Comments Add Comment

आइसोलेसन तयार नहुँदा गोरखाका संक्रमित क्वारेन्टिनमै

४ असार, गोरखा । आइसोलेसन सेन्टर तयार नहुँदा गोरखामा बिहीबार विहान संक्रमण पुष्टि भएकालाई क्वारेन्टिनमै राखिएको छ ।

गोरखा अस्पतालको २४ आइसोलेसन बेड मंगलबार नै भरिएपछि बिहीबार देखिएका ११ संक्रमितलाई गोरखा क्याम्पसको भवनमा बनाइने आइसोलेसनमा राख्ने तय भएको थियो । तर आइसोलेसन तयार नहुँदा शहीद लखन गाउँपालिकाका ४ र पालुङटार नगरपालिकाका ७ संक्रमितलाई क्वारेन्टिनमै राखिएको छ ।

‘प्रमुख जिल्ला अधिकारीले आइसोलेसन तयार भएको छैन आज नल्याउनुहोस् भन्नुभयो,’ पालुङटारका मेयर दीपकबाबु कँडेलले भने, ‘आज एक दिनलाई यहीँ क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छौं ।’

पालुङटारका संक्रमितहरु वडा नम्बर २ को शारदा मावि र वडा नम्बर ७ को जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका छन् । उनीहरु भारतबाट आएका हुन् ।

शहीद लखन गाउँपालिकाका ४ संक्रमितलाई पनि बिहीबार वडा नम्बर ७ को शहीद स्मृति माविको क्वारेन्टिनमा नै राखिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘आइसोलेसन तयार भइनसकेका कारण आज यही क्वारेन्टिनमा राख्ने निर्णय गर्‍यौं’ उनले भने ।

आइसोलेसन व्यवस्थापन समितिका सदस्य समेत रहेका थापाले संक्रमितमा कुनै लक्षण नदेखिएकाले क्वारेन्टिनमै राख्दा पनि समस्या नहुने भन्दै बचाउ गरे ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समयमा कामदार नपाउँदा गोरखा क्याम्पसको भवनमा आइसोलेसन बेड बनाउन नसकेको बताए । ‘कोषमा रकम नहुदाँ पनि समस्या भएको हो,’ उनले भने ।

गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले आइसोलेसनमा केही बेड तयार भइसकेको बताए । ‘अहिलेसम्म १८ वेड तयार भइसक्यो, भोलिसम्म २५ बेड तयार हुन्छ,’ आइसोलेसन व्यवस्थापन समितिका सदस्य समेत रहेका उनले भने, ‘विद्युत, सीसीटीभी, फ्यान जडान भइसक्यो, शौचालयको काम हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment