Comments Add Comment

रोपाइँ महोत्सवमा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य

१२ असार, काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ ।

कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ ।

‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ ।

सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए । ‘कोरोना रोग संक्रमण सुरक्षा मापदण्ड अपनाएर सामाजिक र भौतिक दुरी कायम राख्दै रोपाइँ महोत्वस गरिने छ’ उनले भने ।

सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ । तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।

महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ ।

रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको छ ।

यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम भने कषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको सहभागितामा उदयपुरको त्रियुगा नगरपालिका हुनेछ ।

काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment