Comments Add Comment

कोरोनाको डर र एन्जाइटी व्यवस्थापनका ११ उपाय

कोरोना संक्रमणको बढ्दो संख्या एवं जोखिमसँगै धेरैमा यसको अस्वाभाविक डर पनि बढ्दै गइरहेको छ । कतिपयमा अन्य शारीरिक समस्याका लक्षणलाई समेत कोरोनाकै लक्षण ठानी त्रसित हुन गएको पाइएको छ ।

एन्जाइटी सामान्यतया डरको कारण अवास्तविक मूल्याङ्कनमा आधारित हुने गर्र्दछ । तिनको मनोवैज्ञानिक समाधानमा यथार्थपरक सोच सबैभन्दा महत्वपूर्ण हुन्छ । तर कोरोना भाइरससँग सम्बन्धित डर वा एन्जाइटी भने केबल सोचका कारण मात्र नभई केही हदसम्म वास्तविक नै हुने भएकोले यस्तो डर नियन्त्रण गर्न कठिन हुन सक्छ ।

यहाँ उल्लेखित उपायहरू यसका लागि अति उपयोगी हुन सक्छ ।

(१) अनुशासित रक्षात्मक उपाय मानसिक शान्तिको प्रमुख आधार

चिन्ता बढी गर्ने व्यक्तिहरूमा पहिले सम्भवतः बचावटको उपायहरूमा हेलचेक्रयाइँ गर्ने र पछि पछुतो गरी अनावश्यक शक्ति एवं ऊर्जा नष्ट गर्ने बानी हुन्छ । यसले रोगविरुद्ध लड्ने क्षमतालाई अत्यन्त कम गरिदिन्छ । कुनै पनि विषय वा समस्याको अधिक सोचाइले त्यस समस्यालाई झन् विस्तार गरिदिन्छ । कोरोना रोकथामको सही उपायलाई स्वचालित वा आदत बनाउनु र यससम्बन्धी सोचलाई बिस्तारै कम गर्दै जानु कोरोना भाइरसको डरलाई कम गर्ने महत्वपूर्ण उपाय हो ।

(२) आफ्नो भावनाहरूसँग नलड्होस, यसरी स्वीकार गरेर अगाडि बढ्नुहोस्

बढी चिन्ता र डर मान्ने व्यक्तिहरूले अन्य मानिसलाई कोरोनाको डरका बाबजुद पनि खुसी र सहज देख्दा आफूमा विशेष कमजोरी छ भन्ने सोच्न थाल्छन् । आफ्नो व्यक्तित्व र भावनालाई आफ्नै शत्रु मान्न थाल्छन् । आफ्नो मानसिक क्षमतामा प्रश्न गर्न थाल्छन् । यसले गर्दा व्यक्तिका भावना र सोच बिस्तारै कोरोनाभन्दा ठूलो शत्रु बन्न पुग्छन् । वास्तवमा केही डर हामीलाई चनाखो बनाउन एवं हेलचेक्रयाइँबाट बचाउन आवश्यक हुन्छ । तपाईंलाई अरूभन्दा बढी डर लाग्छ भने पनि त्यो प्रायः तपार्इंको समग्र व्यक्तित्वसँगै आएको जिम्मेवारीपन एवं सम्वेदनशीलताको फरक रुप हो भनेर यसलाई स्वीकार्नुपर्छ । मनोवैज्ञानिक अध्ययनहरूले तनाव र डरलाई शत्रु नमानी जीवनको सहायक तत्व तत्वको रुपमा स्वीकार गर्नुपर्छ । जसले मानसिक, शारीरिक एवं हर्मोनको स्तरमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

(३) आत्मविश्वास यसकारण मूल अस्त्र

कोरोनाविरुद्धको औषधि उपलब्ध नभएको हालको अवस्थामा कोरोना संक्रमणसँग लड्ने प्रमुख अस्त्र नै आत्मविश्वासमार्फत प्राप्त हुने रोग प्रतिरोधी क्षमता हो । यही कुरालाई विश्व स्वास्थ्य संगठनले समेत जोड दिँदै आएको छ । सम्मोहन चिकित्सामा गरिएका अध्ययनअनुसार सम्मोहित अवस्थामा विश्वासको आधारमा व्यक्तिले तातो वस्तु चिसो एवं चिसो वस्तु तातो अनुभव गर्ने गरेको पाइएको छ । सामान्य अवस्थामै पनि स्वाभाविक पेयलाई मादक पदार्थ हो भन्ने विश्वास दिलाएर पिउन दिँदा वास्तवमै त्यसलाई ग्रहण गर्नेले मादक पदार्थको रुपमा नै ग्रहण गर्ने गर्छ । यी तथ्यहरूबाट मानसिक अवस्थाले शरीरमा पार्ने प्रभावको सहज अनुमान लगाउन सकिन्छ ।

कोरोनालाई जित्न सक्छु भन्ने गहिरो विश्वासले शारीरिक स्तरमा नै जितका लागि व्यक्तिलाई तयार गर्दछ । विभिन्न प्राकृतिक विपद्हरूमा लामो समयसम्म अविश्वसनीय तबरले बाँच्न सफल व्यक्तिहरूको अध्ययनबाट उनीहरूमा बाँच्न चाहने विशेष कारण, इच्छाशक्ति र आत्मबल नै मृत्यु जित्ने मुख्य कारण हुने गरेको पाइएको छ ।

(४) मानसिक भावना रोज्ने अभ्यास

मनको स्वभावको कारण एउटै समयमा खुसी र डर अनुभव गर्नु सम्भव हुँदैन । रमाइलो लाग्ने कुनै विशेष कार्यमा आफूलाई व्यस्त राख्नु स्वतः डरलाई पर भगाउने उपाय हो । डर, खुसी, दुःख, रिस, चिन्ता, उत्साहलगायतका भावनाहरू हामी सबैलाई चाहेको बेलामा उपलब्ध हुन सक्ने गरी मन मस्तिष्कमा रहेका हुन्छन् । मनोवैज्ञानिकहरूका अनुसार कुन भावनालाई जागृत बनाउने वा रोज्ने भन्ने कुरा एक मानसिक कला नै हो । जुन हामीले विकास गर्न सक्छौं । काउन्सिलिङमा यो सिप सिकाउने गरिन्छ । योग र ध्यानका कतिपय विधिहरू पनि यसमा केन्द्रित हुने गर्छन् ।

(५) सनसनीपूर्ण खबर र ‘नेगेटिभिटी बायस’

उद्विकासका चरणहरूको उपजस्वरुप सकारात्मकभन्दा नकारात्मक विषय एवं अनुभवहरूले मन मस्तिष्कलाई बढी र लामो समय पकडमा राख्ने हुन्छन् । मनोविज्ञानमा “नेगेटिभिटी बायस” भनिने यस असरबाट जोगिन मिडियामा प्रस्तुत भइरहने चिन्ता बढाउने प्रकारका सनसनीपूर्ण एवं मृत्युमा बढी केन्द्रित खबरहरूबाट टाढा रहनु उपयुक्त हुन्छ । आवश्यक अद्यावधिक जानकारीका लागि कुनै एक विश्वसनीय स्रोतबाट दैनिक एक दुई पटक जानकारी लिनु पर्याप्त हुन्छ ।

(६) अन्तिम डरविरुद्ध योजना एवं तयारी

मलाई कोरोना संक्रमण हुनेछैन भन्ने आशा गरेर बस्नुभन्दा सुरुमै कोरोना संक्रमणपछिको लडाइँका लागि व्यक्तिगत एवं पारिवारिक रुपमा विविध पक्षको योजनासहितको तयारीमा रहनु डरबाट सम्हालिने एक प्रमुख उपाय हो । मनोविज्ञानमा यसलाई “वर्स्‍ट केस सिनारियो अप्रोच” भनिन्छ । यस्तो डरको नियन्त्रणमा यो विधि अति प्रभावकारी मानिन्छ । आमव्यवहार विपरीत, डर लुकाउन प्रयास गर्नुभन्दा डरको भित्री कारणलगायतका सम्पूर्ण पक्षको बारेमा परिवारमा छलफल गरी मिलेर तयारी गर्नु सान्त्वना प्रदायक हुन्छ । भावना आदानप्रदान एवं मन खोल्ने अवसर मानसिक रुपमा आफैंमा पनि उपचारात्मक हुन्छ ।

(७) डरको मूल आधारको पहिचान एवं सम्बोधन

सतहमा समान देखिने डरका पछाडि विविध कारणहरू हुन सक्छन् । तदनुसार नै त्यसको समाधान पनि फरक पर्ने हुन्छ । कसैलाई कोरोनाको मूल डर संक्रमणपछि समाजबाट आउन सक्ने हेयभाव वा दुरीको कारणले हुन सक्छ । कोही व्यक्तिलाई आफ्नो मृत्युको डरले भन्दा परिवारको रेखदेखको चिन्ताले बढी सताएको हुन सक्छ । कोही बुज्रुकको चिन्ता मृत्यु नभै मृत्यु संस्कारबाट बन्चित हुन सक्ने सम्भावना हुन सक्छ ।

अरू व्यक्तिको यस्ता डरहरू सुन्दा कतिपयलाई हास्यास्पद लाग्न सक्छ । तर, विश्वविजेताहरूका समेत स–साना विषयमा अस्वाभाविक डर हुने गरेका प्रशस्त उदाहरणहरू छन् । कोही लिफ्ट प्रयोग गर्न डराउँछन् भने कोही सानो किरा, जीव वा वस्तुसँग डराउँछन् । कोरोनाको डरको व्यवस्थापनमा पनि यस्तो विषयमा पनि संवेदनशीलता एवं उचित सम्बोधन आवश्यक हुन्छ ।

(८) तनावका अन्य स्रोतहरू कम गर्नुहोस्

शारीरिक शक्ति एवं स्फूर्तिको मानसिक स्थितिमा सिधा प्रभाव पर्छ । यो महामारीको असामान्य परिस्थितिलाई पराजित गर्नको लागि विभिन्न विषय एवं कार्यहरूलाई प्राथमिकीकरण गरी अतिआवश्यक विषयमा मात्र आफ्ना स्रोत साधन र शक्तिलाई प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । अनावश्यक विषयहरूको धपडी एवं चिन्ताबाट जोगिनु जरुरी हुन्छ । अनिद्रा, खानपानमा हेलचेक्रयाइँजस्ता कार्यले उत्पन्न हुने सामान्य शारीरिक समस्या र असहजताले कोरोनाको डरलाई अनावश्यक रुपमा बढाइदिन सक्छ ।

अहिलेको अस्वाभाविक परिस्थितिमा दूरगामी प्रभाव पार्ने विषयको निर्णयलाई थाँती राख्नु उपयुक्त हुन सक्छ । आर्थिक चिन्ता एवं पारिवारिक तनावबाट जोगिनको लागि पनि सुझबुझपूर्ण व्यवहार, बजेटिङ, व्यवसायमा नोक्सान कम हुने उपाय, भावनात्मक एकता र सेयरिङ एवं सहयोगको आदानप्रदान महत्वपूर्ण हुन्छ ।

(९) तथ्यांक एवं जोखिमको सही विश्लेषण सकारात्मक सोचको आधार

विभिन्न प्राकृतिक विपद् एवं कतिपय रोगहरूमा हामी असहाय हुन्छौं । मृत्युलाई स्वीकार गर्नुबाहेक अरू हामीसँग केही उपाय हुँदैन । तर कोरोना महामारीमा संक्रमणबाट जोगिन र संक्रमणलाई जित्न हामी धेरै कुरा गर्न सक्छौं । यसै तथ्यलाई आधार मानेर समेत हामी प्रकृतिप्रति गुनासोको सट्टा कृतज्ञ भावको प्रयास गर्न सक्छौं । समग्रमा संक्रमणको करिब ५.४% मृत्युदर पाइएको कोरोना महामारीमा संक्रमण नै भइसकेपछि पनि ४५–५४ वर्ष उमेर समूहमा उपलब्ध तथ्यांकअनुसार ०.५ प्रतिशत अर्थात् करिब २०० मा एक जनाको मृत्यु हुने गरेको पाइएको छ ।

२०–४४ वर्ष उमेर समूहको लागि यो दर करिब एक जनाप्रति ८०० हुन आउँछ । नेपालमा धेरै संक्रमितहरू युवाहरू वा कम जोखिम समूह नै छन् । बढी जोखिम हुने जेष्ठ नागरिकलाई घरभित्र वा सामाजिक दुरीमा रहने छनोट सहज हुन सक्छ । केही जोखिम त जीवनमा हरपल लिनु पर्ने नै हुन्छ । यो जीवनको यथार्थ हो । सडक दुर्घटनामा मात्रै पनि एक वर्षमा विश्वभरिमा करिब १३ लाख ५० हजार को मृत्यु हुनेगर्छ । मृत्युको थोरै जोखिमको डरले पलपल तड्पिनु कुनै पनि हिसाबले लाभदायक हुँदैन । परिस्थिति एवं जोखिमको यस प्रकारको विवेचनाको प्रयास अत्यन्त सान्त्वनाप्रद हुने गर्छ ।

(१०) अस्तित्वगत अर्थका लागि आत्मा एवं पुनर्जन्मका मान्यताहरूको विषयमा वैज्ञानिकहरूका नवीन धारणा जान्नुहोस्

मनोवैज्ञानिक समस्याहरूमा आध्यात्मिकताको सकारात्मक भूमिका वैज्ञानिक अध्ययनबाट नै पुष्टि भइसकेको छ । मृत्युको डरको अन्तिम उपाय मृत्युको सम्भावनालाई सहज रुपमा लिन सक्नु नै हो । तर “एक दिन मरिने नै हो क्यारे” भनेर मात्र मृत्युको डर कम गर्न व्यवहारमा भने गाह्रो छ । शरीरभन्दा परसम्म आत्माको अस्तित्व, यसको यात्रा एवं पुनर्जन्मको विषयमा अन्तरहृदयबाट नै विश्वास गर्ने व्यक्तिहरूमा मृत्युको भय कम हुने गरेको पाइएको छ ।

यी विषयहरूमा अहिले धर्म नै नमान्ने वैज्ञानिकहरूको समेत विविध पुस्तक भिडियो एवं अन्य सामाग्रीहरू उपलब्ध छन् । प्रख्यात विश्वविद्यालयहरूमा भौतिकशास्त्री, चिकित्सकलगायतका विज्ञहरू चेतनाको स्रोत, मृत्युको निकट अनुभव, एनस्थेसियाको प्रभावलगायतका विषयको अध्ययनपछि निष्कर्षका कारण अध्यात्मको मूल मर्मसँग नजिकिँदै गइरहेका छन् । विश्वास र अविश्वासको सीमामा आफूलाई नबाँधी यस विषयमा अध्ययन र विवेचना गर्नु मृत्यु र जीवनमा अस्तित्वगत अर्थ भेटाउन अति उपयोगी हुन सक्छ ।

(११) अन्य उपायहरू

श्वासप्रश्वासजन्य व्यायाम (प्राणायाम), योग एवं शारीरिक व्यायाम, प्रकृतिसँगको निकटता, सन्तुलित आहार, रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको प्रयोग, यथेष्ट आराम र निद्रा साथै कला एवं मनोरञ्जन वा रुचिको कुनै क्रियाकलापमार्फत सकारात्मक मानसिक व्यस्तता कोरोनाको अस्वाभाबिक डर एवं एन्जाइटी व्यवस्थापनका लागि अति उपयोगी हुन्छ । आपूmले गर्न सक्ने प्रयास वा कर्तव्यवहन पूर्णरुपमा गरेको छु भन्ने कुराको आत्मसन्तोष मानसिक शक्तिको वृद्धिमा अत्यन्त सहयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment