Comments Add Comment

प्रशिक्षणमा फर्किएपछि ब्याडमिन्टन खेलाडी उत्साहित

९ असार काठमाडौं । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलभित्रल मंगलबार ब्याडमिन्टन खेलाडीहरु र्‍याकेटले सटलक हानिरहेका थिए । बिहानै केही खेलाडी विदेशी प्रशिक्षक र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायत त्यहाँ उपस्थित थिए ।

सामान्य बेलामा यो विषय सामान्य नै लाग्थ्यो । तर कोरोनाभाइरस महामारी र लकडाउनपछि खेलाडीहरु कोर्टमा पुगेकोले अहिले भने यसले खेलाडीलाई उत्साहित बनाएको छ । फेरि कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा खुसी लागेको उनीहरुको भनाइ छ ।

‘झण्डै तीन महिनापछि कोर्टमा फर्कन पाउँदा एकदमै खुसी लाग्यो,’ युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले अनलाइनखबरसँग भने , ‘लामो समयपछि फर्कँदा सुरुमा त गाह्रो हुने रहेछ ।’

प्रिन्ससँगै अन्य तीन खेलाडी कभर्डहलमा प्रशिक्षण गर्न पुगेका थिए । उनीहरुलाई सिकाउन कोरियन प्रशिक्षक चोई सिउन कुक पनि त्यहाँ थिए ।

कोरियन प्रशिक्षकले खेलाडीलाई सामाजिक दुरीमा राख्दै विभिन्न टेक्निकहरु सिकाइरहेका थिए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले खेलाडीलाई प्रशिक्षक गराउन नपाउँदै नेपालमा लकडाउन भयो । त्यसेले पनि उनले अनलाइनबाटै खेलाडीलाई टिप्स दिइरहेका थिए । ‘उहाँले एक दिन ट्रेनिङ गराउनुभएको थियो । लकडाउन भइहाल्यो । मैले पहिलो पटक विदेशी प्रशिक्षकसंग प्रशिक्षण गर्न पाएको छु,’ प्रिन्सले भने ।

नेपाल ब्याडमिन्टन संघले आइतबारदेखि नै प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । तर लामो समयमसम्म कुनै इभेन्ट नहुँदा कभर्डहल पनि सरसफाइ गर्नुपर्ने भएकोले पहिलो दिन चार खेलाडीहरु दशरथ रंगशालको ट्रयाकमा वार्मअफ गरेर पर्केका थिए । यस्तै सोमबार बिहान ठूलो वर्षा हुँदा खेलाडीहरु प्रशिक्षण गर्न जान सकेनन् ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले भने आफ्ना खेलाडीहरुको लागि औपचारिक रुपमै प्रशिक्षण सुरु गरेको हो । संघका अध्यक्ष रामीबहादुर श्रेष्ठका अनुसार अहिले र्‍याङ्किङमा समावेश भएका र उपत्यकामा रहेका खेलाडीहरु मात्र प्रशिक्षणमा सहभागी हुनेछन् । केही खेलाडी भने काठमाडौं बाहिर भएकोले तत्काल सहभागी हुन सम्भब नहुन सक्छ ।

विदेशतिर हेल्थ र सेफ्टी प्रोटोकल पालना गर्दै फुटबल लिगहरु फेरि सुरु भइसकेको छ । यस्तै केही देशले क्रिकेटको प्रशिक्षण पनि सुरु गरिसकेको छ ।

नेपालमा पनि अब विस्तारै खेल क्षेत्र लयमा फर्कने सुरुवात हुन लागेको छ । ब्याडमिन्टनले त्यो काम गरेको छ । तर अझै पनि सरकार युवा तथा खेलकुद मन्त्रालय स्वास्थ्य मन्त्रालय राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्पष्ट मापदण्ड वा निर्देशिका नबन्दा अन्य खेलहरु प्रशिक्षणका लागि सरकारको स्वीकृति पर्खिरहेका छन् । ब्याडमिन्टन संघले भने राखेपसँग सहकार्य गरेर प्रशिक्षण सुरु गरेको संघका अध्यक्ष श्रेष्ठले जनाए ।

‘लामो समयपछि प्रशिक्षणमा फर्कँदा खुसी छौँ । तीन महिनादेखि घरमा बस्दा खेलाडीहरुमा मनोटोनस हुने, खेलको फिटनेस पनि घट्ने जस्ता भइरहेको थियो । अहिले फेरि यो कोर्टमा फर्कँदा खेलाडीसंगै संघका पदाधिकारीलाई पनि खशी लागेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठले राखेपमा निवेदन दिएर सबै सल्लाह गरेर नै प्रशिक्षण सुरु गरेको बताए । ‘हामीले सुरुमा राखेप सदस्य सचिवसँग मौखिक कुरा गरेर निवेदन पनि पठाएका थियौँ । उहाँले तपाईंहरु ट्रेनिङ सुरु गर्नुस् हाम्रो मेडिकल टिम छ पठादिन्छौँ । डाक्टर ल्याएर तपाईंहरुलाई मिनिमम रिक्वायरमेन्ट के छ भनेर भन्नुभएको थियो । डक्टर जे जे भन्नुहुन्छ त्यसलाई फलो गरेर अगाडि बढ्छौँ,’ श्रेष्ठले भने । उनले अब भोलिदखि हामी सबै परीक्षण गर्छौँ डाक्टरहरु पनि सँगै हुने बताए ।

यस्तै अहिले नेपालमा आएका कोरियन कोच अनुभवी र राम्रो कोच रहेको उनले बताए । ब्याडमिन्टन एसियासँग कोच पठाइदिनुपर्‍यो भनेर आग्रह गरेपछि कोरियन कोच आएको श्रेष्ठले बताए ।

यस्तै प्रिन्सले अहिले सेनिटाइजर लगाउने सामाजिक दुरी कायम गर्ने त्यहाँ जादा मास्क लगाएर जाने गरेको बताए ।

ब्याडमिन्टनमा कन्ट्याक कम हुने भएकोले पनि यो खेललाई प्रशिक्षण गर्न केही सहज छ ।

नेपालका दई चर्चित खेल फुटबल र क्रिकेट भने औपचारिक रुपमा प्रशिक्षण सुरु गर्नका लागि सरकारको अनुमति पर्खिरहेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अनतर्गत नेपालमै हुने ३ खेललाई ध्यानमा राख्दै जुलाई दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्नको लागि तयारी थालेको छ ।

यस्तै नेपाल क्रिकेट संघ क्यानले पनि असार १५ पछि प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गर्ने जनाएको थियो । केही क्रिकेट खेलाडी भने व्क्तिगत रुपमै टीयू मैदानमा रहेको इन्डोर हल पुगेर प्रशिक्षण गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment