Comments Add Comment

फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुसीको खबर भएको बताए ।

उनले भने, ‘एकातिर वृद्ध उमेर, त्यसमाथि फोक्सोको क्यान्सर र केमोथेरापी अर्कोतिर कोरोना भाइरसको संक्रमण यो त अति जोमिखयुक्त अवस्था थियो । तर हामीले उहाँलाई संक्रमणमुक्त बनाएर जोगाउन सक्यौं ।’

फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो ।

उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै झण्डै एक महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान् श्रीमती दुवैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. पौडेलले बताए ।

‘श्रीमान् यसै पनि उच्च जोखिममा हुनुहुन्थ्यो, उहाँकी श्रीमतीमा पनि सुगर, प्रेसर, वाथको समस्या थियो । पछि डायरिया भयो तर उहाँ पनि अहिले स्वस्थ हुनुहुन्छ’ डा. पौडेलले भने ।

क्यान्सर रोगी वृद्धले पाँचपटक केमोथेरापीसमेत लिएका थिए । उनको एक पटकको केमोथेरापी बाँकी छ । केमोथेरापी लगाउँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन् । यस्तो बेला अन्य रोगको समेत संक्रमणको खतरा हुन्छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ थोरासिक सर्जन डा. विनय ठाकुरले फोक्सोका क्यान्सर रोगी वृद्धले कोरोना जित्नु ठूलो उपलब्धि भएको बताए । उनले भने ‘यस्ता केसहरूमा कोरोनो जोखिम अति नै बढी हुन्थ्यो । तर उहाँले जित्न सफल हुनुभएको छ, उपचार गर्ने अस्पताल, उहाँको आफ्नै पनि क्वालिटी अफ लाइफले कोरोना जित्नुभयो । यो नेपालकै पहिलो अनौंठो परिघटना हुनुपर्छ ।’

संक्रमति वृद्धवृद्धाका छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन् । शुक्रबार वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको थियो । त्यस क्रममा वृद्धले कोरोनासँग संघर्ष गर्न आफ्नो मनोबल उच्च बनाउन आग्रह गरे ।

‘मैले डेन्जर रोग क्यान्सरसँग पौंठेजोरी खेल्दै आइरहेको छु , यहाँ आएपछि कोरोनासँग पनि संघर्ष गर्नुपर्‍यो । यो संघर्षमा आज मैले विजय प्राप्त गरेँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment