Comments Add Comment

सहकारीले दिएको तनाव : बचतकर्ताको साँवा पनि गुम्ने खतरा

५ असार, काठमाडौं । सहकारी संस्थाहरूले सर्वसाधारणहरूको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरू बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरूलाई सास्ती दिने सहकारी संस्थाहरूले लकडाउनपछि झनै तनाव दिन थालेका छन् ।

सर्वसाधारणहरूलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरूले आनाकानी गर्ने गरेका छन् । सिभिल बैङ्कका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङकै सिभिल सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नदिएर केही समय अघि सास्ती दिएको थियो ।

इच्छाराज जस्ता धनाढ्यहरूसँगै अब गाउँ-गाउँका सहकारी संस्थाहरूले समेत सर्वसाधारणको निक्षेप लिएर फिर्ता भने गर्न छाडेका छन् । यसको एक उदाहारण हो, काभ्रेको विनायक सहकारी संस्था । विनायक सहकारीले बचतकर्तालाई दिनुसम्मको सास्ती दिएको छ ।

नमोबुद्ध-१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले विनायक सहकारीमा साधारण बचत खातामा रकम जम्मा गरेका थिए । उनी  करिब दुई लाख रुपैयाँ बचत पुगेपछि सहकारीमा रकम फिर्ता लिन गए । उनलाई आफ्नो बचत ब्याजसमेत गरेर दुई लाख रुपैयाँ नाघेको अनुमान थियो । कृषि पेशाबाट जम्मा गरेको अरू रकम र सहकारीमा गरेको निक्षेप निकालेर घर किन्ने सोचका साथ उनले बैना पनि गरेका थिए ।

‘मैले त्यही रकम लिएर घर पास गर्छु भन्ने सोचेको थिए । तर मेरो आफ्नै पैसा पनि सहकारीले दिएन’ घोरसाइनेने भन्छन्, ‘मलाई सहकारीले झुलाई रह्यो, म आशमा बसिरहेँ ।’ सहकारीले रकम नदिएपछि उनले घर पास गर्न पनि सकेनन् ।

घडेरी (जग्गा) भने पास गर्नैपर्ने भएकाले गाउँमा २४ प्रतिशत ब्याजमा ऋण लिएर जग्गा पास गरेको उनले सुनाए । उनी पहिलो पटक मंसिर पहिलो साता सहकारी संस्थामा आफ्नो रकम लिन गएका थिए । पैसा फिर्ता मागेको ६ महिना पुगिसक्यो तर निक्षेप फिर्ता पाउन सकेनन् ।

उनी धेरैपटक धाएपछि एक लाख ९० हजार रुपैयाँको चेक काटेर सहकारीले उनको हातमा थमायो । ‘सिभिल बैङ्कको चेक काटेर माघ पहिलो साता दिएको थियो, सिभिल बैङ्कमा गएँ । तर बैङ्कले पनि हस्ताक्षर नमिलेको भन्दै चेक साट्न मानेनन्’ उनले भने ।

हस्ताक्षर नमिलेको वा खातामा पैसा नभई चेक काटेर दुःख दिए चेक अनादर मुद्दामा लाग्छ । त्यसका लागि बैङ्कले नै प्रक्रियाअघि बढाइदिनुपर्छ । सिभिल बैङ्कले चेक बाउन्स नहुने भन्दै उनलाई फर्काइदियो । ‘चेक बाउन्स पनि नहुने चेक दिएको रहेछ, हस्ताक्षर नै २ वटा छ भनेपछि बैङ्कले मलाई फर्कायो’ उनी भन्छन् ।

प्रहरीले थर्कायो, नगरपालिकाले आत्मसमर्पण गर्‍यो

आफ्नै रकम पनि सहजै पाउन नसकेपछि लेखप्रसाद स्थानीय सरकारदेखि प्रहरीसम्म न्याय माग्दै पुगे । तर उनलाई न प्रहरीले न्याय दियो, नत स्थानीय सरकारले नै । चेक नसाटिएपछि उनी जिल्ला प्रहरी काभ्रेमा उजुरी लिएर गएका थिए ।

न्याय दिलाउनु त कता हो कता, प्रहरीले उनलाई नै उल्टै गाली गरेर पठाइदियो । ‘पैसा राख्ने बेलामा हामीलाई सोधेको थिइस् र भन्दै मलाई प्रहरीले भन्यो’ उनले भने, ‘म बनेपा नगरपालिकाको सहकारी शाखामा पनि गएको थिएँ, त्यहाँ भने सुरुमा राम्रै कुरा गर्नुभयो ।’

प्रहरीले थर्काए पनि नगरपालिकाको सहकारी शाखाले भने उनलाई आफ्नो रकम फिर्ता लिन सहयोग गर्ने बताएको थियो । तर अहिले नगरपालिकाले पनि आत्मसमर्पण गरिसकेको छ । अर्थात्, अब नसकिने भनेर उनलाई नगरपालिकाले भनेको छ ।

‘सुरुमा त दिलाइदिन्छौं, सहयोग गर्छौं भन्नुभएको थियो’ उनले भने, ‘तर अहिले त सहकारीले हामीलाई केही विवरण नै पठाएन, भनेको पनि टेरेन भन्नुहुन्छ ।’ आफूले न्याय माग्ने ठाउँबाटै आशा मरेपछि यतिबेला उनी तनावमा छन् ।

लकडाउनले गर्दा उनको कृषि उत्पादनहरुले पनि राम्रो मूल्य पाएन । अब स्कुल खुलेपछि बालबच्चा पढाउनका लागि कहाँबाट खर्च ल्याउने भन्ने चिन्ताले उनलाई सताएको छ । आम्दानी घटेको छ । स्कुल खुलिहाल्यो भने भर्ना गर्ने नगद रकम पनि नभएको उनी सुनाउँछन् ।

‘आफ्नै रकम फिर्ता लिन पनि यस्तो तनाव छ,’ उनले भने, ‘तर खै कसरी आउला र ?’ यद्यपि, एक पटक प्रहरीले संस्थाका व्यवस्थापकलाई पक्राउ गरी ‘सबै निक्षेपकर्ताको निक्षेप चाँडै फिर्ता गर्छु’ भन्ने कबुल गराएर छाडेको बुझिएको छ ।

घोरसाइने त केवल प्रतिनिधिपात्र मात्रै हुन् । यस सहकारीबाट निक्षेप फिर्ता नपाउने संख्या ५० भन्दा धेरै रहेको सहकारीकै सेयर सदस्यहरू बताउँछन् ।

सहकारी भन्छ- समस्यामा फस्यौं, अब फिर्ता दिन्छौँ

आफ्नै पैसा पनि फिर्ता नदिएर सर्वसाधारणहरूलाई तनाव दिने विनायक सहकारी संस्थाका व्यवस्थापक रामसुन्दर कार्की भने निक्षेप फिर्ता दिने पक्षमा नै रहेको बताउछन् । निक्षेप फिर्ता दिन चाहेको भए पनि नगद अभाव हुँदा समस्या भएको व्यवस्थापक कार्कीले अनलाइनखबरसँग बताए ।

लगानी समयमा नउठेका कारण पनि समस्या सिर्जना भएको उनी बताउँछन्। पछिल्लो समय क्रमिक रुपले निक्षेप फिर्ता दिइरहेको उनले बताए । निक्षेपकर्ताहरूले निक्षेप फिर्ता नपाएर दुःख पाएको स्वीकार गर्दै उनले लामो समयसम्म लकडाउन लम्बिँदा पनि समस्या भएको कार्कीले बताए ।

‘हाम्रो लगानी पनि समयमा नउठेको कारण समयमा फिर्ता गर्न सकेनौं, फेरि लकडाउन लामो समयसम्म लम्बिँदा पनि समस्या भयो’ कार्की भन्छन्, ‘हामीले क्रमशः निक्षेप फिर्ता दिँदैछौं, निक्षेपकर्ताको निक्षेप फिर्ता दिने नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment