Comments Add Comment

बेसार औषधिमय छ, यसरी मजाक नउडाऔं : प्रधानमन्त्री

७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए ।

शरीरको प्रतिरोधी क्षमता बढाउने बेसार, अदुवा, मेथीको कुरा गरेको भन्दै उनले भने, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ ।’

आयुर्वेद र योग असाधारण औषधि भएकाले यसको प्रयोग बढाउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री ओली नेपाल योगको जननी भएको बताए । ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’ उनले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको भन्दै यसलाई व्यापक बनाउन आग्रह गरेका छन् ।

स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment