Comments Add Comment

व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् ।

नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी हुन थाल्यो । खासगरी मास्क र सेनिटाइजर हारालुछ भयो । केही दिनमै बजारमा मास्क सकियो । सर्जिकल मास्क ३० रुपैयाँ तिर्दा पनि पाउन मुस्किल हुन थाल्यो ।

स्वास्थ्यकर्मीले नै मास्क नपाएका खबरहरू आएपछि सरकारले आत्तिँदै निजी क्षेत्रका प्रतिनिधिहरू बोलाएर छलफल गर्यो । उक्त छलफलका एक सहभागी थिए नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा । छलफलका क्रममा उनले आफू मास्क उत्पादन गर्न तत्पर रहेको बताए । उनले एक साताभित्रै मेसिन ल्याएर उत्पादन सुरु गर्ने र प्रतिमास्क ५ रुपैयाँमा बिक्री गर्ने प्रतिबद्धता जनाएपछि सरकार खुसी भयो ।

मल्होत्राले सो बैठकमा प्रतिबद्धता जनाएकोभन्दा एक साता ढिलोगरी मास्क उत्पादन सुरु गरे । सहुलियत दरमै उपलब्ध पनि गराए । त्यसपछि मास्कको अभाव देखिएन ।

मल्होत्रा स्वयंका लागि पनि यो नयाँ अनुभव थियो । सामसुङ मोबाइलको व्यापार गर्दै आएको आईएमस ग्रुपका अध्यक्ष हुन्, मलहोत्रा । यसअघि उनको ग्रुपले मास्क उत्पादन कहिल्यै गरेको थिएन । तर यसमा सफल भएपछि समयअनुसारको काम गर्न उनी हौसिएका छन् ।

मास्क उत्पादन गरेर बजारको अभाव टारेका मल्होत्रा अब कृषि क्षेत्रमा लगानी बढाउन चाहन्छन् । यसका लागि विभिन्न योजनाहरू बुनिरहेका छन् । उनीसँग हामीले मास्क उत्पादनको अनुभव र कृषि क्षेत्रका योजनाको सेरोफेरोमा रहेर कुराकानी गरेका थियौं । प्रस्तुत छ, सो कुराकानीको सम्पादित अंशः

बजारमा मास्कको हाहाकार हुन लाग्दा तपाईंले सरकारसँग दैनिक ७० हजार मास्क उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । पहिले नगरेको काम एक्कासी गर्ने सोच कसरी आयो ?

व्यापार गर्दा दिमागमा विभिन्न कुराहरू आइहाल्छन् । मेरो एउटा गार्मेन्ट फ्याक्ट्री चलाउने साथी छ । उसले नेपालमा गार्मेन्टहरू बनाएर युरोप, अमेरिका निर्यात गथ्र्यो । अहिले उसको बिजनेश अलि स्लो डाउन भइरहेको छ ।

जब यहाँ कोरोनाको त्रास सिर्जना भयो । सबैले मास्क लगाउनुपर्छ भन्ने भयो । त्यसपछि उसले मास्क उत्पादनमा लाग्ने प्रस्ताव गरेको थियो । म भारतबाट मेसिन ल्याउँछुु, मिलेर काम गरौं भने पनि सुरुमा मेरो मन त्यसमा गएको थिएन । मैले उसलाई ‘नो’ नै भनें ।

त्यसपछिका दिनहरूमा अझ त्रास बढ्दै गयो । चेम्बरले पनि कोरोनासँग सम्बन्धित एउटा कमिटी बनायो र त्यसको नेतृत्व मलाई दियो । सरकारले चेम्बर, एफएनसीसीआई, सीएनआईलगायत निजी क्षेत्रका प्रतिनिधिहरूसँग बैठक राख्यो । बैठकमा सरकारले निजी क्षेत्रप्रति आफ्नो अपेक्षा सुनायो ।

उद्योगी–व्यवसायीहरू केही बोल्न सकेका थिएनौं । झट्ट मैले त्यो साथीको प्रस्ताव सम्झिएँ । त्यसबेला उसले मलाई काम गर्ने हो भने ७ दिनमै मेसिन काठमाडौं आइपुग्छ भनेको थियो । एउटा मास्कको उत्पादन लागत ५ रुपैयाँदेखि ७ रुपैयाँ पर्ने र मेसिन ५० लाख रुपैयाँमा आउने उसले बताएको थियो ।

त्यही कुरा सम्झेर मैले बैठकमा ७ दिनमै मेसिन ल्याएर मास्क उत्पादन गर्न सक्छु भनेँ । मुख्य सचिवज्यू पनि धेरै खुसी हुनुभयो । उहाँले मेसिन खरिद गर्न सरकारले नै पैसा दिने प्रस्तावसमेत गर्नुभयो । तर मैले त्यो स्वीकार गरिनँ । मैले भनेँ, ‘हामी आफ्नै पैसाले ल्याउछौं । मिल्छ भने भन्सार छुट दिनुस्, होइन भने त्यो पनि पर्दैन ।’

घर आउनेबित्तिकै मैले त्यो साथीलाई आफ्नो अफिसमा बोलाएँ । अनि भनेँ, ‘लु अब अघि बढौं, तर अहिले कमाउने हिसाबले होइन ।’

सेवाको भावले काम गरौं भनेपछि उसले पनि सहमति जनायो । हामीले तत्कालै पैसा पठायौं । प्रक्रिया पनि सुरु गरिहाल्यौं । तर हाम्रो मेसिन ९ दिनसम्ममा पनि आइपुगेन ।

धन्न त्यतिबेला कालोबजारीका लागि लुकाइएका मास्कहरू सरकारले बरामद गर्यो र त्यसले केही दिन काम चल्यो । तर मैले बोलेको समयमा उत्पादन सुरु गर्न नसकेपछि एकदिन सचिवज्यूले फोन गरेर चित्त दुखाउनुभयो । सरकारले धोका पायो भन्नुभयो । मैले दुई–चार दिन ढिला भए पनि उत्पादन गरेरै छाड्ने बताएँ ।

दुई सातापछि बल्ल मेसिन आइपुग्यो । काठमाडौं आइपुगेपछि त्यसलाई जडान गर्न र अन्य बन्दोबस्त मिलाउन दुई दिन लाग्यो । तेस्रो दिनदेखि हामीले मास्क उत्पादन थालिहाल्यौं ।

मास्क उत्पादन तपाईंको लागि नयाँ अनुभव थियो । कच्चा पदार्थ तथा श्रमिकहरूको कसरी व्यवस्थापन गर्नुभयो ?

यो विषयमा मलाई धेरै ज्ञान नभए पनि मेरो साथीलाई थियो । मैले साथीसँग सबै विषयमा सल्लाह गरेको थिएँ । कच्चा पदार्थहरू नेपालमै पाइने रहेछ । व्यवस्थापन गर्न गाह्रो भएन । मास्कको कपडा ठूलो–ठूलो साइजमा आउने रहेछ । कसरी कटिङ गर्ने भनेरचाहिँ हामीलाई सुरुमा कन्फ्युजन भयो ।

मेसिन फुल्ली अटोमेटेड भन्ने सोचेको थिएँ, होइन रहेछ । कानमा लगाउने इलास्टिक छुट्टै जोड्नु पर्ने । कालिगढ बोलाएर सिलाउनुपर्ने भयो । मैले दिनको ७० हजार मास्क उत्पादन गर्छु भनेर बोलेको थिएँ । सुरुको दिनमा २०/२५ हजार पनि उत्पादन गर्न गाह्रो भयो । पछि सहज हुँदै गएपछि दिनको ८० हजारसम्म उत्पादन गर्यौं ।

त्यतिबेला डिमान्ड उच्च थियो । मलाई बिहानदेखि बेलुकासम्म फोन आइरहन्थ्यो । सञ्चारमाध्यमहरूमा पनि राम्रै समाचार कभरेज भएकाले धेरैले फोन गर्नुभयो । यतिसम्म कि केही दिन मोबाइल नै बन्द गर्नुपर्ने अवस्थामा म पुगेँ । फोन उठायो कि मास्कको भन्दा अरू कुरा केही नहुने । धेरैले फ्याक्ट्रीमा गएर दिनभर कुर्नु पनि भयो ।

मेरो उत्पादन लागत ७ रुपैयाँ पर्यो । मैले ७ रुपैयाँमा नै बिक्री गरेँ । धेरै ठाउँमा त सित्तैमा पनि बाँडे । विमानस्थलमा बाँड्छु भनेको थिएँ तर भएन । विमानस्थल बन्द भइहाल्यो ।

मास्क उत्पादन गरेर मुनाफाचाहिँ कमाउनु भएन ?

मल्होत्राले मास्क बेचेर धेरै कमायो भन्ठाने होलान् धेरैले तर त्यो होइन । अहिले त बजार पनि सहज भइसक्यो । फ्याक्ट्रीहरू धेरै खुलिसके । माग पनि पहिलेजस्तो छैन ।

त्यतिबेला इलास्टिक लगाएको मात्रै दुई रुपैयाँ लिन्थ्यो । अहिले आएर लागत कम भएको छ । त्यतिबेला ७५ पैसा लाग्ने यतिबेला ५० पैसामा हुन्छ । अहिले त मुलुक आत्मनिर्भर जस्तै भइसक्यो ।

स्यानिटाइजर पनि उत्पादन गर्न लाग्नु भएको थियो होइन ?

त्यतिबेला धेरै अभाव थियो । त्यसकारण मैले उत्पादन गरौं कि भन्ने सोचेको थिएँ । तर पहिलेदेखि गरिरहेको छ, उसले नै उत्पादन गर्यो भने धेरै राम्रो हुन्छ । त्यसैले यो काममा हात नहाल्ने निर्णय लिएँ ।

अहिले त अभाव पनि छैन । सहज भइसकेको अवस्था छ । कालोबजारी पनि भएको छैन । एउटाले गरेपछि सबैले गर्न थाल्छन् । पीपीई, मास्क, थर्मल गनलगायत सामग्री धेरैले चीनबाट आयात गरे । सुरुमा त धेरै राम्रो नाफा पनि गरे । अहिले भने आयात गरेको सामान घाटा खाएर बिक्री गर्नुपरेको छ ।

अहिले एन–९५ मास्क ७०/८० रुपैयाँमा पाइन थालेको छ । थर्मल गन २ हजारदेखि २५ सयमा पाइन्छ । पीपीई एक हजार पाँच सयसम्म तिरेर आयात गरिएको थियो । त्यो अहिले सस्तोमा पाउन थालिएको छ ।

अबचाहिँ मास्क उत्पादन बन्द गर्नुभएको हो ?

अभाव भएको बेला उत्पादन गरेर खाँचो टारेँ । अहिले पनि मेसिनहरू सञ्चालनमै छन् । आवश्यक पर्नेहरू आउनुहुन्छ, उत्पादन भएको मास्कहरू लिएर जानुहुन्छ । पुरानो कच्चा पदार्थहरू बाँकी रहेकाले उत्पादन गरिरहेको छु । बिस्तारै स्लो डाउन हुँदैछ ।

अब यसलाई निरन्तरता दिने भयौं भने अन्तर्राष्ट्रिय स्टाण्डर्डको बनाउँछौं । सर्जिकल मास्क भनेपछि ३ लेयर हुन्छ । हामीले ३ वटा लेयर त राख्यौं तर नन फेबरिक राख्न सकेनौं । सुरुमा हामीले नोज पिन पनि राख्न सकेनौं । अब अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच आइरहेको छ । अन्य वस्तुहरू पनि उत्पादन गरेर व्यावसायिक हिसाबमा जाने कि भनेर सोचिरहेका छौं । निर्णयमा पुग्न बाँकी छ ।

एकाएक मास्कतिर केन्द्रित हुँदा तपाईंको अन्य व्यवसायलाई कस्तो असर गर्यो ?

लकडाउनमा त सबै ठप्प हुने नै भयो । लकडाउन खुलेपछि भने मोबाइल फोनको व्यापार बढेको छ ।

किन व्यापार बढ्यो भनेर हामीले केही अध्ययन पनि गर्यौं । चोरी पैठारीले गर्दा बजार एकदमै ध्वस्त भइरहेको थियो । लकडाउन कडा भएपछि चोरी पैठारीका फोनहरू आउने क्रम बन्द भयो । त्यसैले लकडाउन सहज भएसँगै मोबाइल फोनको माग एक्कासी बढ्न गएको छ ।

यो कुरा मैले सरकारसम्म पनि पुर्याएको छु । यसरी व्यापार बढ्दा सरकारलाई पनि राम्रै हुन्छ । सरकारले १३ प्रतिशत भ्याट पाउँछ । साढे २ प्रतिशत हामीलाई झिकिदिनुस् भनेका छौं । त्यो झिक्दा वैधानिक च्यानलबाट धेरै मोबाइल फोन बिक्री हुने र सरकारलाई राम्रै राजस्व संकलन हुन्थ्यो । उहाँहरूले मान्नु भएन ।

साढे २ प्रतिशत छोड्दा जति राजस्व घट्छ, त्यो व्यापार १५ देखि २० प्रतिशत बढेर कभरेज हुने थियो । तर गर्नु भएन । हामीले अस्ति मोबाइल फोन इम्पोटर्स एसोसिएसनको बैठक बोलाएर नेपालमा अब उप्रान्त कुनै पनि पसलले चोरी पैठारी फोन बेचेको पाएमा त्यस पसललाई कारबाही गर्ने निर्णय गरेका छौं ।

हाम्रो तर्फबाट यो हामीले गर्यौं, सरकारले पनि त्यति छुट दिएको भए भारतबाट हुने चोरी पैठारी कम हुने थियो । बोर्डर सिल हुँदा मोबाइल फोनको बिक्री बढ्न गयो । सरकारलाई पनि राजस्व आयो । अर्को कारण भनेको अहिले अनलाइन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूलाई पनि अनलाइनबाट कक्षा दिन थालिएको छ । त्यसले गर्दा पनि स्मार्ट फोनको माग बढाएको छ ।

तेस्रो कारण भनेको पहिला नेपालमा ५० प्रतिशत मात्रै स्मार्ट फोन र बाँकी साधारण फोन थियो । अब इन्टरनेटको पहुँच बढेको छ । त्यसैले स्मार्ट फोन अपरिहार्य बनिरहेको छ । लकडाउनमा त झन् समय बिताउनलाई पनि स्मार्ट फोन चाहियो ।

तपाईंले त कृषि क्षेत्रमा पनि लगानी गर्न सुरु गर्नुभएको छ, होइन ?

कृषि वास्तवमा देशको आवश्यकता हो । तर पनि हामी कृषिमा फोकस हुन भने सकेका छैनौं । कृषि कर्म गर्नेहरू पनि बुढापाका, महिला, बालबच्चा मात्रै भए । युवा जनशक्ति विदेश नै जानुपरेको अवस्था छ ।

नेपालको अर्थतन्त्रका लागि जलविद्युत, कृषि र पर्यटनलाई मुख्य आधार मानिन्छ । कृषिप्रधान मुलुक भनिन्छ । तर हामीले त्यतातिर ध्यान दिन सकेनौं । श्रम बाहिर गयो ।

नेपालमा आज पनि समुद्री सतहबाट धेरै उचाइसम्ममा कृषियोग्य जमिन छ । तर कृषिमा आकर्षण छैन । मैले पहिलेदेखि नै कृषिमा जानुपर्छ भन्ने सोचेको थिएँ ।

आजभन्दा करिब २८ वर्ष पहिले सिसौ रोप्ने लहर चलेको थियो । त्यसबेला सबैले सिसौ रोप्थे । राम्रो आम्दानी हुन्छ, काठ उत्पादन हुन्छ भन्ने थियो । त्यहीबेला मैले सुनसरीमा २५ बिगाहा जग्गा किनेर सिसौ रोपेँ । तर दुर्भाग्यबस त्यही वर्ष सिसौमा एउटा रोग लाग्यो । मेरो जंगल नै भइसकेको थियो तर रोग लागेर जम्मै सिसौ सुक्यो । त्यसपछि त्यो सिसौ दाउरामा मात्रै प्रयोग भयो । ३/४ वर्ष जग्गा खाली भयो ।

जग्गा खाली भएपछि अब आफैं केही गरौं भन्ने सोच थियो । मेरो जग्गा नजिकै एउटा सुगर मिल थियो । त्यहाँका स्थानीयहरू आएर हामीलाई जग्गा दिनुस् हामी उखु रोप्छौं भने । त्यत्तिकै खाली हुनुभन्दा दिनु पर्छ भन्ने लाग्यो । मैले उनीहरूलाई भाडामा दिएँ । १५ वर्ष मैले त्यत्तिकै जस्तो छोडिदिएँ ।

अबचाहिँ म सिरियसस्ली लाग्छु भन्ने सोचेँ । एकपटक उखु रोपेपछि त्यसले ३ वर्षसम्म उत्पादन दिने रहेछ । त्यसकारण मैले आजभन्दा ४/५ वर्ष पहिले अबको ३ वर्षसम्म तपाईंहरूको भयो त्यसपछि म लिन्छु भनेँ । ३ वर्षपछि उहाँहरूले मेरो जग्गा खाली गरिदिनु भयो । डेढ वर्ष पहिले मैले यसलाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाउँछु भन्ने सोचेर अघि बढेको छु । मेरो यो ड्रिम प्रोजेक्ट हो । यो देशको आवश्यकता पनि हो ।

तर यति जमिनमा मात्रै होइन धेरैमा खेती गर्छु । नेपालमा परम्परागत खेती हुन्छ, त्यसले राम्रो हुँदैन । बाहिरबाट प्रविधि भित्र्याएर सानो ठाउँमा पनि बढी उत्पादन गर्नुपर्छ भन्ने मेरो सोचाइ छ ।

मैले बिउ तथा कृषि औजारलाई फोकस गरेर जाने सोचेको छु । कृषि मात्रै होइन, यसका लागि अन्य विषय पनि सोच्नुपर्छ । अहिले सुरुवाती अवस्थामा मैले कागती रोपिसकेको छु । केही जग्गामा मैले बिउ ल्याएर त्यसलाई प्रशोधन गरेर नेपालमा बेच्ने सोच बनाएको छु । अहिले बिउ आयातमा कडाइ छ । कृषि औजारहरू ल्याउन मैले एलसी खोलिसकेको छु ।

यहाँ उत्पादन गरिएका कृषि उत्पादन बाहिर निर्यात गर्ने सोच हो । मैले केही दूतावासहरूसँग पनि कुरा गरिरहेको छु । अहिलेकै जग्गामा उत्पादन गरेर हुँदैन । पूर्व–पश्चिम सबैतिर हामीले जग्गा हेरिरहेका छौं ।

क्यालिफोर्निया जाँदा मैले ठूलो क्षेत्रफलमा वाइन मात्रै लगाएको देखेको थिएँ । त्यसैगरी केही लगाउने सोचिरहेको छु ।

भनेपछि थप जग्गा किनेर कृषिमा लगानी बढाउनुहुन्छ ?

पक्कै बढाउँछु । यो त केही पनि होइन । कृषिका लागि सरकारी लेभलमा पनि छलफल भइरहेको छ । ट्याक्स होलिडेलगायतको कुरा छ ।

सरकारसँग जग्गा भाडामा लिएर किसानहरूलाई पार्टनर बनाएर बढीभन्दा बढी उत्पादन गर्ने योजना छ । जस्तै, कागती उत्पादन गर्यौं भने त्यसलाई जुस बनाएर बेच्ने हो कि भन्ने पनि योजना बनाएका छौं ।

मबाहेक अन्य औद्योगिक घराना पनि कृषिमा लागिसक्नु भएको छ । धेरै लाग्नु राम्रै कुरा हो । कोरोनापछि कृषिको महत्व धेरैले बुझेका छन् । मलाई पनि यसतर्फ झुकाव बढेको छ । ठीक समयमा गरेछौं भन्ने लागेको छ ।

आईएमएस ग्रुपले धेरै क्षेत्रमा लगानी गरेको छ, लगानीका लागि अब आईएमएसको प्रमुख क्षेत्र कुन हो त ?

तपाईंलाई म नढाटी भनौं ! मैले मेरो पार्टनरसँग पनि अस्ति छलफल गरिसकेको छु । अबको हाम्रो प्रमुख प्राथमिकता भनेको कृषि नै हो । यसको क्षेत्र धेरै ठूलो छ । हामी कृषिमै रमाउँछौं ।

हामी भोलि उखु खेती लगाएर चिनी मिल चलाउन सक्छौं । अर्को क्षेत्र रोज्न सक्छौं । कृषि लगानीका लागि धेरै ठूलो क्षेत्र हो । मोबाइल फोनको कहानी मैले अघि पनि भनिहालेँ । ट्रेडिङमा अब खासै दम छैन ।

अरू खालका उद्योगधन्दामा पनि कहिले के समस्या, कहिले के समस्या परिरहेको हुन्छ । कृषिमा अरूबाट सहानुभूति पनि पाउँछौं । यो इज्जत दिने खालको पनि हुन्छ ।

रातारात करोड नकमाइएला । त्यो हुन पनि हुँदैन, मेरो चाहना पनि छैन । तर अब कृषिमा नै फोकस हुन्छु ।

प्रतिफल कस्तो आउला भनेर विश्लेषण गर्नु भएको छ ?

यो मैले भनेको सबै कुरा पूरा गर्दा धेरै ठूलो टर्नओभर छ । मोबाइल फोनमा ५ प्रतिशत ग्रस मार्जिनमा काम गरेको हुँ । ५ प्रतिशत ग्रस भनेपछि नेट कति होला त ? एकदमै कम ।

कृषिमा राम्रो काम गर्न सक्नेलाई त्योभन्दा राम्रो प्रतिफल छ नि । यसकारण मलाई गाह्रै हुन्न । फेरि नेपालमा त एउटाले गरेपछि अर्कोले पनि अनुशरण गरिहाल्ने हुन्छ । मैले यो भनेपछि सबै फेरि कृषिमा आउलान् (हाँस्दै) ।

मैले भन्न खोजेको ५ प्रतिशतमा त म टिकेको छु । टिक्न सक्नुको कारण टर्नओभर हो । कृषिमा पनि टर्न ओभर धेरै छ । यसकारण टिक्न सकिन्छ भन्ने मैले सोचेको छु । मार्जिन पनि मोबाइलको भन्दा बढी नै छ ।

राष्ट्र बैंकले तोकेको कुल कर्जाको १० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्न पनि बैंकहरूलाई अहिले धौधौ परिरहेको छ, यस्तो बेलामा अलि अप्ठ्यारो पर्ला कि ?

आईएमएस ग्रुपले कृषिमा लगानी गर्न खोजेको छ भनेर मैले केही बैंकहरूसँग पनि कुरा गरेको छु । उहाँहरू एकदमै एक्साइटेड हुनु भएको छ ।

बैंकहरूले हामी लगानी गर्छौं भन्नु भएको छ । यसकारण तपाईंले भनेजस्तो समस्या पर्दैन । ठूला उद्योगपति व्यापारी कृषिमा लागे भने बैंकहरूलाई लगानी सुरक्षित हुन्छ भन्ने पनि हुन्छ । त्यही भएर बैंकले लगानी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment