Comments Add Comment

कोभिड–१९ सँगै विपद् प्रतिकार्यमा पनि तयार रहन सेनाको निर्देशन

३० लाख घरपरिवार प्रभावित हुनसक्ने विश्लेषण

प्रधानसेनापति पूर्णचन्द्र थापा ।

११ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ ।

सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन निर्देशन दिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘आवश्यक उपकरणसहित खोज तथा उद्दारका लागि तयारी अवस्थामा रहन भनिसकेका छौं ।’

चार चरणको कार्ययोजना

स्रोतका अनुसार विभिन्न पृतनाले मातहतका गण र गुल्महरुलाई पनि तयारी अवस्थामा फौज राख्न निर्देशन दिइसकेका छन् । सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपद् प्रतिकार्यका लागि चार चरणको कार्ययोजना बनाएको छ ।

विपद्को अवस्था अनुसार फौज परिचालित हुनेछन् । पहिलो चरणमा सम्बन्धित जिल्लाबाट फौज परिचालन हुनेछन् भने दोस्राे चरणमा छिमेकी जिल्लाबाट पनि थप मद्दत टोली परिचालन गर्ने सेनाको तयारी छ ।

तेस्रो चरणमा पृतनाबाट मद्दत टोली खटाउने तयारी छ । हरेक पृतनामा सैनिक इञ्जिनियरसहितको ‘र्‍यापिड रिएक्टिभ टिम’ तयारी अवस्थामा राखिएको छ ।

पृतनाबाट पनि स्थितिलाई नियन्त्रणमा लिन सम्भव नभएको अवस्थामा जंगीअड्डाको विपद् निर्देशनालयबाट पनि फौज परिचालन गर्ने सेनाको विपद् प्रतिकार्य योजनामा उल्लेख छ । यो अवस्थामा सेनाको इञ्जिनियरसहित विशेष फौजका टोली पनि परिचालित हुनेछन् ।

यो पनि पढ्नुहोस कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

३० लाख घरपरिवार प्रभावित हुनसक्ने विश्लेषण

आवश्यकता अनुसार उद्दार कार्यका लागि नेपाली सेनाका एयरबेसमा हेलिकोप्टर तयारी अवस्थामा राख्न पनि भनिएको छ । इटहरी, चितवन, काठमाडौं, पोखरा र सुर्खेतमा हवाई साधन तयारी अवस्थामा रहनेछन् भने आवश्यकता अनुसार अन्य स्थानमा पनि तैनाथ हुनेछन् ।

जंगीअड्डामा शुक्रबार र आइतबार भएको पृतनापति समन्वयात्मक बैठकमा पनि विपद तयारीबारे छलफल भएको थियो ।

अहिलेको अवस्थामा कोरोना महामारीसँगै विपद् नियन्त्रणमा खटिनुपर्ने भएकाले थप सतर्कता अपनाउनु पर्ने भनिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रकोपबाट प्रभावित इलाकामा कोरोना परीक्षण गर्नुपर्ने पनि आवश्यकता औंल्याएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्न भनिएको छ ।

विगतको अवस्थालाई मूल्यांकन गरेर यसपटक ३० लाख घर परिवार प्रकोपबाट प्रभावित हुनसक्ने विश्लेषण एक सुरक्षा संयन्त्रले गरेको छ ।

कोरोनाको कारणले व्यवस्थापन जटिल छ : पोखरेल

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल कोरोना भाइरसको महामारीका कारण विपद् व्यवस्थापन जटिल हुने बताउँछन् । यद्यपि, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएर विपद् जोखिम न्यूनीकरण गर्ने योजना बनाइएको उनले बताए ।

‘मनसुन पूर्व तयारी र प्रतिकार्य विस्तृत योजना–२०७७ बनाएर काम गरिरहेका छौं’, पोखरेलले अनलाइनखबरसँग भने, ‘पूर्वसूचनाका लागि इम्प्याक्ट वेज्ड अर्ली वार्निङ सिस्टम सुरु गरेका छौं ।’

अब नदीमा पानीको सतह कति पुग्यो भन्ने मात्र नभइ, बाढी आउँदै छ भने निश्चित समय अघि एसएमएस, फेसबुक लगायतका सामाजिक सञ्जाल र वेबसाइटमार्फत जानकारी गराइने पोखरेलले बताए ।

उनका अनुसार पूर्वतयारी स्वरुप विपद् जोखिममा रहेका तराईका ७ जिल्लामा थप १४ वटा मोटरबोट पठाइएको छ । ‘अहिलेको पर्याप्त नहुन सक्छ भनेर थप पठाएका हौं’, उनले भने, ‘प्रत्येक जिल्लामा दुई वटाका दरका दिएका छौं ।’

उनका अनुसार कतिपय स्थानमा सीमा क्षेत्रमा लगाइएका बाँध र तटबन्धका कारण पनि समस्या हुने गरेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतका ‘डिस्ट्रिक्ट मेजिस्ट्रेट’सँग छलफल गर्न पनि भनिएको पोखरेल बताउँछन् ।

‘कतिपय अवस्थामा त्यो क्षेत्रमा सफा गर्दा मात्र पनि कम क्षति हुन्छ’, उनले भने, ‘गेट खोलेर हुन्छ वा के गर्दा हुन्छ, दुवैतिर कमभन्दा कम क्षति हुने गरी समन्वय गर्न भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment