Comments Add Comment
नेकपाको सकस :

ओली–प्रचण्ड वार्ता : सहमति खोज्ने सहमति !

२१ असार, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएको छ। सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

छलफलमा दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउन सहमत देखिएको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्न सहमत भएका छन् । छलफलपछि एक नेताले अनलाइनखबरसँग भने, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्ने सहमति भएको छ । विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ ।

यसका लागि सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल हुने एक नेताले बताए ।

पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकआपसमा आशंका र दुरी बढ्दै गइरहेको छ । सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा आशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हटाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।
यो पनि पढ्नुहोस राष्ट्रपतिलाई नेकपा नेताहरूको रिपोर्टिङ : महाअभियोग होइन, अध्यादेशमा छलफल गरेका हौं

तर सोमबारको छलफलबाट अब यस्ता आशंका जन्माउने काम नगर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

त्यसैगरी आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरू पनि रोक्ने सहमति भएको छलफलमा सहभागी नेताले अनलाइनखबरलाई बताए ।

नेकपा स्रोतका अनुसार सोमबार बिहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर अनौपचारिक गृहकार्य गर्नेछन् । स्रोतले भन्यो, ‘सहमतिको कुनै विन्दु निस्कन सक्छ भनेरै नेताहरूलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको छ ।’

वार्तामा सहभागी महासचिव विष्णु पौडेलले भने दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र सोमबार स्थायी कमिटी बैठकअघि पुनः दुई नेता बसेर कुराकानी गर्ने बताए । उनले यसबीचमा कुनै कार्यदल गठन नभएको र दुई अध्यक्षबीचको वार्ता जारी रहेको बताए ।

पौडेलले भने–’दुई अध्यक्षबीचको छलफल जारी छ । आजको वार्ता सकारात्मक भएको छ । भोलि फेरि उहाँहरुबीच वार्ता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment