमा बसे । उनीहरुमध्ये अधिकांशको परीक्षण नहुँदा समुदायमा संक्रमणको जोखिम बढेको हो ।

बिहीबारसम्म प्रदेशमा जम्मा ९ हजार १३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । ठूलो संख्यामा क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण बिनै घर फर्किइदा पनि संक्रमण फैलन सक्ने त्रास बढेको हो ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशन डा. गुणराज अवस्थी संक्रमणको अझै बढ्न सक्ने बताउँछन् । स्वास्थ्य परीक्षणको दायरा साँघुरो बन्दा पनि समुदायमा फैलिएका संक्रमितहरुको बास्तविक तथ्यांक आउन नसकेको उनको भनाइ छ । ‘जति परीक्षण आवश्यक हो त्यति हुन सकिरहेको छैन’ उनले भने ‘परीक्षणको दायरा सानो हुँदा संक्रमण फैलन सक्ने खतरा बढेको छ ।’

नेपालमा कैलालीबाटै स्थानीयमा संक्रमण सुरु भएको थियो । दुबईबाट आएका पुरुषबाट उनकै परिवारको सदस्यमा संक्रमण पुष्टि भएपछि कोरोनाको दोस्रो चरण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment