Comments Add Comment

कसैको राष्ट्रियतामाथि शंका नगरौं, नागरिकतामा विभेद नगरौं

‘शंकाले लंका जलाउँछ, विश्वासले संसार चलाउँछ ।’ नेपाली समाजको लोकप्रिय उखान । अन्जु पन्तले गाएको ‘शंका नगर मेरो मायामा’ भन्ने गीत निकै लोकप्रिय छ । उखानको मर्म अहिले निकै सान्दर्भिक छ ।

पछिल्लो समयमा आफूलाई ‘राष्ट्रियतावादी’ भन्नेहरुले तराईमूलका बासिन्दाको ‘राष्ट्रियता’ माथि निकै शंका गर्दैछन् । यसमा बढी नेकपा सर्मथित हनुमानहरु छन् । हनुमान किन भनिएको हो भने असल कार्यकर्ताले सही र गलत विश्लेषण गरेर सुझाव दिन्छन् । त्यसले पार्ने असरका बारे अध्ययन, अनुसन्धान गर्छन् । र नेताले गर्ने निर्णयमा प्रश्न गर्छन ? उनीहरुलाई जवाफदेही बनाउँछन् ।

अहिले के भइरहेको छ त ? मैले भन्न पर्दैन होला । कुनै बेला जंगलमा काँडाले गर्दा च्यात्तिएका कपडा र हात्तिछाप चप्पल लगाउने । त्यो पनि सँधै मिल्यो कि मिलेन कुन्नि ? अहिले राजसी छाँटकाँटमा प्राडो पजेरो चढेर साइरन बजाउँदै कुद्छन् । उनीहरुले पैदल हिँड्ने र साईकल चढ्नेको दुःख भुलिसकेका छन् ।

यो आलेखमा ती विषयलाई उठाउन खोजिएको हैन । अहिले चर्चाको विषयमा रहेको नागरिकता ऐन संसोधन विधेयकको सेरोफेरोमा केहि लेख्दैछु । नेपाली कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थक, अनि नेकपा वा सरकारको विरोधी ठानेर यो लेख पढ्नुहुन्छ भने अवश्य गाली गर्नुहुन्छ । तर, पहाडमा जन्मी हुर्किएर स्नातक तह पढिसकेपछि पत्रकारिता गर्न तराई झरेको एउटा केटोको बुझाइ हो यो । राजनीति गर्नेहरुलाई त मसला चाहिन्छ । कहिले के बिक्री हुन्छ, त्यही बेचिहाल्नुहुन्छ ।

अहिले नेकपाले पास गरेको विधेयकमा विदेशी बुहारीलाई सुरुमा विभिन्न अधिकार सहितको राष्ट्रिय परिचय पत्र दिने, ७ वर्षपछि अंगिकृत नागरिकता दिने अरे । ७ वर्षमा उनीहरुले के-के परीक्षा दिनुपर्ने हो ? त्यो पनि उल्लेख गरिदिएको भए अझ बेस हुने थियो हैन र ? हुन त अंगीकृत नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘स्थायी आवासीय अनुमति पत्र’ दिइने भनिएको छ । अब यो नाटक किन ? बुझाइदिनुपर्छ नि त जनतालाई हैन र ? नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई फेरि यसमा विभेद रहेछ ।

नयाँ संविधान जारी हुने दिन वीरगञ्जमा गोली चल्दै थियो, सुरक्षाकर्मीको गोली लागेर एक जनाको ज्यान गइहाल्यो । कत्तिपयले यसलाई खुच्चिङ भने होलान । तर मलाई मेरै छातीमा गोली लागेको जति नै दुख्थ्यो । जुनसुकै कारणले होस जनमानसमा असन्तुष्टि छ । कसैको राजनीतिक स्वार्थ पनि जोडिएको होला, तर सोझा जनतामा त्यसको के दोष ? राज्यको नेतृत्व गर्नेले आफूलाई निश्चित जात वा समुदायको मात्रै अभिभावक मान्ने हो वा सबै नेपालीको ?

जनताको भावनामा ठेस पुग्ने गरी संविधान, ऐन कानुन बनाएर के सन्देश दिन खोजेको हो ? भारतीय चेलीसँग गरिएको वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल पुगेको छ ? छैन भने केका लागि दण्डित गर्न खोजिँदैछ ? नेपाली नागरिकता लिएर कालापानी, लिपुलेक, टनकपुर बेच्नेलाई खोई कारबाही गर्न सकेको ? गण्डक, कोशी नदी बेच्नेलाई खोई कठघरामा हालेको ? अझ वीरगञ्ज आएपछि थाहा भयो कि नागरिकता पनि किनबेच हुँदो रहेछ । कानुनमा त्यस्ता लुपहोल किन राखिन्छ ? कसले राखेको हो ?

संविधानको धारा २८९ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने स्पष्ट गरिसकेको अवस्था छ । अन्य पदमा पनि अंगीकृत नागरिकता प्राप्त गरेको ५ वर्षपछि मात्रै जान पाउने भनिएको रहेछ । फेरि छुट्टै व्यवस्था किन ?

केही व्यक्तिको व्यवहारलाई लिएर तराई मधेसमा भएका सम्पूर्ण आमा र बुहारी, अब आउने नयाँ बुहारीमाथि शंका गरिएको छ । उनीहरुको राष्ट्रियतामाथि शंका गरिएको छ । माइती र मावलीको माया सबैलाई लाग्छ । तर सीमानाको मामलामा गुगलमा गएर सर्च गर्दा हुन्छ । विना बर्दीको सीमारक्षक भएर यहीँका मधेसी लडेका छन्, आफ्नो रगत बगाएका छन्, ज्यान गुमाएका छन् । यसरी उनीहरुको राष्ट्रियतामाथि प्रश्न उठाउँदा मनमा चोट अवश्य पर्छ ।

कतिपयले प्रश्न गर्छन, आफ्नो छोरी चेलीको चिन्ता नगरेर विदेशीको छोरी चेलीको किन त्यति माया ? किनकि विवाह गरेर ल्याएपछि उनी हाम्रो परिवारको सदस्य हुन् । कसैका बुहारी, कसैका श्रीमती त कसैको आमा । बुहारी, श्रीमती अनि आमाको माया तपाईलाई लाग्छ कि लाग्दैन ? कतिपयलाई थाहा नहोला, तपाईलाई पढाउने मेधेसी शिक्षकको आमा भारतीय महिला हुन् । तपाईले खाने अन्न उब्जाउन तीनले पसिना बगाएकी छन् ।

जहाँसम्म उनीहरुले गर्ने षडयन्त्र वा उनीहरुमार्फत षडयन्त्र गराइने कुरा छ । त्यो अहिलेसम्म आशंका मात्रै हो । नेकपाका कतिपय सांसदले भन्छन् ‘विदेशबाट आउने एक/दुई बुहारीले कति हैरान खेलाएको छ ! एउटा बिराउँछ, शाखा पिराउँछ ।’ भन्नेजस्ता अभिव्यक्तिसमेत दिने गरेका रहेछन् । भूँई धरातलको बारेमा नबुझी गरिएका हलुका टिप्पणी घातक हुन जान्छ ।

अरुले किन भन्नु, मै भन्छु, यहाँका जनताको भावना बुझ्ने प्रयास कुनै पनि सरकारले गरेको छैन । डा बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा थोरै कोशिस गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली त झन झापालाई मात्रै तराई ठान्छन् ।

खोज पत्रकारिता केन्द्रले नागरिकताबारे एउटा खोज स्टोरी गरेको छ । जसमा गृह मन्त्रालय, नागरिकता शाखाको तथ्यांकअनुसार नागरिकता वितरण प्रणाली सुरू भएदेखि २०७३ असार मसान्तसम्म ३ लाख ६४ हजार ५३ जना विदेशी महिलाले नेपाली पुरुषसँग विवाह भएर अंगीकृत नागरिकता लिएका छन् । यो तथ्याङक २००९ सालदेखिको हो । ०७७ आइपुग्दा यो संख्या अवश्य बढेकै होला ।

यसरी हेर्दा केही लाख मानिसहरु बुहारी वा आमाका रुपमा विदेशी महिला नेपालमा छन् । उनीहरुले त अहिलेसम्म यस्ता कुरा बुझेकै छैनन् । नत्र उनीहरु झाडु बोकेर सडकमा आइसकेका हुने थिए । बस रिजर्भ गरेर काठमाण्डुको सिंहदरबार घेर्न आए भने के गर्नुहुन्छ ? गोली ठोकेर मार्नुहुन्छ ? आमा, श्रीमती र बुहारीको पक्षमा तराई मधेसका पुरुषले साथ दिए भने के हुन्छ ? तपाईंहरुले सोचेको राष्ट्रियतामात्रै कसरी ठीक हुन्छ ? जहिले बुझ्छन् त त्यसै गर्नेछन् ।

विभेदले ढिलो चाँडो विष्फोट ल्याउँछ । सीमाको सम्बन्ध ‘रोटी बेटीको सम्बन्ध’ छ । त्यसबाहेक, नेपाली नेताहरुले समय समयका आन्दोलनमा भारतमा लुकेर ज्यान बचाएका छन् । भारतका सुटर पनि नेपालमा आएर लुक्छन् । अब के गर्ने त ?

तपाईंले पक्कै पनि मलाई यो प्रश्न गर्नुहुन्छ । खोज पत्रकारिता केन्द्रमै भारततर्फ हुने विवाहमा गिरावट आएको अर्को स्टोरी पनि छ । त्यसका विविध कारण छन् । हो, तराई मधेसमा विभिन्न समस्या छन् । केही आन्तरिक केही आयातीत । कतिपयले दाइजोको लोभमा बुहारीको पक्षमा लागेको पनि भन्ने गरेका छन् । दाइजो समस्या हो, अन्तरजातीय विवाहलाई तराई–मधेसमा ईज्जत प्रतिष्ठासँग जोडिन्छ । राजनीतिक सचेतना कमजोर छ । भारतीय च्यानल बढी हेरिन्छ ।

यो सबै राज्यको कमजोरी हो, उनीहरुले दाईजो सम्बन्धी कानुन किन कार्यान्वयन गर्न सकेनन् । सामाजिक व्यवहार ऐन कार्यान्वयन गर्ने जिम्मेवारी कसको ? नागरिक सचेत छैनन् भने सचेत बनाउने जिम्मेवारी कसको हो ? नागरिकले तिरेको करबाट राज्यको तलब सुविधा लिएर यहाँ आउने सरकारी अधिकारीहरुले के दिएर गए कि लिएर गए ? धेरै कुरा छन् । व्यवस्था फेरियो, राज्य र तिनका प्रतिनिधिले गर्ने व्यवहार फेरिएन । पहाड र तराईको सम्बन्ध फराकिलो बनाउँदै जाने, अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै जाने हो भने । भारतमा चेली खोज्न किन जानुप¥यो ?

नागरिकता लिएका अनागरिक कत्ति छन् कति । देश बिगार्न विदेशी नै चाहिन्न । लालबाबु पण्डितले उतिबेलै बंशजको नागरिता लिएर बलियो राष्ट्रियता बोकेकाहरुको डीभी–पीआर मोह देखाइसकेका छन् ।

मैले बुझेको, लोकतन्त्रमा शासकअनुसार जनता चल्ने होइन, जनताको भावनाअनुसार शासक चल्नुपर्छ । पहिलेदेखि नै बुहारी भित्र्याउन रोक्न सकेको भए कुरा बेग्लै हुन्थ्यो होला । तर, भित्र्याइसकेपछि तैंले पकाएको भात खान्न भन्नु कत्तिको सान्दर्भिक होला ? यसले कलह नै निम्त्याउने हो । बुहारीको चित्त बुझाउनैपर्छ ।

उतिखेर हनुमानमाथि रावणले शंका गर्दा लंका जलेको थियो । सबैलाई सरिता गिरी वा अरु कुनै खराब पात्रका रुपमा देख्नु सत्तासीनहरुको नजर दोषी हो । भूँई सतहमा त्यस्तो देखिँदैन । कि उनीहरुले यहाँ–यहाँ बिगारे भनेर स्पष्ट पार्न सक्नुपर्छ । अन्य देशसँग तुलना गर्नुको औचित्य नै छैन । नेपाल र भारतको सीमाञ्चल सम्बन्ध अन्य मुलुकको भन्दा पृथक छ । बरु उल्टै कानुनमा ल्याइने यस्ता प्रावधानले निदाएर बसेकालाई जगाउने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment